२९ कार्तिक २०८१, बिहीबार

सामाजिक मान्यताले छेक्दैन पौरखी महिलालाई


Nepalpatra

दुर्गा देवकोटा, लम्की, २२ जेठ । कैलाली जिल्लाको लम्की चुहा नगरपालिकामा ‘किशोर हेयर कटिङ’ हेयर शैलुन पसल छ । यहाँ पुरुषहरुको दा¥ही बनाउने, कपाल काट्ने काम हुन्छ । हीरा चौधरीले विगत १३ वर्षदेखि यो काम गर्दै आउनुभएको छ । कैलालीकै एक संस्थाले हीरासहित तीन महिलालाई कपाल काट्ने, दा¥ही बनाउने तालीम दियो । अन्य साथीले यो काम गर्न लाज माने तर, उहाँलाई लाग्यो पुरुषले गर्ने सम्पूर्ण काम महिलाले पनि गर्न सक्छ । यसै विश्वासका साथ ब्यवसाय शुरु गरेकी हीराले आफ्नो अनुभव यसरी सुनाउनुहुन्छ – “व्यवसाय गर्दागर्दै विवाह भयो । विवाहपछि श्रीमान्लाई पनि यो शीप सिकाएँ ।” अहिले दुबैजना मिलेर हेयर शैलुन चलाउँछन् । यस शैलुनबाट मासिक ३५ हजारसम्म कमाइ हुन्छ ।

हीरा जस्तै मेहनती र सफल महिला कैलालीकै बुध्नि डगौरा थारु ट्याक्सी चलाउनुहुन्छ । हाम्रो समाजमा ट्याक्सी चालकको भूमिकामा प्रायः पुरुषहरु छन् । तर, कुनै पनि काम पुरुष र महिलाको हुँदैन भन्ने प्रमाणित गर्न डगौरालाई ठूलै मेहनत गर्नुप¥यो । अहिले उहाँकै कारण समाजमा महिलालाई हेर्ने दृष्टिकोण केही परिवर्तन भएको छ । “शुरुशुरुमा मैले ट्याक्सी चलाएको जम्मा भएर हेर्ने गर्दथे, पुरुषहरु निकै कुरा काट्थे,” बुध्नीले भन्नुभयो – “अहिले सबैले राम्रो व्यवहार गर्छन् । मैले दैनिक दुई हजारदेखि १० हजारम्म कमाउँछु । मलाई भ्याइनभ्याई छ ।” बुध्निका अनुसार मेहनत गरेमा महिलाले गर्न नसक्ने भन्ने काम छैन ।

पुरुषले गर्ने काम महिलाले गर्न सक्दैनन् भन्ने सोचाइ समाजमा अहिले पनि विद्यमान छ । यसरी काम गर्ने महिलाको समाजले नकारात्मक टीकाटिप्पणी गर्छन् । पुरुषले गर्ने सम्पूर्ण काम गर्न महिला सक्षम छन् भन्ने प्रमाणित यी महिलाले गरिससकेका छन् । यस्तै, आफूलाई प्रमाणित गरेकी अर्की महिला कैलाली टीकापुरकी कल्पना चौधरीको सङ्घर्ष पनि कम छैन । कल्पना वाइरिङ र मोटर मर्मतको काम गर्नुहुन्छ ।

आठ वर्षअघि श्रीमान्सँग यो शीप सिक्नुभएकी चौधरीको परिवार यसै व्यवसायबाट धानिएको छ । अहिले उहाँ पसल मात्र हैन घरघर गएर पङ्खा मर्मत, मोटर मर्मत र वाइरिङ सम्बन्धी सम्पूर्ण काम एक्लै गर्नुहुन्छ । “शुरुशुरुमा घर वाइरिङ महिलाले गर्ने भन्दै हाँस्थे, हाल धेरैले विश्वास गर्छन्,” कल्पनाले भन्नुभयो – “महिलाले मोटर बनाउने भन्छन् । काम गरेको देखेर साहसिक महिला भन्न थालेका छन् ।” कमाइ भएपछि जीवन सहज हुने भएकाले मेहनत गरेको बताउने कल्पना भन्नुहुन्छ – “महिलाले घर, चुलोचौकाका काम मात्रै गर्छन् भन्ने धारणा परिवर्तन भएको छ । म मेरो श्रीमान् बराबर काम गर्न सक्छु भन्ने प्रमाणित गरेकी छु ।”

लम्की चुहा नगरपालिकाकी तुल्सी देवकोटा एक विवाहित महिला हुनुहुन्छ । पेशाले उहाँ आइएमइ लाइफ इन्स्योरेन्स टीकापुरकी शाखा प्रमुख हुनुहुन्छ । सात वर्ष अघि काम शुरु गर्दा उहाँको दोस्रो सन्तान गर्भमा थियो । अहिले दुईवटा बच्चा अघिपछि च्यापेर बाइक कुदाउँदै कार्यालय पुग्ने देवकोटा सम्पूर्ण विवाहित महिलाका लागि प्रेरणाको स्रोत बन्नुभएको छ । “मैले श्रीमती, बुहारी, आमादेखि कार्यालयको हाकिमसम्मको जिम्मेवारी एक्लैले निभाएकी छु । महिलाले मेहनत गर्नुपर्छ ।” देवकोटाले भन्नुभयो – “म अप्ठेरो परेकोे दिन १५० सिसीको बाइकमा अघिपछि दुई सन्तान बोकेर काम गर्छु । शुरुशुरुमा बाइक चलाएर हिँड्दा धेरैले अचम्म मान्थे ।” देवकोटाका अनुसार हिम्मत गरेमा महिला अझ बढी राम्रो काम गर्न सक्छन् ।

छोरी मात्र पाएको बहानामा महिलामाथि अनेक हिंसा हुने गर्दछ । दर्जनौं छोरी जन्मे पनि छोराको आशले महिलालाई सन्तान जन्माउने साधनका रुपमा प्रयोग गरेका उदाहरण समाजमा प्रशस्त छन् । अधिकारकर्मी कल्पना उपाध्याय नचाहँदा नचाहँदै जन्मिएका छोरीहरु राम्रोसँग लेखपढ गर्न नपाई पराई घर जान्छन् । “अवसर पाएका छोरीहरु यस्ता उदाहरणीय काम गर्छन्, त्यसैले छोरीको महत्व बुझ्न आवश्यक छ,” उपाध्याय भन्नुहुन्छ – “छोरीले जोखिमपूर्ण काम गर्न सक्दैनन् भन्ने धारणा त्यागौं ।”

यस्तो सामाजिक धारणा परिवर्तनका लागि सङ्घर्ष गर्ने दम्पती पनि छन् । कैलालीको टीकापुर नगरपालिका–४ अस्नेरीका इन्जिनीयर बालकृष्ण घिमिरे यस्तो सोच भएको समाजका लागि उदाहरणीय बन्नुभएको छ । घिमिरेकी एकमात्र छोरी छन् । अठार वर्षकी छोरी अहिले इन्जिनीयरिङ विषय अध्ययन गर्दैछिन् । छोरा र छोरीलाई समान देख्ने घिमिरे दम्पतीलाई छोराको चाहना कहिल्यै भएन । “हामीले भएको सन्तानलाई राम्रो संस्कार र शिक्षा दिने सोच बनायौ,” इन्जिनीयर घिमिरेले भन्नुभयो – “अवसर दिने हो । छोरी अझ छोराभन्दा राम्रो गर्न सक्छन् भन्ने ठान्यौं र अर्को बच्चा जन्माएनौं ।” पत्नी पवित्रा घिमिरेले एउटै छोरीमा आफूहरु खुशी रहेको र तिनै छोरीलाई असल नागरिक बनाउने प्रयासमा रहेको बताउनुभयो ।

सामाजिक संरचना अनुसार महिला र पुरुषले गर्ने काम भिन्दाभिन्दै छन् । आर्थिक रुपमा आयआर्जन हुने घरबाहिरका काम गर्नुपर्ने जिम्मेवारी पुरुषलाई छ भने घरभित्रका गैरआर्थिक कामहरु महिलाले गर्नुपर्ने भनेर भूमिका छुट्याइएको छ । यसले गर्दा समाजमा लैङ्गिक विभेदले प्रश्रय पाइरहेको छ र महिला हिंसा बढिरहेको छ । यस अवस्थामा हीरा, डगौरा, कल्पना र तुल्सी जस्ता महिलाहरु सिङ्गो समाजकै लागि प्रेरणा बनिरहेका छन् भने घिमिरे दम्पतीले छोरा प्रमुख मान्ने सामाजिक मूल्य मान्यता बोकेको समाजलाई छोरीको महत्व बुझ्न दबाब दिइरहेका छन् । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !