७ आश्विन २०८१, सोमबार

‘नन्द–हरि पत्रकारिता पुरस्कार’ आचार्य र बोहरालाई


Nepalpatra

बागलुङ, २२ असार । नेपाल पत्रकार महासङ्घ बागलुङ शाखामा स्थापित ‘नन्द–हरि सिर्जनशील पत्रकारिता पुरस्कार’बाट दुई पत्रकार पुरस्कृत हुने भएका छन् । विसं २०७४ को पुरस्कार नेपाल टेलिभिजनका बागलुङ समाचारदाता किरण आचार्य र विसं २०७५ को पुरस्कार ढोरपाटन राष्ट्रिय दैनिकका कार्यकारी सम्पादक रामकृष्ण बोहरालाई प्रदान गर्न लागिएको हो ।

धवलागिरिलाई कार्यक्षेत्र बनाएका पत्रकारमध्येबाट ज्येष्ठता, क्रियाशीलता तथा निरन्तरताका आधारमा आचार्य र बोहरा छनोट भएको पुरस्कार छनोट समितिका संयोजक राजेशचन्द्र राजभण्डारीले बताउनुभयो । महासङ्घ बागलुङ शाखाका पूर्वअध्यक्ष हरिनारायण गौतम र उहाँको परिवारले आमा हरिकला र बुबा नन्दलाल गौतमको सम्झनामा विसं २०६६ सालमा स्थापना गर्नुभएको पुरस्कार वर्षेनी प्रदान गरिन्छ ।

पुरस्कारको राशि जनही रु. १५ हजार रहेको छ । यही असार २५ गते पत्रकार महासङ्घ बागलुङ शाखाको १९ औँ स्थापना दिवसका अवसरमा पुरस्कार समर्पण गरिने शाखा अध्यक्ष दिल शिरीषले बताउनुभयो । यसअघि उक्त पुरस्कारबाट पर्वतका पत्रकार दुर्गाप्रसाद शर्मा, ओमप्रसाद घायल, म्याग्दीका धु्रवसागर शर्मा, बागलुङका ज्ञानेन्द्र गौतम, कोपिला कँडेललगायत पुरस्कृत भइसक्नुभएको छ । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !