१३ आश्विन २०८१, आइतबार

कृषि सडकको निरीक्षण


Nepalpatra

भरतपुर, २४ वैशाख । प्रदेश नं ३ का भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री दावा दोर्जे लामाले आज चितवनको राप्ती नगरपालिकामा निर्माण भएका कृषि सडकको निरीक्षण गर्नुभएको छ ।

राप्ती नगरपालिका–११ को हात्तीढाप–सुरखण्डी–चौघोडा कृषि सडकको मन्त्री लामाले स्थलगत निरीक्षण गर्नुभएको हो । प्रदेश सरकारले विनियोजन गरेको रु ५० लाख को लागतमा सडक निर्माण गरिएको हो । चार किलोमिटर लामो सडक निर्माणपछि स्थानीय खुशी भएका छन् ।

अनुगमनपश्चात् मन्त्री लामाले सडक निर्माणको काम राम्रो भएको बताउनुभयो । उहाँले भन्नुभयो, “आगामी दिनमा यो सडकलाई नालीसहितको उच्चस्तरीय ग्राभेल गर्ने योजना छ । यसले यहाँ उत्पादन भएका कृषिजन्य वस्तुलाई बजारीकरणका लागि सहयोग पुग्नेछ ।”

हात्तीढाप–चौघोडा क्षेत्रमा मकै, तोरी र मासको राम्रो उत्पादन हुने क्षेत्र हो । सो क्षेत्रमा व्यावसायिक बाख्रापालन पनि हुने गरेको छ । किसानले उत्पादन गरेका वस्तु सहजरुपमा बजारसम्म पु¥याउन सडक सहयोगी बन्ने मन्त्री लामाले बताउनुभयो । यो सडकलाई सिद्धिसम्म जोड्ने योजना रहेको मन्त्री लामाले जानकारी दिनुभयो ।

“भौगोलिक विकटताका कारण पहाडी क्षेत्रका नागरिकले धेरै दुःख भोगेका छन्”, उहाँले भन्नुभयो, “सडककै कारण एम्बुलेन्स आउन सक्ने अवस्था छ्रैन । मैले पनि कैयौँपटक बिरामी बोकेर अस्पतालसम्म पु¥याएको छु ।” मन्त्री लामाले यस वर्ष प्रदेशमा १०० कृषि सडक निर्माणाधीन अवस्थामा रहेको बताउनुभयो ।

सो सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष रुपेश लामाले गाउँमा पहिलोपटक सडक निर्माण भएको भन्दै स्थानीय उत्साहित भएको बताउनुभयो । यस्तै मन्त्री लामाले आजै राप्तै नगरपालिका– ११ कै आँपपानी–शैथली–आनेवाङ सडकको पनि निरीक्षण गर्नुभयो । सो सडकमा पनि प्रदेश सरकारले रु ५० लाखको बजेट विनियोजन गरेको छ । आँपपानी–शैथली–आनेवाङ धेरै गोलभेडा उत्पादन हुने क्षेत्र हो । सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष हिरालाल तामाङले सडक निर्माणपछि दैनिकरुपमा आवतजावतका लागि सहज भएको बताउनुभयो । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !