कञ्चनपुर, २६ वैशाख । सार्की समुदायको पुख्र्याैली पेशालाई जोगाउनका लागि कञ्चनपुर बेदकोट नगरपालिका–४ बैतोडामा छाला प्रशोधन केन्द्र सञ्चालनमा ल्याइएको छ ।
विशुद्ध जैविक वस्तुहरुको प्रयोग गरी छाला प्रशोधनको कार्य अगाडि बढाउनका लागि केन्द्र सञ्चालनमा ल्याइएको हो । वन क्षेत्रमा सडेर जाने वनस्पतिका पातपतिङ्गर, चुना र नुनको प्रयोग गरी परम्परागत जैविक विधिबाट छाला प्रशोधनको कार्य भइरहको केन्द्रका सञ्चालक राजुराम भुलले बताउनुभयो ।
पहिले हाम्रा पुर्खाले पहाडमा यो पेशा परम्परागत जैविक विधिको प्रयोग गरी छाला प्रशोधनको कार्य गरी जुत्ता बनाउने कार्य गर्दै आएका थिए । उहाँले भन्नुभयो, “बसाइँसराइका क्रममा सँगै तराई झरेपछि परम्परागत पेशालाई निरन्तरता दिन खोजेका छौँ ।”
विसं २०६४ मा बैतडा सामुदायिक वन र डब्लुटिएलसिपीको सहयोगमा छाला प्रशोधन केन्द्र सञ्चालन भए पनि विसं २०६७ को बाढीले प्रशोधन केन्द्र बगाएपछि कार्य सञ्चालन हुन सकेको थिएन । बेदकोट छाला प्रशोधन केन्द्र सञ्चालनका लागि बेदकोट नगरपालिकाले रु १५ लाखको लागतमा भवन निर्माण गरिएको छ । भवन निर्माणका लागि स्थानीयवासी गणेश भुलले १० धुर जग्गा निःशुल्क प्रदान गरेका छन् ।
“मेशिनरी जडानका लागि एब्लुडब्लु एफ, बेदकोट नगरपालिका, बैतोडा सामुदायिक वनले आर्थिक सहयोगका लागि वचन दिएका छन् । सम्झौता हुने प्रक्रियामा रहेको छ”, भुलले भन्नुभयो । पुर्खौंदेखि छालाको कार्य गर्दै आएका सार्की समुदायको जीविकोपार्जन गर्नका लागि सामूहिक उद्योग भएकाले यसको वैधानिकता कायम गर्नका लागि सरकारी निकायमा दर्ता गरेर अघि बढ्ने योजना रहेको दानी भुलले बताउनुभयो ।
सुदूरपश्चिम प्रदेशकै पहिलो छाला प्रशोधन (केन्द्र) उद्योग भएकाले बेदकोट नगरपालकाले यसलाई गौरवका रूपमा लिएको छ, रङ्गी भुलले भन्नुभयो, “उद्योगले बेदकोट नगरपालिकालाई समृद्ध बनाउनमा टेवा पु¥याउनेमा विश्वस्त छौँ ।”
पछिल्लो चरणमा घरपालुवा पशुचौपाया पालनमा कमी आइरहेकाले केही चुनौती भने थपिएको छ । यद्यपि प्रदेशभर छाला सङ्कलन गर्नका लागि प्रदेश सरकारले कानून बनाएको खण्डमा उद्योग सञ्चालनमा बाधा नपुग्ने उहाँको भनाइ छ ।
चालू हालतमा रहेका शहर बजारका बधशालाहरूलाई व्यवस्थित गर्न सके मात्रै पनि उद्योगका लागि आवश्यक पर्ने कच्चापदार्थ काँचो पदार्थ छाला उपलब्ध हुन सक्ने स्थानीयवासी राजुराम बताउनुहुन्छ । उद्योगले परीक्षणका रुपमा अहिले छाला प्रशोधनको कार्य गरिरहेको छ । व्यावसायिक उत्पादन असोजदेखि शुरु गर्नेे योजना रहेको बताइएको छ । उद्योगले व्यावसायिक उत्पादन शुरु गरेमा कम्तीमा १० देखि १४ जनाले रोजगारी पाउने सञ्चालकको दाबी छ ।
उद्योगबाट प्रशोधन भएको छालाबाट हस्तकलाका सामग्री बनाई विदेशमा निर्यात गर्ने उद्योग सञ्चालकहरु बताउनुहुन्छ । उद्योग सञ्चालनले कुहेर जाने छालाका कारण हुने वातावरण दूषित नहुने र छाला प्रशोधनपछि निस्कने फोहरबाट जैविक मल बनाउन सकिने भएकाले यसबाट कृषि उत्पादनमा समेत टेवा पुग्ने बताइएको छ । (रासस)