१० पुस २०८१, बुधबार

संविधानको मूल ‘स्प्रिट’ लाई सबैले आत्मसात् गरौँ : उद्योगमन्त्री


matrika yadav

सुर्खेत, ९ जेठ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले तीन वटै तहका सरकारबीच समन्वय कायम हुनसके मात्र सङ्घीयता सफल हुने बताउनुभएको छ ।

वीरेन्द्रनगरमा निर्माणाधीन लघु औद्योगिक ग्रामको आज प्रदेश सरकारलाई हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले संविधानको मूल स्प्रिट तीन तहका सरकारबीच समन्वय र सहकार्य नै रहेको बताउनुभएको हो । “संविधानको मूल स्प्रिटलाई सबैले आत्मसात गर्दै संविधानको सही कार्यान्वयनमा जोड दिऔँ”, उहाँले भन्नुभयो, “एकले अर्कालाई फेल गराउने नभई सघाउने गरी तीन सरकार अघि बढ्नुको विकल्प छैन ।”

लगानी सम्मेलनपछि नेपालमा लगानीको आकर्षण बढेको उहाँको भनाइ थियो । यसका लागि सरकार पुराना ऐन, कानून सुधार गर्दै लगानीको उपर्युक्त वातावरण बनाउन लागिरहेको उहाँले बताउनुभयो ।

कार्यक्रममा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले संविधान निर्माण जत्तिकै चुनौती कार्यान्वयनमा रहेको बताउनुभयो । विभिन्न तर्क देखाएर प्रदेश र स्थानीय तहलाई कमजोर बनाउने षड्यन्त्र भइरहेको भन्दै उहाँले स्थानीय तह बलियो नभए सङ्घीयता सफल नहुने दाबी गर्नुभयो ।

उद्योग, वाणिज्य तथा आपूर्ति सचिव यामकुमारी खतिवडाले सरकारले लघुउद्यमको विकासमार्फत उत्पादन र रोजगारी बढाउने कार्यक्रमलाई प्राथमिकता राखेको बताउनुभयो । त्यस्तै, वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदीले सङ्घीय सरकारले लघु औद्योगिक ग्राम प्रदेशलाई हस्तान्तरण गरेर सङ्घीयता कार्यान्वयनमा एक कदम अघि बढेको विचार व्यक्त गर्नुभयो ।

कार्यक्रममा मन्त्री यादवले कर्णालीका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिं बुढालाई औद्योगिक ग्रामको स्वामित्व हस्तान्तरणपत्र तथा मन्त्री यादव र कर्णालीका मुख्यमन्त्रीले वीरेन्द्रनगर–७ स्थित घरेलु तथा साना उद्योग विकास समिति परिसरमा निर्माणाधीन औद्योगिक ग्राम हस्तान्तरणसम्बन्धी ताम्रपत्रको संयुक्तरूपमा अनावरण गर्नुभएको थियो । चार ब्लकमा ६२ कोठा रहेको औद्योगिक ग्राम रु १५ करोड १६ लाख लागतमा निर्माण भइरहेको छ । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !