५ आश्विन २०८१, शनिबार

भू–अभिलेख सूचना व्यवस्थापन प्रणाली शुरु


Nepalpatra

ताप्लेजुङ, २२ जेठ । मालपोत कार्यालयमा भू–अभिलेख सूचना व्यवस्थापन प्रणालीमार्फत अनलाइन सेवा शुरु गरिएको छ । नवनिर्मित भवनमा मङ्गलवार कार्यालय स्थानान्तरण भएसँगै उक्त सेवा सञ्चालन गरिएको हो ।

ताप्लेजुङ यस्तो किसिमको सेवा प्रदान गर्ने ६२औँ मालपोत कार्यालय भएको छ । देशभरका १३१ वटा मालपोत कार्यालयमा यो सेवा विस्तार गर्ने लक्ष्य राखिएको भूमि व्यवस्थापन तथा अभिलेख विभागका महानिर्देशक गोकर्णमणि दुवाडीले बताउनुभयो । महानिर्देशक दुवाडीका अनुसार जग्गा प्रशासनसम्बन्धी सेवा सूचना प्रविधि मैत्री, सहज, छरितो, पारदर्शी र विश्वसनीय बनाउन यो प्रणाली लागू गरिएको हो ।

उहाँले भन्नुभयो, “यो प्रणालीमा हरेक दिन मुलुकभर कति जग्गाको कारोवार भयो, कति खरीदबिक्री भयो, कति कर सङ्कलन भयो भन्ने जानकारी विभाग वा मन्त्रालयबाट पनि हेर्न मिल्छ । राजश्व सङ्कलनलाई यसले प्रभावकारी बनाउने अपेक्षा गरिएको छ ।” यो प्रणालीबाट देशभरिका जग्गा तथा जग्गाधनीको विवरण विभागको एउटै सर्भरमा केन्द्रीकृत रूपमा भण्डारण भई विभाग तथा सरोकारवालालाई आवश्यक पर्ने तथ्याङ्क र विवरण सजिलैसँग एकै ठाउँबाट प्राप्त गर्न सकिनेसमेत महानिर्देशक दुवाडीको भनाइ छ ।

घरजग्गाको स्वामित्व हस्तान्तरण हुँदा दिने र लिने साक्षीहरूको औँठा छाप, दस्तखत तथा फोटो विद्युतीय उपकरणहरूका माध्यमबाट प्रणालीमा समावेश गर्ने तथा सो घर–जग्गा किनबेच गर्दा परीक्षण गर्ने व्यवस्था रहेको छ । घरजग्गाको स्वामित्व हस्तान्तरण हुँदा निवेदन र लिखत स्वीकृत हुनुभन्दा अगावै जग्गाधनीलाई एसएमएस र इमेलमार्फत नोटिफिकेशन जाने व्यवस्था रहेको हुँदा कीर्ते कारोबार प्रायः शून्य हुने मालपोत कार्यालयको दाबी छ । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !