१३ आश्विन २०८१, आइतबार

८९औँ समाज सुधार दिवस


Nepalpatra

पाँचथर, २४ वैशाख । सोह्रौँ राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनले विसं १९८८ वैशाख २४ गते पाँचथर जिल्लाको फिदिम नगरपालिका–५ लब्रेुकुटी चोकमागुमा धार्मिक सुधारका लागि सात बुँदे सत्य धर्म मुचुल्का (धार्मिक घोषणा पत्र) जारी गर्नुभएको थियो ।

सोही दिनको सम्झनामा किरात धर्म अनुसार ८९औँ समाज सुधार दिवस लिङ्देनको तमोभूमि लब्रेबुटीमा आज विभिन्न कार्याक्रम गरेर मनाइएको छ । फाल्गुनन्द लिङ्देनले जारी गर्नुभएको विभिन्न बुँदालाई किराती समुदायले सत्य धर्म मुचुल्काका रुपमा स्वीकार गरेका छन् ।

ती सात बुँदा किराती समुदायमा कायम रहेका कूरीति, कुसंस्कारको अन्त्य गर्न कोशेढुङ्गो सावित भयो । उक्त बुँदामा सबैले शान्तिको बाटो हिँड्नुपर्ने, कसैलाई हिंसा गर्न नहुने, मिल्दोजुल्दोरुपमा संस्कृति परम्परा चलाउनुपर्ने, अर्काको घरपरिवार बिगार्नु नहुने, जाँड, रक्सी खान नहुनेजस्ता सुधारका प्रमुख बुँदा थिए ।

किरात धर्म तथा साहित्य उत्थान सङ्घ जिल्ला शाखा पाँचथरको आयोजनामा लब्रेकुटीमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको थियो । कार्यक्रम जिल्ला समन्वय समितिका प्रमुख विष्णुप्रसाद सापकोटा, प्रमुख जिल्ला अधिकारी मुरारी वस्ती, विभिन्न पार्टीका नेतालगायतको सहभागिता थियो । कार्यक्रमका अधिकांश वक्ताले लिङ्देनले तपस्या गरेको लब्रेकुटीलाई अन्य धार्मिक भूमि जस्तै विकास गरेर लैजानुपर्ने बताउनुभएको थियो ।

लिङ्देनको जन्मजयन्ती कात्तिक २५ गते पर्दछ । यस दिनलाई समेत विशेष दिनका रुपमा मनाउने नेपाल सरकारले निर्णय गरिसकेको छ । फाल्गुनन्दको जन्म १९४२ साल कात्तिक २५ गते इलाम चारखोलाको चुक्चिनाम्बामा भएको हो । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !