७ मंसिर २०८१, शुक्रबार

देशभर सफाइ अभियान जारी, स्थानीय सरकारको बेवास्ता


Nepalpatra

पूर्णप्रसाद मिश्र, काठमाडौँ, ७ असार । ‘राष्ट्रका लागि दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ उपत्यकाका नदी, चक्रपथलगायत देशभरका मुख्य शहरमा सफाइ अभियान जारी छ । जनस्तरबाट सफाइ भइरहे पनि तीनै तहका सरकारले नीतिगत परिवर्तनका लागि खासै ध्यान नदिएको अभियानकर्मीको गुनासो छ ।

विसं २०७० जेठ ५ गते वाग्मती सफाइ महाअभियान शुरु भएसँगै देशभर सफाइ अभियानले जागरणको रुप लिएको छ । सफाइकै लागि स्थापना भएका सरकारी निकायसमेत औपचारिकताभन्दा माथि उठ्न सकेका छैनन् ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहका लागि सफाइ कार्यविधि जारी गरे पनि काम भने हुन सकेको छैन । स्थानीय सरकार सञ्चालन ऐनअनुसार सफाइ स्थानीय तहको जिम्मेवारी भए पनि आवश्यक मात्रामा ध्यान जान सकेको देखिँदैन ।

वाग्मती सफाइ महाअभियानको ३१९औँ हप्तामा शङ्खमूल मनोहरा दोभानमा सफाइ गरियो । सफाइमा अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, काठमाडौँ महानगरपालिकालगायत २४ संस्थाका ५०० भन्दा बढी अभियानकर्मीको सक्रियता थियो ।

सफाइबाट छ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अधिकार सम्पन्न वाग्मती समितिकी सञ्चालक समिति सदस्य माला खरेलले राससलाई जानकारी दिनुभयो । सफाइमा अधिकार सम्पन्न वाग्मती समितिका अध्यक्ष नरेन्द्रराज बस्नेतलगायत अभियानकर्मी पनि सक्रिय हुनुभएको थियो ।

रुद्रमती सफाइको २७३औँ हप्तामा रातोपुलबाट कालोपुल क्षेत्रका नदी किनारमा रोपिएका बिरुवा संरक्षणका लागि सार्वजनिक आह्वान गरियो । काठमाडौँ महानगरपालिका–३० र रुद्रमती सरोकार समाजले संयुक्त रुपमा स्थानीय घरधनीलाई पत्र लेखी बिरुवा संरक्षणको जिम्मेवारी दिएको अभियानकर्मी रोहित गिरीले राससलाई जानकारी दिनुभयो ।

वडाध्यक्ष दलबहादुर कार्कीले नदी किनारका बिरुवा संरक्षणका लागि समुदायको सहयोग माग गरिएको बताउनुभयो । बिरुवा नष्ट गर्नेलाई वडा कार्यालयले दण्डित गर्ने उहाँको भनाइ थियो । रुद्रमतीको सेतोपुलबाट सिम्रिक पुलसम्मको नदी किनारमा आजदेखि विशेष सफाइ अभियान शुरु भएको छ ।

महानगरपालिका–२९ को नेतृत्वमा अभियानकर्मी चित्र सुनुवारलगायत आज यस क्षेत्रको सफाइमा सक्रिय हुनुभएको थियो । रुद्रमती सफाइ अभियानले २७३ हप्ता पार गरे पनि आशा गरे अनुसार नदी सफा हुन सकेको छैन । आजको रुद्रमती सफाइबाट करीब एक मेट्रिक टन फोहर व्यवस्थापन गरिएको थियो ।

विष्णुमती सफाइ अभियानको २४६ हप्तामा नेपालटारबाट डाँडागाउँसम्मको नदी किनारमा सफाइ गरियो । चारघरे योग साधना केन्द्र नेपाल समेत सहभागी भएको कार्यक्रममा तीन वटै सुरक्षा निकायलगायत संस्था एवं स्थानीयवासी गरी ४०० भन्दा बढीको सक्रियता थियो ।

सफाइबाट चार मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अभियानकर्मी शोभाकान्त पाण्डेले जानकारी दिनुभयो । वाग्मती तिलगङ्गा क्षेत्र सफाइको २२०औँ हप्तामा त्यस क्षेत्रमा सफाइ गरी एक मेट्रिक टन फोहर व्यवस्थापन गरियो । तिलगङ्गा महिला समूहको सक्रियतामा भएको सफाइमा महिलाको उल्लेख्य सहभागिता रहेको सफाइ संयोजक आशा पाण्डेले जानकारी दिनुभयो ।

मनोहरा नदी सफाइको ११८औँ हप्तामा कोटेश्वर क्षेत्रमा सफाइ गरी एक मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा १०० जनाभन्दा बढी अभियानकर्मीको सक्रियता रहेको संयोजक चन्द्रप्रसाद दङ्गालले राससलाई जानकारी दिनुभयो ।

चक्रपथ सफाइ अभियानको ११६औँ हप्तामा बालाजु क्षेत्रमा सफाइ गरी सात मेट्रिक टन फोहर व्यवस्थापन गरियो । २५० जनाभन्दा बढी अभियानकर्मीको सक्रियतामा भएको सफाइबाट वर्षौँदेखि थुपारिएको फोहर उठाइएको अभियानकर्मी रेणुका गुरुङले सुनाउनुभयो ।

यसैगरी आलोकनगर सफाइको ११६औँ हप्तामा त्यस क्षेत्रमा सफाइका साथै घरदैलो जनचेतना अभियान पनि चलाइयो । एक मेट्रिक टन फोहर व्यवस्थापन गरिनुका साथै त्यस क्षेत्रमा रोपिएका गाँजा नष्ट गरिएको सफाइ संयोजक प्रमिला पौडेलले सुनाउनुभयो ।

चक्रपथ–बाफल खण्ड सफाइको ९७ औँ हप्तामा कलङ्कीचोक क्षेत्रमा सफाइ गरी एक मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सडकमा जमेको धुलो दुई ट्याङ्कर पानी हालेर पखालिएको अभियानकर्मी ताराबहादुर कुँवरले जानकारी दिनुभयो । (रासस


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !