१३ आश्विन २०८१, आइतबार

महानगरद्वारा ४४ बिघा जग्गा संरक्षण


Nepalpatra

चितवन, २४ वैशाख । देशभर सार्वजनिक जग्गा अतिक्रमणका घटना सार्वजनिक भइरहेका बेला भरतपुर महानगरपालिका संरक्षणमा लागेको छ । महानगरले एक वर्षअघि सार्वजनिक जग्गा खोजबिन व्यवस्थापन समिति गठन गरी संरक्षणमा लागेको हो ।

महानगरपालिकाले हालसम्म ४३ बिघा ११ कट्ठा १७ धुर जग्गा खोजबिन गरी संरक्षण गरिसकेको छ । समितिका संयोजक एवम् वडा नं १० का अध्यक्ष अरुणपीडित भण्डारीका अनुसार समितिले जग्गा खोजी गरी विस्तृत विवरणसहितको बोर्ड राख्ने काम गरिरहेको छ ।

महानगरपालिकाले दिएको जानकारीअनुसार वडा नं २ को पुङ्गीखोला नजीक ६ कट्ठा १० धुर, वडा नं ३ अन्तर्गत शान्तिमार्गस्थित ६ धुर, सोही वडाको मजुवा क्षेत्रमा ३५ बिघा ११ कट्ठा ११ धुर, वडा नं ४ को त्रिचोकमा सात धुर जग्गा खोजबिन गरी संरक्षण गरिएको छ ।

यसैगरी वडा नं ४ र ५ को सिमानामा रहेको बुढाथोकी घोलमा पाँच कट्ठा, वडा नं १० को चित्रसेन टोलमा ६ धुर, वडा नं ११ को लामागाउँमा ६ कट्ठा, वडा नं १२ को धनगढा मन्दिर नजीक तीन कट्ठा १५ धुर, वडा नं २० को गौचरन अगाडि तीन कट्ठा १० धुर, वडा नं २१ को मणिपुरमा १७ कट्ठा, वडा नं २२ को घडगाईमा चार बिघा १० कट्ठा, राप्ती किनारमा तीन कट्ठा १० धुर, पदमपोखरीको दुर्गामन्दिर नजीक पाँच कट्ठा दुई धुर र वडा नं २३ को खड्गौली चोक नजीक १९ कट्ठा जग्गा संरक्षण गरिएको छ ।

भण्डारीले ती जग्गा व्यक्ति र संस्थाले चर्चेको, झाडी अवस्थामा रहेको पाइएको बताउनुभयो । सबै वडा कार्यालयमार्फत सूक्ष्मरुपमा जग्गाको खोजबिन भइरहेको छ । महानगरभित्र कम्तीमा पाँच सय बिघा सार्वजनिक जग्गा संरक्षणविहीन अवस्थामा रहेको अनुमान गरिएको उहाँले बताउनुभयो ।

महानगर प्रमुख रेनु दाहालले सार्वजनिक जग्गाको खोजबिन र संरक्षण गर्ने जिम्मेवारी स्थानीय तहलाई दिएकाले झण्डै एक वर्षयता समिति गठन गरी काम भइरहेको बताउनुभयो । देशका प्रमुख शहरमा सार्वजनिक जग्गा अतिक्रमण भइरहेको समाचार सार्वजनिक भइरहेका बेला महानगरले भने एक वर्षअघि देखि नै गरिरहेको काम सार्थक बन्दै गइरहेको उहाँले बताउनुभयो ।

सार्वजनिक जग्गा संरक्षण हुन नसकेको पाइएमा तत्काल सूचना दिन सबैसँग आग्रह गर्दै उहाँले सहयोगका लागि अपिल गरिँदै आएको बताउनुभयो । पहिलो चरणमा जग्गा संरक्षण गर्ने र दोस्रो चरणमा आवश्यकताअनुसार सार्वजनिक हितमा प्रयोग गरिने बताउनुभयो । हाल भेटिएका जग्गामा वडा कार्यालयदेखि अटोल्याण्ड निर्माणसम्मका काम अघि बढाइएको छ ।

सडक विस्तारसँगै वडाध्यक्षविरुद्ध मुद्दा

भरतपुर महानगरपालिकामा विकास निर्माणका कामले गति लिएसँगै वडाध्यक्षहरुविरुद्ध अदालतमा मुद्दा पर्न थालेका छन् । मुख्य रुपमा सडक विस्तारका क्रममा जग्गा मिचिएको भन्दै असन्तुष्ट उपभोक्ताले मुद्दा दायर गरेका हुन् ।

महानगरपालिकाका कानून अधिकृत खगेश्वर अधिकारीका अनुसार वडा नं १२ का अध्यक्ष नरेन्द्र कन्दङ्वाविरुद्ध बाटो विस्तारका क्रममा आफ्नो जग्गा मिचिएको भन्दै उच्च अदालत हेटौँडामा मुद्दा दायर भएको छ । त्यहीका उपभोक्ता अच्युत पहाडीले पहिलेको भन्दा बाटो विस्तार गर्ने क्रममा आफ्नो जग्गा मिचिएको भन्दै मुद्दा दायर गर्नुभएको हो । वडा नं ९ का अध्यक्ष यमलाल कँडेल र उपभोक्ता समितिका अध्यक्षविरुद्ध स्थानीय पदमबहादुर केसीसहित १५ जनाले निषेधाज्ञा माग गर्दै जिल्ला अदालतमा मुद्दा दायर गरेका छन् ।

यसैगरी वडा नं ३ का अध्यक्ष चन्द्रमित्र पण्डितविरुद्ध उहाँकै टोलका गङ्गा रिजाल कँडेलले आफूले भोगचलन गर्दै आएको जग्गा सार्वजनिक भनी हड्पेको भनी जिल्ला अदालत चितवनमा मुद्दा दायर गर्नुभएको छ । वडा नं १० का अध्यक्ष अरुणपीडित भण्डारीविरुद्ध स्थानीय भैरवप्रसाद न्यौपानेले लुटपिट मुद्दा जिल्ला अदालतमा दायर गर्नुभएको छ । विवाद मिलाउने क्रममा असन्तुष्ट भई आफ्नो निर्माण सामग्री लुटिएको भन्दै मुद्दा दर्ता गरिएको हो ।

वडा नं २३ का अध्यक्ष नरिनारायण पौडेलविरुद्ध स्थानीय उपभोक्ताले महानगरपालिकामा मुद्दा दर्ता गरेका छन् । भोगचलन भइरहेको बाटोलाई साँघुरो बनाएको आरोपमा मुद्दा दायर गरेका हुन् । महानगरपालिकाका उपप्रमुख पार्वती शाहले सानातिना विवाद सकेसम्म महानगरबाट मिलाउनका लागि आफू लागिपरेको बताउनुभयो ।

महानगरप्रमुख दाहालले विकास निर्माण र सार्वजनिक जग्गा खोजबिनका क्रममा मुद्दा परेको भन्दै महानगरले आवश्यक प्रमाण पेश गर्ने बताउनुभयो । विकास निर्माणमा सघाउन उहाँले सबैसँग आग्रह पनि गर्नुभयो । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !