७ आश्विन २०८१, सोमबार

तथ्याङ्कको खुलापनलाई कानूनमा नै समेट्नुपर्छ


Nepalpatra

काठमाडौँ, २० असार । अधिकारकर्मीले सूचनाको हकसम्बन्धी ऐन–२०६४ मा संशोधन गरी तथ्याङ्क र आँकडा खुला ढाँचामा राख्नुपर्ने माग गरेका छन् । फ्रिडम फोरमद्वारा यहाँ आज आयोजित ‘नेपालको सूचनाको हकसम्बन्धी कानूनमा खुला तथ्याङ्क प्रावधान’ विषयक अन्तक्र्रियामा अधिकारकर्मीले सार्वजनिक निकायले सूचना अद्यावधिक गर्दा तथ्य–तथ्याङ्क र आँकडा खुला ढाँचामा राख्ने विषयलाई ऐनमा व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो ।

फ्रिडम फोरमले ऐन संशोधन गरी सूचना अधिकारीले निवेदकद्वारा माग भएको सूचना खुला आँकडा वा तथ्याङ्कीय विवरणका रुपमा रहेको भए पनि सोही स्वरुपमा र अन्य सम्भव भएसम्म माग भएको स्वरुपमा नै उपलक्ध गराउनुपर्ने लगायतका विषयलाई समावेश गर्नुपर्ने भन्दै प्रधानमन्त्री, मन्त्री र सम्बन्धित निकायलाई संशोधन मस्यौदासमेत बुझाएको छ ।

सो मस्यौदामा सार्वजनिक निकायका तथ्य तथ्याङ्कीय सूचना पुनःप्रयोग तथा पुनःवितरण गर्न योग्य हुने गरी (कम्प्युटर उपकरणले सम्पादन र प्रशोधन गर्न सक्ने खुला तथ्याङ्कको स्वरुपमा वितरण गर्ने व्यवस्था गर्नुपर्ने विषय उल्लेख गरिएको छ ।

सांसदहरु राजेन्द्र लिङ्देल, गौरी शङ्कर चौधरी, रङ्गमती शाही, राजेन्द्र श्रेष्ठ, शेरबहादुर कुँवर, नैनकला ओझा र रामबहादुर विष्टले सूचनाको हकसम्बन्धी ऐन संशोधन गर्नका लागि सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरि बाँस्कोटाले डिजिटल नेपालको सपना साकार पार्नका लागि पनि सबै सार्वजनिक निकायले खुला तथ्याङ्कको अभ्यासलाई प्राथमिकता दिनुपर्छ भन्नुभयो ।

फ्रिडम फोरमका अध्यक्ष तारानाथ दाहालले खुला तथ्याङ्कको संस्कृति बसाल्नका लागि कानूनमा सुधार गर्न सम्बन्धित निकायसँग आग्रह गर्नुभयो । प्रत्येक व्यक्तिलाई आफ्नो विचार र अभिव्यक्तिको स्वतन्त्रता हुनेछ र प्रत्येक नागरिकलाई आफ्नो वा सार्वजनिक सरोकारको सूचना माग्ने वा पाउने हक हुनेछ भनी संविधानमै व्यवस्था गरिएको छ । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !