८ जेष्ठ २०८१, मंगलबार

उपभोक्ताको अधिकार सुरक्षित गर्नुपर्नेमा जोड


Nepalpatra

पोखरा, ६ जेठ । व्यापारी तथा व्यवसायीहरु पनि पहिला उपभोक्ता भएकाले सर्वप्रथम सबैले आम उपभोक्ताको अधिकारलाई सुरक्षित पार्नुपर्नेमा जोड दिइएको छ ।

विश्व नापतौल दिवसको उपलक्ष्यमा नेपाल गुणस्तर तथा नापतौल कार्यालय पोखराद्वारा आज व्यापारी÷व्यवसायीलाई गुणस्तर नाप र तौलसम्बन्धी ऐनका बारेमा सुसूचित गराउन आयोजित कार्यक्रममा सहभागीहरुको सो धारणा रहेको थियो ।

कार्यक्रममा कास्कीका निमित्त प्रजिअ श्रीनाथ पौडेलले नयाँ प्रविधिको विकास भए पनि कतिपय अवस्थामा पुराना प्रविधिहरु रहेकाले त्यस्ता प्रविधिलाई हटाउनुपर्ने र उपभोक्तालाई सुसूचित गराउनुपर्ने विषयमा जोड दिनुभयो ।

गुणस्तर तथा नापतौल कार्यालयका प्रमुख सन्तोष शर्माले नयाँ बन्ने ऐनमा उपभोक्तालाई उपकरणको माध्यमबाट ठग्न खोजिएमा दण्ड र सजायको समेत व्यवस्था गरिएको जानकारी गराउनुभयो । राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष कपिलनाथ कोइरालाले सबै उपभोक्ता भएकाले उपभोगको अधिकारलाई सुरक्षित पार्नुपर्ने उल्लेख गर्नुभयो । राष्ट्रिय उपभोक्ता मञ्चका सचिव मिलनप्रसाद तिवारीले नापतौलको नियम कार्यान्वयन नभएकाले उपभोक्ताहरु ठगिने गरिएको बताउनुभयो ।

एकै युनिटको नाप संसारभरि हुनुपर्ने नारासहित सन् १८७५ मई २० मा १७ राष्ट्रले शुरु गरेको सो अभियानमा अहिलेसम्म नेपालसहित १५० राष्ट्र सदस्य भएका छन् । एउटै एकाइ प्रयोगमा ल्याउन सहमत भएर गरेको सन्धिको सम्झनामा विश्वभर आजका दिन नापतौल दिवसका रुपमा मनाउन थालिएको हो ।

नापतौलका उपकरणमा ढक तराजुहरुको प्रत्येक दुई वर्षमा जाँच गराई टाँचा लगाउनुपर्ने, तौल किलोमा, लम्बाइ मिटरमा, तरल पदार्थ लिटरमा र सुन ग्राममा नाप गर्नुपर्नेलगायत विषयका साथै नियमनको सम्बन्धमा बनेको ऐनको विषयमा जानकारी गराइएको थियो ।

मन्त्रिपरिषद्बाट पारित गर्नका लागि पठाइएका नयाँ ऐनहरुमा प्रस्तावित मोहरबन्द नियमावलीमा तौल निर्धारण गरिएअनुरुप हुनुपर्ने तथा बिक्रेताले तौल यन्त्र राख्नुपर्ने उल्लेख गरिएको विषयमा पनि अवगत गराइएकोे थियो । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !