६ आश्विन २०८१, आइतबार

सडक निर्माणसँगै खानेपानीे अभाव


Water supply

मुग्लिन, १५ असार । पछिल्लो समय ग्रामीण भेगको गाउँगाउँमा सडक निर्माणकार्यले तीव्रता पाएको छ । तर, सडक निर्माणसँगै हिउँदको समयमा पानीको मुहान सुक्ने र वर्षायाममा सडकको लेदो मुहानमा मिसिँदा खानेपानीको अभाव सिर्जना भएको छ ।

सडक निर्माणको कामले तीव्रता पाएसँगै चितवनको इच्छाकामना–५ मुग्लिनबजारमा पानीको हाहाकार भएको हो । वर्षात्सँगै खानेपानीको अभाव हुने गरेको होटल सञ्चालक प्रकाश त्रिपाठीले बताउनुभयो । पानीको मुहानलाई असर नपर्ने गरी विकल्प नखोजी सडक निर्माण गर्दा खानेपानी समस्या सिर्जना भएको उहाँको भनाइ छ ।

मुग्लिन होटल सङ्घका अध्यक्ष राम पाण्डे पनि मानवजीवनका लागि अत्यावश्यक खानेपानीको मुहानलाई असर नपु¥याउने गरी सडक निर्माण गर्नुपर्ने बताउनुहुन्छ । उहाँका मुग्लिन बजारमा अनुसार १०० बढी होटल तथा रेष्टुरेन्ट छन् । केन्द्रीय राजधानी काठमाडौँको मुख्य प्रवेशद्वार मुग्लिनमा खानेपानी अभाव हुँदा होटल सञ्चालनमै समस्या आएको उहाँको भनाइ छ ।

मुग्लिन खानेपानी उपभोक्ता समितिका अध्यक्ष तेजबहादुर शेरचनका अनुसार ३०० घरधुरी ग्राहक रहेका छन् । खानेपानी ट्याङ्की क्षमता कम भएका कारण पनि पर्याप्त पानी सञ्चय गर्न नसकिँदा वर्षायाममा अभाव सिर्जना भइरहेको उहाँको भनाइ छ । वडाध्यक्ष मोदराज सिलवाल भने सडक निर्माण आवश्यक रहेको र विकल्प नै नभएकाले यस्तो समस्या आएको बताउनुहुन्छ । अध्यक्ष सिलवालले पानी परेको समयमा मात्र अभाव हुने गरेको बताउनुभयो ।

उहाँका अनुसार पानी पर्दा सडकको हिलो लेदोसहित मुहानमा मिसिने गर्दा समस्या भएको हो । उहाँले भन्नुभयो, “पानी पर्दा ग्रामीण भेगमा निर्माण भएको सडकको लेदो मुहानमा मिसिने गरेको छ, लेदो मिसिएपछि शुद्धीकरणमा समस्या हुँदा अभाव सिर्जना भएको हो, सडक निर्माणको कामलाई रोक्न पनि नसकिने हुदाँ ती सडकमा पहिरो नरोकिएसम्म वर्षात्को समयमा यो समस्या सिर्जना भइरहनेछ ।” तत्कालका लागि समस्या टार्न विभिन्न विकल्पको खोजी भइरहेको उहाँले बताउनुभयो ।

पानीको मुहानै सुक्यो

वर्षेनी खानेपानीको मुहान सुक्दै गएपछि चितवनको इच्छाकामना गाउँपालिका–३ का बासिन्दामा खानेपानीको अभाव सिर्जना भएको छ । विसं २०७२ को विनाशकारी भूकम्प र पछिल्लो समय सडक निर्माण र जङ्गल मासिँदै जाँदा हरेक वर्ष मुहान सुक्दै गएकाले वडा नं ३ कुरिनघाट र नर्सिङटारका २०० घरधुरीलाई खानेपानी अभाव भएको स्थानीय माधवबहादुर घिमिरेले बताउनुभयो ।

घिमिरे भन्नुभयो, “२०७२ को विनाशकारी भूकम्पपछि खानेपानी अभाव झेल्दै आएका छौँ, पछिल्लो समय सडक निर्माण र बोटबिरुवा मासिँदै जाँदा खानेपानीका मुहान वर्षेनी सुक्दै गएको छ, हिउँदमा मुहान सुक्ने र वर्षायाममा सडकको लेदोले पानी पिउन योग्य नहँुदा समस्या सिर्जना भएको हो ।” (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !