९ असार २०८१, आइतबार

अब तीनपटकसम्म लगातार लाइसेन्सको ट्रायल दिन पाइने


licence-trial

सवारीचालक अनुमतिपत्र (लाइसेन्स)को ट्रायल परीक्षामा फेल भए अब तीन महिना कुर्न नपर्ने भएको छ। एकपटक लिखित परीक्षा पास गरेपछि तीनपटकसम्म लगातार ट्रायल परीक्षा दिन पाइने भएको खबर आजको नयाँ पत्रिकामा छापिएको छ।

दुई महिनाअघि सरकारले संशोधन गरेको सवारी तथा यातायात व्यवस्था नियमावली, २०५४ लाई यातायात व्यवस्था विभागले कार्यान्वयन गर्न लागेको हो। संशोधित नियमावलीमा एकपटक लिखित परीक्षा पास गरेपछि ९० दिनभित्र तीनपटकसम्म ट्रायल दिन पाउने प्रावधान रहेको र मंसिरदेखि त्यसलाई कार्यान्वयन गर्न लागिएको यातायात व्यवस्था विभागका प्रवक्ता टोकराज पाण्डेले बताए।

मंसिरको पहिलो सातादेखि देशभरि परीक्षा सञ्चालन

नियमावली संशोधन भएयता देशभरि लाइसेन्स परीक्षा रोकिँदै आएको छ। सफ्टवेयर अपडेट गरेर मंसिरको पहिलो सातादेखि देशभरि परीक्षा सञ्चालन सुरु गरिने पाण्डेले बताए। हरेक महिना १५–१६ हजार सर्वसाधारणले लाइसेन्स परीक्षा दिने गरेका छन्। विभागले उपत्यकालगायत अञ्चल यातायात कार्यालयहरूमा क्षमता विस्तार गरी नयाँ नियमावली कार्यान्वयन गर्न लागेको हो। उपत्यकामा मीनभवनमा मोटरसाइकल तथा भद्रकालीस्थित नेसनल ट्रेडिङको जग्गामा विभागले गाडीको ट्रायल परीक्षा लिँदै आएको छ। विभागले गुर्जुधारामा आफ्नै ट्रायल सेन्टर बनाउँदै छ। बन्द भएको रोपवे कम्पनीको जग्गामा विभागले मोटरसाइकल र गाडीको ट्रायल सेन्टर बनाउने प्रक्रिया अघि बढाइसकेको छ।

तीनवटा कार्यालय थपिने

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशनअनुसार यातायात व्यवस्था विभागले उपत्यकामा तीनवटा कार्यालय स्थापना गरेको छ। कलंकी, भक्तपुरको सल्लाघारी र चाबहिलमा नयाँ कार्यालय स्थापना गरिएको हो। ती कार्यालयले मंसिरको अन्तिमबाट सेवा सुरु गर्ने तयारी भइहरेको यातायात व्यवस्था विभागका प्रवक्ता पाण्डेले बताए। उपसचिवको नेतृत्वमा ती कार्यालयमा २६–२६ जना कर्मचारी हुनेछन्। लाइसेन्स परीक्षा लिनेदेखि सवारी दर्ता तथा नवीकरणका सबै काम ती कार्यालयबाट हुने पाण्डेले बताए।

नयाँ दरबन्दी स्वीकृत भई कर्मचारी व्यवस्थापनको काम पनि भइरहेको उनको भनाइ छ। ललितपुरको एकान्तकुनामा मात्र कार्यालय हुँदा सेवाग्राहीको अत्यधिक भीड हुने गरेको थियो। बिहानैदेखि सर्वसाधारण लाइनमा बस्नुपर्दथ्यो। भीडकै कारण दलालहरूको चलखेल हुँदै आएको छ। सेवाग्राहीलाई सास्ती भएको भन्दै प्रधानमन्त्री प्रचण्डले गत भदौमा उपत्यकामा यायातात कार्यालय थप्न निर्देशन दिएका थिए। सोहीअुनसार थप तीन कार्यालय सुरु गर्न लागिएको हो।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !