१३ आश्विन २०८१, आइतबार

प्रोटोकल कार्यान्वयनको प्रयासमा सरकार


Nepalpatra

काठमाडौँ, २४ वैशाख । सरकारले चीनसँग हालै भएको पारवहन ढुवानी सम्झौताको प्रोटोकल कार्यान्वय प्रयास थालिएको बताएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले प्रोटोकल कार्यान्वय गर्न चीनका सुक्खा र समुद्री बन्दरगाहबाट सामान छुटाउने, आयात प्रक्रिया, आवश्यक पर्ने कागजात, ढुवानी खर्च दूरी र समय अध्ययन गर्न विशेषज्ञसहितको टोली चीनतर्फ प्रस्थान गर्ने प्रक्रियामा रहेको बताउनुभयो ।

आज अपराह्न सञ्चारकर्मीमाझ उहाँले भन्नुभयो, “पारवहन यातायात सम्झौता र उक्त सम्झौताको प्रोटोकलको कार्यान्वयनको अवस्थाका बारेमा पुनरावलोकन गर्न नेपाल सरकारको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव र चीनको यातायात मन्त्रालयका सचिवस्तरमा एक संयुक्त परामर्श संयन्त्र बनेको छ ।” त्यसैगरी प्राविधिक विषयमा छलफल गर्न ती दुवै देशका ती निकायका सहसचिव र महानिर्देशक स्तरमा संयुक्त परामर्श समिति गठन भएको जानकारी पनि उहाँले दिनुभयो ।

सुक्खा तथा सामुद्रिक बन्दरगाह प्रयोग गर्न तीन वर्षअघि नेपाल र चीनबीच पारवहन ढुवानी सम्झौता भएको थियो भने यही वैशाख १६ गते उक्त सम्झौताको प्रोटोकलमा हस्ताक्षर भएको हो । उक्त प्राटोकल हस्ताक्षर भएसँगै लागू भएको छ जसले चीनको भूमि हँुदै जापान कोरियालगायत तेस्रो देशबाट वस्तु आयात–निर्यात गर्न पारवहन मार्ग खुला भएको छ ।

यसैबीच सचिव अधिकारीले भूकम्पका कारण बन्द भएको तातोपानी नाका आगामी जेठ ६ गतेदेखि सञ्चालन हुने बताउनुभएको छ ।

“चिनियाँ पक्षले उक्त दिन नेपाल सरकारलाई औपचारिक रुपमा हस्तान्तरण गर्ने जानकारी दिएको छ, हाम्रोतर्फबाट पनि तत्काल शुरु हुन्छ,” नेपालतर्फका सडक पूर्वाधार सडक विभागले मर्मतसम्भार गर्ने विश्वास व्यक्त गर्र्दै उहाँले भन्नुभयो । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !