३० कार्तिक २०८१, शुक्रबार

छोराको घर होइनरे त्यो ! त्यो त बुहारीको घरअरे!!


bharat bhandari

“चिया आयो चिया,भाइ!चिया खाने? आफैँले बनाको,राम्रो छ बाबु”, कता कता चिने जस्तो लागेर एक छिन टोलाएर हेरेँ।”भाई! चिईईईइ—या” बिस्तारै बोली कम गरिन उन्ले। फरियाको छेउले मुख छोपे जस्तो गरेर हत्तपत्त दुबैहातमा थर्मस बोकेर लुसुक्क हिँडीन उनी। एक बर्ष अघाडी दशैँमा घर जाँदा भेटेको ठुलाघरे काकी एक्कासी एकबर्ष पछी काठमाण्डौको बालाजुको बसपार्कमा थर्मसमा चिया बोकेर हिँडेको देखेर दङ्गपरेँ म।

पोहोर साल दशैँमा घर जाँदा उनीले सोधेको थिइन् “अनी बाबु! डेरा भाडा कती छ?” मैले कोठाभाडा बताएपछी उनिले भनेकी थिईन् “आम्मै! हो र ? हाम्रो छोराले त घरै बनाको छ काठमाण्डौमा”। निकै खुशी देखिन्थिन ठुलाघरे काकीआमा। छोरो टिकाको अघिल्लो दिन घर आउने भनेर मख्खै थिइन् बुढिया।

अल्ली पर पुगेकी काकी लाइ नदेख्ने गरी पछ्याएँ। बसपार्क पेट्रोलपम्पको पछाडीपट्टी गएर रोकिइन् बुढिया। मलाइ छेउमै देखेर साह्रै ननिको मानिन उनिले। गाउँमा सबैलाइ निशुल्क चिया बनाएर खुवाउने काकीआमा यहाँ पैशा लिएर चिया बेच्दै गरेको देखेर अलि असहज भयो मलाइ। एक छिन नियालेँ उनीलाइ। कस्तो दुब्लाइ छिन्, आँखा पनि बसेका, खुस्स परेको, उडेको अनुहार। गाउँमा छँदा सँधै कानभरी सुन लगाउने, गलामा नौ गेडी, अकबरी तिलहरी, पारानै अर्कै थियो काकीको। खै? शरिर मा कुनै सुन छैन, कस्तो उराठलाग्दो भइछिन काकीआमा त।
“अनी काकि, तपाइँ किन यसरी मलाइ देखेर भागेको?,मचैँ काकीकोमा चिया खान आएको, हजुर चैँ…..,”

मुसुक्क हाँसेर काकीले भनिन् “हैन बाबु! म त यहाँ चिया पुर्याउन आको, त्यहाँ…. उ.. त्यहाँ..,हास्न खोजेको उन्को अनुहार निलो भयो, बोली बन्द भयो, हेर्दा हेर्दै आँखा रसिला भए, फरियाको छेउले मुख छोपेर उता फर्किइन्। काकीको अनुहार र प्रस्तुतीले असिम पीडाको सङ्केत गर्दै थियो।
“भुकम्पले घर भत्किएपछी गाउँमा घर भएन, छोराले कर गरेर यता आइयो”।
“गाउँमा दुख हुन्छ, अब कती दुख गर्ने, शहरमै जाउँ भनेर कर गर्यो,पैले त मानेको थिइन”।
“अनी यस्तो चाहीँ कसरी भयो काकी ?”
“खै बाबु ! के भन्ने ? छोरो ले घर बनाछ काठमाण्डौमा भनेर आको तर घर त बुहारिको अरे!” हिक्कै गरिन बुढियाले।
“मैले बुझिन नि काकी?”
“छोराको घर होइन रे त्यो, त्यो त बुहारिको घरअरे,”

“बिस्तारै हिँड्यो चोर हिडेको जस्तो भन्छे,अल्ली छिटो हिँड्यो घरै भत्काउन लागी बुढीले भन्छे,म फोहोरी अरे, मेरो लुगै गन्हाउँछ भन्छे,जे गरे पनि हुँदैन उस्लाइ, केही न केही खोट लागाएर कराउँछे, अरु के भन्ने बाबु! भनी सध्य छैन” हिक्क हिक्क भयो उनीलाई।
“छोरी र म निस्कियौँ घर बाट, छोरीलाइ पढाउन भने पनि यहिँ बसेँ बाबु, काम देखिहालौ।”
“अनी किन गाउँ नगएको त काकी? गाउँमा पालै मा बसे पनि हुन्थ्यो नि बरु!”
“म गाउँ फर्के पछी छोराको इज्यत जान्छ बाबु, दुनियाले के भन्लान्? एउटा आमा पनि पाल्न सकेन भन्छन्,मैले घुँडो मुन्टो गरी हुर्काएर पढाएको छोराको बेइज्यात भएको कसरी सहनु?”
“अनी तपाइको यो गती भएको छोराले कसरी सह्यो होलात?”
“यदी आमाको पीडा छोराले बुझिदिने भए यो संसारमा कुनै पनि आमाले दुख पाउने थिएनन् बाबु!आमाको पीडा त छोरीले मात्र बुझ्छे त्योपनि उ आमा बने पछी मात्र ।”
चिया खाने मान्छे आएपछी काकी चिया भर्दै गर्दा उन्को आँखाबाट तप्केको दुइथोपा आँशु तप्प चियामा पर्यो ।

“दशैँ आउँदैछ, भाडा तिर्नुपर्यो, छोरीको क्याम्पस्को फिस पनि तिर्नुपर्यो। तर कमाइ राम्रै छ बाबु, गाउँमा त्यत्रो खेती पाती धानेर बस्या हुँ, दुख गर्न बिर्स्या छैन, छोरी पढाउँछु, एसैले साथ दिन्छे बुढेस् काल मा” एकै सासमा भनिन काकीले।

काकीको कुराले झस्कायो मलाइ। म पनि छोरा हुँ, कतै आफुबाट पनि एस्तै केही भयोकि भन्ने प्रश्न उब्जियो मनमा। काकीलाइ जान्छु पनि नभनी उठिएछ त्यहाँबाट। ब्यस्त सडक हरुको खचाखच गाडीहरुको आवाजले झसङ्ग बनाइदियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !