६ आश्विन २०८१, आइतबार

फोहर व्यवस्थापनका लागि बोलपत्र भइसक्यो


Nepalpatra

काठमाडौँ, ६ असार । शहरी विकासमन्त्री मो. इस्तियाक राईले काठमाडौँ उपत्यकालगायत देशभरकै फोहर व्यवस्थापनको समस्या समाधानका लागि आर्थिक वर्षको अन्त्यमा सम्पन्न हुने गरी प्रारम्भिक चरणको ठेक्का भइसकेको जानकारी दिनुभएको छ ।

विनियोजन विधेयक २०७६ माथि सांसदले उठाएको प्रश्नको आज प्रतिनिधिसभामा जवाफ दिँदै उहाँले काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापनका लागि बञ्चरे डाँडा निर्माण प्रक्रियामा गइसकेको हुँदा आगामी दिनमा उपत्यकाको सम्पूर्ण फोहर व्यवस्थापन सम्बन्धी अब सबै समस्या समाधान हुने बताउनुभयो ।

“तराई– मधेशलगायत विभिन्न जिल्लाका सदरमुकाममा फोहर व्यवस्थापनका कार्य भइरहेका छन्, नेपालगञ्जको ल्याण्डफिल्ड साइट सम्पन्न भइसकेको छ, अब छिट्टै सञ्चालनमा आउने छ”, उहाँले भन्नुभयो । सिंहदरबारस्थित पुतली बगैँचामा सङ्घीय संसद् भवन निर्माणका लागि बोलपत्र आब्हान भइसकेको जानकारी दिँदै मन्त्री राईले वाग्मतीलगायतका उपत्यकाभित्र खोलाका कोरिडोर निर्माण विभिन्न चरणमा भइरहेको जानकारी गराउनुभयो ।

“करिडोर अघि बढाउने सन्दर्भमा अधिग्रहणमा परेका जग्गाको मुआब्जा वितरण भइरहेको छ खोला कायम भइसकेको छ”, उहाँले भन्नुभयो । काठमाडौँको जनसङ्ख्याको चापलाई दृष्ट्रिगत गरी नयाँ शहरको परिकल्पना गरेर कार्यान्वयनका लागि अघि बढाइएको जानकारी दिँदै उहाँले यस्ता कार्यक्रमले राजधानीलाई व्यवस्थित तुल्याउन टेवा पुग्ने बताउनुभयो ।

मुलुकमा १३ वटा स्मार्ट सिटीको आगामी आर्थिक वर्षदेखि कार्यान्वयन अघि बढाइएको बताउँदै मन्त्री राईले जनता आवास कार्यक्रम कार्यान्वयनको अधिकार प्रदेशमा रहेको जानकारी दिनुभयो । सम्पूर्ण नेपाली जनतामा आवासको व्यवस्था गर्नुपर्ने राज्यको दायित्वलाई कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको उहाँले बताउनुभयो । प्रतिनिधिसभाको अर्काे बैठक यही जेठ ८ गते दिनको ११ बजे बस्ने छ । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !