६ आश्विन २०८१, आइतबार

संस्कृति र प्रकृतिको संरक्षणका साथै पूर्वाधार विकास प्राथमिकतामा


Nepalpatra

पोखरा, १० असार । कास्कीको अन्नपूर्ण गाउँपालिकाले संस्कृति र प्रकृतिको संरक्षणका साथै पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै बजेट ल्याएको छ । आर्थिक वर्ष २०७६÷७७ का लागि कूल रु ५८ करोड १० लाखको बजेट प्रस्तुत गरेको गाउँपालिकाले ऐतिहासिक एवम् सांस्कृतिक स्थलको संरक्षण एवम् पर्यटकीय विकासका साथै कृषिप्रतिको आकर्षण बढाउने कामलाई प्राथमिकतामा राखेको छ ।

गाउँपालिकाले चालूतर्फ ४० करोड २० लाख र पूँजीगततर्फ रु १७ करोड ९० लाख बजेट विनियोजन गरेको गाउँपालिकाका अध्यक्ष युवराज कुँवरले जानकारी दिनुभयो । उहाँका अनुसार बजेट विनियोजनका क्रममा विभिन्न विषयगत समिति गठन गरिएको र तिनै समितिको सिफारिसका आधारमा कार्यक्रम तय गरिएको हो ।

प्रकृति र परम्परागत संस्कृतिको संरक्षणलाई प्राथमिकतामा राखेको गाउँपालिकाले आव २०७६÷०७७ मा भोटे कुकुर संरक्षणका लागि दुई लाख रुपैयाँ छुट्याएको छ । विश्वमा नै सुरक्षा र स्वरको धनीका रुपमा परिचित भोटे कुकुर विशेषगरी अन्नपूर्ण गाउँपालिकाको घान्द्रुक र दाङसिङमा पाइने गाउँपालिकाका प्रमुख कार्यकारी अधिकृत शेषकान्त पौडेलले जानकारी दिनुभयो ।

गाउँपालिकाले सबैभन्दा धेरै पाँच करोड ५३ लाख रुपैयाँ भौतिक पूर्वाधार विकासका लागि छुट्याएको छ । त्यस्तै सामाजिक विकासमा तीन करोड २० लाख, आर्थिक विकासमा दुई करोड, वित्तीय व्यवस्थापन र सुशासनतर्फ २५ लाख, वातावरण तथा विपद् व्यवस्थापनमा ७० लाख, समपूरक कोषमा चार करोड रुपैयाँ छुट्याएको छ ।

गाउँपालिकाले सार्वजनिक गरेका कार्यक्रम धेरै जसो स्थानीय बालीको संरक्षण र प्रकृति संरक्षणसँग सम्बन्धित छन् । नर्सरी व्यवस्थापन, माटो परीक्षण, कुरिलो उत्पादन, कोदो उत्पादन र प्रवद्र्धन, मठमन्दिर संरक्षण, पदमार्ग निर्माणलगायतका क्षेत्रमा बजेट छुट्याइएको छ । बजेटमा पदमार्ग र सिँढीबाटो निर्माणका लागि झण्डै ७५ लाख रुपैयाँ भन्दा बढी रकम छुट्याइएको छ ।

अन्नपूर्ण चक्रपथको स्तरोन्नतिका लागि ४० लाखसहित अन्य सडक स्तरोन्नतिका लागि तीन करोड ६५ लाख रुपैयाँ बजेट छुट्याइएको अध्यक्ष कुँवरले जानकारी दिनुभयो । यसका अतिरिक्त प्रदेश सरकारबाट विनियोजन भएको आठ वटा सडकलाई चार करोड, सङ्घ सरकारको १० सडकमा आठ करोड १५ लाख तथा समपूरक कोषमार्फत काडे भदौरे सल्यान सडकलाई एक करोड रुपैयाँ विनियोजन गरिएको छ । गाउँपालिकाले आगामी वर्ष नयाँ ट्र्याक नखन्ने र भएकै बाटोलाई स्तरोन्नति गर्ने नीति लिएको थियो ।

विगमा साना कार्यक्रममा थोरै रकम विनियोजन हुँदा योजना नै दिगो नभएको वास्तविकतालाई दृष्टिगत गरी आगामी दिनमा ठूला आयोजना सञ्चालन गर्दै त्यसबाट अधिकतम लाभ लिने कुरालाई प्राथमिकतामा राखिएको छ ।

गाउँपालिकाले एक घर एक धारा र मूल संरक्षण तथा खानेपानी विस्तारका लागि दुई करोड ३५ लाख रुपैयाँ विनियोजन गरेको छ । शिक्षा, स्वास्थ्य, सिँचाइ, प्राङ्गारिक उत्पादनका विषय पनि बजेटको प्राथमिकतामा परेको प्रशासकीय अधिकृत पौडेलको भनाइ छ । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !