१४ आश्विन २०८१, सोमबार

हिमालदेखि तराईसम्मका घरवास एउटै ग्रामीण पर्यटन मार्टमा


Nepalpatra

पोखरा, ३२ जेठ । नेपाल पर्यटन बोर्डको आयोजना एवं ग्रामीण पर्यटन प्रवद्र्धन मञ्च(भिटोफ)गण्डकी प्रदेशको सह आयोजनामा पोखरामा शुक्रबारदेखि ग्रामीण पर्यटन मार्ट शुुरु भएका छ ।

गाउँ पर्यटनको प्रवद्र्धन गर्दै पर्यटन बजारमा प्रभावकारी पहुँच अभिवृद्धि गर्ने लक्ष्यका साथ आयोजित मार्टमा हिमाल पारीको मुस्ताङदेखि तराईको जिल्ला नवलपुरसम्मको घरवासको सहभागिता रहेको छ । मुस्ताङको ठिनी सामूदायिक घरवासदेखि नवलपुरको दराई सामूदायिक घरवाससहित विभिन्न २०० भन्दा बढी घरवास व्यवस्थापकको सहभागिता रहेको दुईदिने सो मार्टमा विभिन्न ३५ घरवासले आफ्ना प्रचार सामग्रीसहित प्रदर्शनी कक्षसमेत राखेका छन् ।

गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले सो मार्टको उद्घाटन गर्नुभएको थियो । गण्डकी प्रदेशमा हालसम्म २७३ घरवास सञ्चालनमा आएका बताइएको छ ।

गाउँ पर्यटन प्रवद्र्धन मञ्च(भिटोफ)का केन्द्रीय अध्यक्ष ध्रुव सिंखडाले घरवासको प्रभावकारी विकास गर्न सके ग्रामीण भेगका सर्वसाधारणका लागि आय आर्जनको महत्वपूर्ण आधार बन्ने बताउनुभयो । पोखरा पर्यटन परिषद्का अध्यक्ष चिरञ्जीवी पोखरेलले पर्यटकीय गाउँ र ठाउँलाई होमस्टेका माध्यमबाट आयआर्जनमा जोड्दै पर्यटकको बसाइ लम्ब्याउने खालको वातावरण तयार गर्नुपर्नेमा जोड दिनुभयो ।

गाउँ पर्यटन प्रवद्र्धन मञ्च गण्डकी प्रदेशका अध्यक्ष रविन्द्रराज पौडेलले गण्डकी प्रदेशमा होमस्टे प्रतिको आकर्षण बढ्दै गएकाले दिगो र संस्थागत विकास प्राथमिकतामा रहेको बताउनुभयो । प्रदेशसभा सदस्य राजीव पहारी, रामबहादुर गुरुङ लगायतले होमस्टेको प्रवद्र्धनमा मार्ट बहुउपयोगी बन्ने विश्वास व्यक्त गर्दै होमस्टे व्यवस्थापनमा सबै पक्षको सहयोग आवश्यक रहेकामा जोड दिनुभयो ।

राससकर्मी सम्मानित

ग्रामीण पर्यटन मार्टका अवसरमा राष्ट्रिय समाचार समिति गण्डकी प्रदेश कार्यालयका समाचारदाता वासुदेव पौडेल सम्मानित हुनुभएको छ । समाचार लेखनका माध्यमबाट गाउँ पर्यटकको प्रवद्र्धनका महत्वपूर्ण योगदान पु¥याएको भन्दै गाउँ पर्यटन प्रवद्र्धन मञ्च नेपाल गण्डकी प्रदेशले उहाँँलाई क्याप्टेन रुद्रमान स्मृति ग्रामीण पर्यटन पत्रकारिता पुरस्कार–२०७६ बाट सम्मान गरेको हो ।

उहाँलाई रु एघार हजार १११ सहित कदरपत्र र दोसल्लाबाट सम्मान गरिएको हो । कार्यक्रममा उहाँसहित सो पुरस्कारबाट कान्तिपुर टेलिभिजनका सम्वाददाता भुपाल गुरुङलाई पनि सम्मान गरिएको थियो । नेपालमा पहिलो पटक स्याङजाको शिरुवारीमा घरवास शुरु गर्नुहुने पूर्वसांसद एवं गाउँ पर्यटनमा महत्वपूर्ण योगदान पु¥याएका क्याप्नेट रुद्रमान गुरुङको स्मृतिमा उक्त पत्रकारिता पुरस्कार प्रदान गरिँदै आइएको छ ।

सोही अवसरमा ताङतिङ सामुदायिक होमस्टेकी अध्यक्ष पसमाया गुरुङ र पिप्लेक देउराली होमस्टेका अध्यक्ष महेश गुरुङलाई पनि लिडरसीप अवार्डवाट सम्मान गरिएको थियो । उहाँहरुलाई होमस्टे व्यवस्थापन प्रभावकारी तथा व्यवस्थित गरिएको भन्दै सम्मान गरिएको हो । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !