२० कार्तिक २०८१, मंगलबार

दलित जनप्रतिनिधिलाई तालीम


Nepalpatra

दुल्लु, २५ वैशाख । दलित समुदायबाट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिले तालीम लिएका छन् । कर्णाली प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयको सहयोग, जिसस दैलेखको आयोजना र दलित जागरण केन्द्रको सहकार्यमा दैलेखका ११ वटै स्थानीय तहमा निर्वाचित दलित जनप्रतिनिधिलाई तीन दिने क्षमता विकास तालीम दिइएको हो ।

सङ्घीय संरचना कार्यान्वयनका लागि दलित समुदायबाट स्थानीय तहमा प्रतिनिधित्व गर्ने जनप्रतिनिधिको क्षमता विकास गर्ने उद्देश्यसहित तालीम सञ्चालन गरिएको थियो । तालीममा दलित जनप्रतिनिधिलाई नगरसभा र गाउँपालिका तथा कार्यपालिका बैठकमा प्रभावकारी उपस्थिति, स्थानीय तहमा प्रशासनिक जिम्मेवारीलगायतका विषयमा अभिमुखीकरण दिइएको जिल्ला समन्वय समिति दैलेखका प्रमुख प्रेमबहादुर थापाले बताउनुभयो ।

प्रमुख थापाले दलित समुदायबाट निर्वाचित जनप्रतिनिधिलाई सशक्त हुनुपर्ने बताउनुभयो । “स्थानीय तहका प्रमुख, उपप्रमुख, वडाध्यक्ष, कर्मचारीले गलत कार्य गरेमा खबरदारी गर्नुहोस्”, प्रमुख थापाले भन्नुभयो, “तपाईं जनप्रतिनिधिको क्षमता विकास नभएसम्म अन्य समुदायको क्षमता विकास हुन सक्दैन ।”

तालीम अवधिभर दैलेखका प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बाँस्कोटा, जिल्ला सरकारी वकिल पदम सापकोटा, रमा श्रेष्ठ, अमर सुनारलगायतले दलित जनप्रतिनिधिलाई अभिमुखीकरण गर्नुभएकोे थियो । दैलेख जिल्लाका ११ वटा स्थानीय तहका नगर तथा गाउँसभामा ३२ जना सदस्य, ९० वटै वडामा निर्वाचित दलित महिला सदस्य, १८ जना खुला सदस्य र दुई वडाध्यक्ष गरी १४२ दलित समुदायबाट निर्वाचित जनप्रतिनिधि छन् । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !