२८ कार्तिक २०८१, बुधबार

रुप फेर्दै जाजरकोट दरबार


darbar jajarkot

हेमन्त केसी, जाजरकोट, ९ असार । जाजरकोट राज्यको इतिहास बोकेको जाजरकोट दरबारले पुनर्जीवन पाएको छ । जीर्ण बनिसकेको यो दरबार पर्यटन मन्त्रालय र भेरी नगरपालिकाको आर्थिक सहयोगमा पुनःनिर्माण भएपछि लयमा आएको हो ।

राजा हरि शाहले विस १८२५ ताका निर्माण गरेको जाजरकोट दरबारको पुरानो छानो फेर्ने, दरबार क्षेत्र वरपर पर्खाल लगाउने, शौचालय एवं स्नान घर बनाउने काम सम्पन्न भएपछि दरबार पुरानै शैलीमा फर्किएको छ । जाजरकोट दरबार कला र ऐतिहासिक दुबै दृष्टिकोणले महत्वपूर्ण मानिन्छ । हाल जिल्ला प्रशासन कार्यालय रहेको यो दरबार जाजरकोटी राजा प्रकाश विक्रम शाहले २०४२ सालमा तत्कालीन जिल्ला पञ्चायतलाइ ६० हजार रुपैयाँमा बिक्री गरेका थिए ।

हरि शाहले भक्तपुरका चर्चित कालीगढ नाक्चेले बनाइदिएको ढाँचा अनुसार रुकुमको चौरजहारीबाट स्थानीय जनतालाइ ईंटा बोकाएर दरबार निर्माण गर्न लगाएका थिए । नेपाल एकीकरण अभियानका बेला पश्चिममा निकै शाक्तिशाली राज्यको रुपमा जाजरकोट रहेको थियो । यो दरबार पुरातत्व विभागमा दर्ता भएको भए पनि यसको रेखदेख र संरक्षणमा कसैको चासो नदिएको स्थानीय सरोकारवालाहरुले गुनासो गर्दैआएका थिए । दरबारको अझै धेरै काम गर्न बाँकी भए पनि बजेट नहुँदा समस्या भएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ ।

दक्षिणतिर भेरी नदी र चौरजहारीको सुन्दर दृश्य अनि, उत्तरतिर कुसे पाटनको मनोरम दृश्य मात्र होइन पूर्वतिर सिस्ने हिमाल, होलु जिउला र वरिपरि हरिया पहाडहरुको बीचमा रहेको खलङ्गाको पिपलडाँडास्थित टाकुरोमा रहेको जाजरकोट दरबारले प्राकृतिक सुन्दरताका बीच अहिले काँचुली फेरेको छ । प्रत्येक वर्ष दशैंंको महानवमीका दिन दरबार र जाजरकोट राज्यको ऐतिहासिक एवं साँस्कृतिक महत्व झल्काउने राङ्गो बलि हाल्ने मेला पनि पछिल्लो समय ओझेल पर्दैगएको छ ।

पृथ्वीनारायण शाहले शक्तिको प्रतीक मान्दै जाजरकोटका राजालाई दिएको खड्गको पूजा गर्न नौ राङ्गा र नौ बोकाको बलि दिने चलन पनि हराउँदै गएको छ । शुरुमा सात तले यो दरबार विसं १९९० सालको भूकम्पपछि चार तलामा खुम्चिएको थियो । वरपर दरबारको भव्य महल बीच रहेको रानीहरुले नुहाउने तलाउ नामोनिशान नै नरहने गरी भत्किए पछि त्यसको पनि निर्माण कार्य चलिरहेको छ ।

दरबार प्रवेश द्वार अगाडि रहेका दुईवटा सिंहले अगाडिका दुई खुट्टा उचालेर आक्रोश पोखिरहेको भाव झल्कने कलात्मक द्वार पनि विसं २०३५ मा भत्किसकेको थियो । सरकारले २०१७ सालमा राजारजौटा उन्मूलन गरेपछि राजाले बस्न छाडेको यो दरबारका प्रायःजसो ऐतिहासिक वस्तुहरु अहिले हराइसकेका छन् । बचेखुचेका वस्तु हराउन नदिन थप पहल गर्नुपर्ने नागरिक अगुवा राजेन्द्रविक्रम शाहको भनाइ छ ।

विगतमा दरबारको सातौं तलामा रहेको नारायण थानको मन्दिरका तीन वटा अति प्राचीन मूर्तिहरुमध्ये एउटा हनुमानको मूर्ति द्वन्द्वकालमा हराएको थियो । अन्य दुई राना गाउँको कालिका मन्दिर र पिपलडाँडाको गणेश मन्दिरमा सुरक्षित रहेको उहाँले बताउनुभयो ।

शाहका अनुसार हुम्ला र चीनको सिमानाबीचमा रहेको ताक्लाकोटमा विसं १९१४ मा जाजरकोटी सेनाका कमान्डर जुद्धदल शाह नेतृत्वको सेनाले आक्रमण गरी जितेका छालाका तोप र केही अन्य हतियारहरु राष्ट्रिय सङ्ग्रहालय छाउनीमा रहेका छन् ।

अन्य ६०० थान बन्दूकहरु राजाका सन्तानहरुले नै लिएर बेपत्ता पारेको उहाँको भनाइ छ । विसं १८२५ माघ ५ गते भारतको मणिकर्णिका घाटमा जाजरकोटी राजा हरि शाहले गोरखाका राजा पृथ्वीनारायण शाहसँग मितेरी साइनो लगाउँदै धर्मसन्धि गर्दाका बखत पाएका केही उपहारहरु र दस्तावेजहरु पनि अहिले भेटाउन गा¥हो भएको शाहको भनाइ छ ।

पृथ्वीनारायण शाहले शक्तिको प्रतीकको रुपमा दिएको खड्ग अर्थात तरबार मात्र अहिले जगतिपुरस्थित मन्दिरमा खड्गे देउताको रुपमा सुरक्षित रहेको स्थानीय पुजारी सत्यप्रसाद शर्माले बताउनुभयो । जाजरकोट दरबार पुनःनिर्माणका लागि पुरातत्व विभागको सक्रियतामा शहरी विकास तथा भवन डिभिजन कार्यालय सुर्खेतले २७ करोड रुपैयाँको लागत अनुमान निकालेको जिल्ला प्रशासन कार्यालयको भनाइ छ । भवन डिभिजन कार्यालयले दरबारको ऐतिहासिकता तथा कलालाई नबिग्रने गरी बनाएको ढाँचा र आर्थिक योजनासहितको पुनःनिर्माण योजना गृह मन्त्रालयमार्फत अर्थ मन्त्रालयमा गएर रोकिएको छ । नयाँ पर्यटकीय गन्तव्यमा परेका कारण जाजरकोट दरबारको मर्मत गरिएको हो ।

नेपाल बाइसी र चौबिसी राज्यमा विभाजित भएका बेला बाइसी राज्य अन्तर्गत निकै शक्तिशाली मानिएको जाजरकोट राज्यका संस्थापक राजा जगतिसिंह मेदिनी बर्मा हुन् । उनले विसं १४५५ मा जाजरकोट राज्य स्थापना गरेका थिए । उनी पछिका राजा विजय सिंहको घोडाले मन पराएको जाजरकोट खलङ्गाको पिपलडाँडामै उनका नाति पर्ने हरि शाहले उक्त दरबार निर्माण गर्न लगाएका थिए । राज्यले लगानी बढाएर पर्यटनका लागि थप बल दिन सके इतिहासको प्रचारसँगै आर्थिक रुपमा पनि फाइदा हुने देखिन्छ । जिल्लाका शिवालय, जगतीपुर दरबार, पजारुका देवलहरु, बारेकोट गाउँपालिकाको ठाकुरजी, खगेनकोटको खगेन दरबार, भेरी नगरपालिकाको वडालेख युद्ध गुरिल्ला मार्ग जस्ता ठाउँको प्रवद्र्धन गर्न सकिए जिल्लाको परिचय बदलिने निश्चित छ । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !