पदमबहादुर अधिकारी, सङ्खुवासभा, २० जेठ । चैनपुर बजारमा ६०० वर्ष पुरानो इँटा फेला परेको छ । चैनपुर नगरपालिका–६ मा मल्लकालीन समयमा उत्पादन भई प्रयोग भएको इँटा भेटिएको हो । स्थानीय नारायण श्रेष्ठको घरको पिँढीमा प्रयोग भएको इँटा १४ औँ शताब्दीभन्दा अघिको रहेको इतिहासविद् डा रमेश ढुङ्गेलले दाबी गर्नुभयो । ढुङ्गेल संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको विज्ञ टोली सदस्य हुनुहुन्छ । “चैनपुरको इतिहासमा नयाँ कुराको प्राप्ति भएको छ”, उहाँले भन्नुभयो, “छ सय वर्षभन्दा पुराना इँटा फेला परेका छन् ।”
उहाँका अनुसार यसले चैनपुरको इतिहासमा महत्वपूर्ण प्रमाण थपेको छ । नेपाल एकीकरणभन्दा अगाडि नै चैनपुरको इतिहास रहेकाले यसको संरक्षण आवश्यक रहेको उहाँले बताउनुभयो । चैनपुर सङ्खुवासभाको पुरानो सदरमुकाम पनि हो । उक्त इँटाको लम्बाइ १४ इन्च, चौडाइ आठ इन्च र मोटाइ दुई इन्च छ । पुरातत्त्व विभाग, जनप्रतिनिधि र स्थानीयलाई आह्वान गरी इँटाको रेलिङ राखेर सुरक्षा गर्नुपर्ने उहाँको भनाइ छ । यसबारे विभागमा लिखित जानकारी गराउने उहाँले बताउनुभयो ।
यसअघि हटिया गोलामा पुरानो हतियार फेला परेको थियो । यसले इतिहास थप भएको चैनपुरका प्रमुख भरतकुमार खत्रीले बताउनुभयो । “चैनपुर बजारमा अझै पुराना शैलीका घर प्रशस्त छन्”, उहाँले भन्नुभयो, “मल्लकालीन इँटा फेला परेकाले यस क्षेत्रको महत्व अझ बढेको छ ।” स्थानीय सरकारले यस्ता पुरातात्विक महत्व बोकेका सम्पदाको संरक्षणको काम थाल्ने उहाँको भनाइ छ ।
नवौँदेखि १४औँ शताब्दीसम्म यस प्रकारको इँटा उत्पादन भएको देखिएको स्थानीय रामकुमार दाहालको भनाइ छ । चैनपुरका अन्य घरमा पनि यस्तै इँटा प्रयोग भएको उहाँले सुनाउनुभयो । पुराना इँटा प्रयोग भएको घरका धनी श्रेष्ठ भने विराटनगरमा बस्दै आएका छन् ।
चैनपुर बजारमै रहेको मेजरपाटीलाई त्यस समयमा बस्नेत पौवा भनिने गरेको पाइएको ढुङ्गेलको भनाइ छ । भोट र सिक्किममा युद्ध लडेर चैनपुरलाई एकीकृत नेपालमा मिलाउन दोस्रो मुख्य काजी वक्तावरसिंह बस्नेतसहितको टोलीको योगदान रहेको इतिहास छ । विक्रम संवत् १८४५ मा स्थानीयस्तरमा नेतृत्व गर्ने आशा खत्री, मनोहर डाँगी, स्वरुप डाँगी, विश्राम राउत र लिम्बू जातिका लडाकुलगायत विभिन्न जनजातिलाई आफ्नो पक्षमा लिएर चैनपुरलाई नेपालको क्षेत्रमा राखिएको ढुङ्गेलले बताउनुभयो । उहाँका अनुसार १८३०/३१ मा पृथ्वीनारायण शाहका पालामा वक्तावरसिंहका बुबा जनरल अभिमानसिंह बस्नेतको फौजले लडाइँ नगरी चैनपुर क्षेत्रलाई एकीकृत नेपालमा मिलाएको इतिहासमा उल्लेख छ । सिक्किम र भोटको युद्धले चैनपुरलाई आफ्नो बनाएको थियो तर पछि वक्तावरसिंहको टोलीले फिर्ता ल्याएको थियो । चैनपुर फिर्ता भएको विजयको खुशियालीमा मेजरपाटी बनाइएको ढुङ्गेलको भनाइ छ ।
उहाँका अनुसार चैनपुरकै बानेश्वर मन्दिरमा पनि टेरकोटा भैरवको मूर्ति छ । उक्त मूर्ति २५० वर्ष पुरानो रहेको उहाँले उल्लेख गर्नुभयो । सिद्धकाली मन्दिरमा सिक्किमले शासन गरेको समयमा लेखिएको शिलालेख अझै छ । त्यसमा ‘ॐ आ हुँम’ तान्त्रिक मन्त्र लेखिएको पाइन्छ । (रासस)