९ असार २०८१, आइतबार

दुई करोडको लागतमा मन्दिर निर्माण


तीन करोड

बेझाड, २९ वैशाख । धार्मिक पर्यटन विकास गर्न रामपुरमा रु दुई करोडको लागतमा वरुणेश्वर महादेवको मन्दिर निर्माण थालिएको छ । रामपुर नगरपालिका–५ स्थित चिप्लेढुङ्गामा कलात्मक, ऐतिहासिक, पित्तलको छानो भएको सो मन्दिर निर्माण गर्न लागिएको हो ।मन्दिरका लागि नगरपालिकाले रु २० लाख उपलब्ध गराएको छ । २० रोपनी जमीनमा फूलबारी, उद्यान र १०० तीर्थालु अटाउने धर्मशालासहितको मन्दिर निर्माण गर्न लागिएको समितिका अध्यक्ष कृष्णप्रसाद भण्डारीले बताउनुभयो ।

“आफ्नै गतिमा बहेको बहखोलालाई दायाँ र बायाँ दुई स्थानमा बग्न दिने र बीचको भागमा कलात्मक खालको मन्दिर यस क्षेत्रकै नमूना मन्दिर हुने योजनाका साथ अघि बढेका छौँ”, उहाँले भन्नुभयो । प्रदेश सरकारको अर्थ र पर्यटन मन्त्रालयमा थप रकम निकासाका लागि योजना पेश गरिएकामा सकारात्मक जवाफ आएको बताइएको छ ।राष्ट्रिय गौरवकै आयोजना कालीगण्डकी करिडोर सडकसँगै जोडिएकाले यो सडक भएर मुक्तिनाथ, देवघाट, मानसरोवर जाने तीर्थयात्रुलाई पनि दर्शन गराउने उद्देश्यका साथ मन्दिर निर्माण शुरु गरिएको समितिका उपाध्यक्ष रामचन्द्र भट्टराईले बताउनुभयो । यही क्षेत्रमा भगवान् रामले त्रेतायुगमा तपस्या गरेकाले रामपुर क्षेत्रलाई विश्वसामु सुन्दर धार्मिक पर्यटकीय नगरीका रुपमा चिनाउने परिकल्पनाका साथ यहाँका स्थानीयवासी लागिपरेका छन् ।

विसं २०७५ जेठ ६ गते सोमबार बहखोला किनारमा शिवलिङ्ग फेला परेकाले पनि यो क्षेत्रलाई धार्मिक पर्यटकीय नगरीका रुपमा विकास गर्न स्थानीयवासी लागेका हुन् । शिवलिङ्गलाई स्थानीयवासीले पूजा गर्नाका साथै संरक्षण गर्दै आएका छन् । यसैगरी उक्त नगरपालिका–५ स्थित बेझाड बजार नजिकै भौतिक पूर्वाधारसहितको सुविधासम्पन्न रामजानकी मन्दिर निर्माण भइरहेको छ । रामचुलोको ऐतिहासिक तथा धार्मिक महत्व जोगाउन त्रेतायुगमा भगवान् रामले वनबास जाने क्रममा भात पकाएर खाएको रामचुलो परिसरमा रु १० करोडको लागतमा सो मन्दिर निर्माण भइरहेको हो ।

दुई तलाको मन्दिर, सत्तल, दुई भवनलगायत सुविधासम्पन्न विभिन्न भौतिक पूर्वाधार निर्माणका कार्य भइरहेको मन्दिर संरक्षण समितिका अध्यक्ष फणेश्वर गौतमले बताउनुभयो । “आन्तरिक तथा बाह्य धार्मिक पर्यटन विकासका गर्न, रामचुलोको ऐतिहासिक धार्मिक महत्वलाई बचाइराख्न रामचुलो परिसरमा मन्दिरसँगै विभिन्न भौतिक संरचना निर्माण गर्न लागेका हौँ”, उहाँले भन्नुभयो । स्थानीयवासीको पहलमा विसं २०७१ माघमा श्रीमद्भागवत् धान्याचल ज्ञान महायज्ञ सञ्चालन गरिएको थियो । सो महायज्ञबाट रु दुई करोड ४२ हजार नगद तथा जिन्सी सङ्कलन गरी मन्दिर निर्माण थालिएको समितिका सचिव गुरुप्रसाद रेग्मीले जानकारी दिनुभयो

१७२ विद्यार्थीलाई झोला र शैक्षिक सामग्री

लायन्स क्लब अफ श्रीनगर पाल्पा शाखाले १७२ विद्यार्थीलाई झोला र शैक्षिक सामग्री वितरण गरेको छ । निस्दी गाउँपालिका–४ मुढाबासस्थित जलदेवी आधारभूत विद्यालयका १२३ र पूर्वखोला गाउँपालिका–३ मा रहेको बाराही प्राथमिक विद्यालयका ४९ विद्यार्थीलाई क्लबले विद्यालयमा नै पुगेर ती सामग्री वितरण गरेको हो ।यहाँ अध्ययनरत बालबालिकालाई शिक्षामा सहयोग पुगोस् भन्ने उद्देश्यले सो सामग्री वितरण गरिएको क्लबका अध्यक्ष झमनराज मगरले जानकारी दिनुभयो । यसैगरी उक्त क्लबले पूर्वखोला गाउँपालिका–३ स्थित बाराही प्राथमिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई लायन्स क्लब अफ रानीमहल पाल्पा शाखाको सहकार्यमा ४९ विद्यार्थीलाई झोला र शैक्षिक सामग्री वितरण गरेको छ ।दुर्गम भेगमा अवस्थित अतिविपन्न परिवारका बालबालिका आधारभूत शैक्षिक सामग्रीको अभावले विद्यालय नियमित नजाने गरेकाले उनीहलाई नियमित विद्यालय जाने बानी बसाल्न र पढाइमा प्रोत्साहन दिलाउन क्लबले विभिन्न सामग्री सहयोग गर्दै आइरहेको हो । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !