१४ आश्विन २०८१, सोमबार

सुरौदी जलाधारको संरक्षण गर्दै समृद्धिको प्रयास


१३ वैशाख, पोखरा । खोलाको कटान नियन्त्रण हुन नसक्दा उब्जाउयोग्य जमीन वर्षेनी बगरमा परिणत हुँदै गएपछि यसको संरक्षणमा जोड दिन थालिएको छ । कास्की, तनहुँ र स्याङ्जा तीन जिल्ला भएर बग्ने सुरौदी खोलाले वर्षेनी खेतीयोग्य जमीन कटान गरेपछि जलाधार संरक्षणको प्रयास थालिएको हो ।

सुरौदी खोला किनारका जमीन वर्षौंदेखि जलाधार संरक्षणको अभावमा उपयोगविहीन बनेको जमीनको गण्डकी प्रदेश सरकारको सहयोगमा संरक्षण र उपयोगको प्रयास थालिएको हो ।

कृषिका अतिरिक्त जल पर्यटनको पर्याप्त सम्भावना रहेको सुरौदी खोलालाई संरक्षण गर्दै यसको सदुपयोग गर्नसके यहाँको आर्थिक समृद्धिका लागि महत्वपूर्ण आधार बन्ने पोखरा महानगरपालिका–३३ का अध्यक्ष शिवप्रसाद आचार्यले बताउनुभयो ।

यस क्षेत्रको संरक्षण हुन नसक्दा केबल वर्षेनी कटान तथा भूक्षय मात्र बढ्दै गएकाले वडा कार्यालयको विशेष पहलमा जलाधार क्षेत्रको धुस्रेनी खोलाबाट खारखोलासम्मको छ किलोमिटर दूरीमा करीब रु साढे सात करोडको लागतमा व्यवस्थित कुलो निर्माण गरिने भएको उहाँले जानकारी दिनुभयो ।

“कुलो निर्माणसँगै सुरौदी जलाधार क्षेत्रअन्तर्गत धुस्रेनी–खारखोला खण्डकोे करीब १६५ हेक्टर क्षेत्रफल जग्गामा सिँचाइ पुग्नेछ”, उहाँले भन्नुभयो । उर्बर भूमि नजिकै खोला भएर पनि सिँचाइबाट वञ्चित भएको अवस्थालाई दृष्टिगत गरी कुलो निर्माण गर्न लागिएको जानकारी दिँदै वडअध्यक्ष आचार्यले कुलो सम्पन्न भएसँगै यसले स्थानीयवासीलाई स्वरोजगार सिर्जना गर्न महत्वपूर्ण सहयोग पु¥याउने विश्वास व्यक्त गर्नुभयो । योजनाअन्तर्गत कुलोसँगै आवतजावत गर्न व्यवस्थित बाटोसमेत निर्माण गरिने उहाँले जानकारी दिनुभयो ।

सुरौदी खोला संरक्षणविहीन बन्दै गएपछि दुई वर्षअघि जलाधार क्षेत्रका सरोकारवालाको सक्रियतामा सुरौदी जलाधार संरक्षण समिति गठन गरिएको थियो । जलधारको संरक्षण र उपयोगका लागि समितिका माध्यमबाट विभिन्न जनचेतनामूलक कार्यक्रम गरिएको समितिका अध्यक्ष मनराज गुरुङले जानकारी दिनुभयो ।

कास्की, स्याङ्जा र तनहँु तीनवटै जिल्लाका उपभोक्ता सम्मिलित समितिले विषादीको प्रयोगबाट खोलामा माछा मर्दै गएको अवस्थालाई दृष्टिगत गरी यस विषयमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेको थियो ।

“शुरुमा जनचेतना अभिवृद्धिकै लागि माछा मार्नसमेत नियन्त्रण गरेका थियौँ,” उहाँले भन्नुभयो, “अहिले सर्वसाधारणमा पनि जलाधारको संरक्षणका साथै साथै माछा मार्न विषादी प्रयोग गर्न हुँदैन भन्ने चेतना पलाएको छ ।” गुरुङका अनुसार जलाधारको संरक्षण र उपयोग गर्नसके स्याङ्जाको प्युरीदोभानदेखि कास्कीको दोपहरे, छहरा, चवादी हुँदै तनहँुको घारी बगरसम्मका अधिकांश खेतीयोग्य भू–भाग सुरौदी खोलाको पानीले सिँचाइ गर्न सकिनुका साथै माछापालन यहाँको राम्रो आम्दानी बन्न सक्ने देखिन्छ ।

सुरौदी खोलामा जल पर्यटनको पनि उत्तिकै सम्भावना रहेको र दीर्घकालीन रुपमा खोलालाई निश्चित बाटोमा हिँडाउन ठाउँठाउँमा तटबन्ध निर्माण गर्नु आवश्यक रहेको समितिका उपाध्यक्ष चेतबहादुर महत बताउनुहुन्छ ।

जल पर्यटनको विकासका साथै माछापालनलाई यहाँको आयआर्जनको महत्वपूर्ण विकल्पका रुपमा बढाउन सकिने सम्भावना रहेको बताउँदै उहाँले खोला बग्ने भूभागमध्ये प्रथम चरणमा प्युरी दोभान, कुर्लिङ र घुमाउनेमा तटबन्ध निर्माण गर्नुपर्ने देखिएको उल्लेख गर्नुभयो । तटबन्ध निर्माणका लागि बृहत् गुरुयोजना तयार गर्नुपर्ने आवश्यकता रहेको उहाँको भनाइ छ ।

समितिले जलाधार आसपासका बासिन्दामा यसको संरक्षणसम्बन्धी जनचेतना अभिवृद्धि गराउँदै यसलाई आयआर्जनको माध्यम बनाउन प्रेरित गरिनुपर्ने र खोला आसपासका सामुदायिक वन उपभोक्ता समितिसमेतको सहकार्यमा संरक्षण गर्ने कार्यलाई प्राथमिकतामा राखेको छ ।

पछिल्ला वर्षमा नदीजन्य ढुङ्गा, गिट्टी, बालुवा जथाभावी उत्खनन बढेकाले त्यसलाई रोक्न समितिले तीनवटै जिल्लास्थित सम्बद्ध निकायमा ध्यानाकर्षण गराएको थियो । नदीको वर्षेनी धार परिवर्तन हुँदै जाँदा करीब ६० वर्षयता जलाधार क्षेत्रमा रहेका कैयौँ खेतीयोग्य जमीन बगरमा परिणत भएको समाजसेवी यमप्रसाद पौडेलले बताउनुभयो ।

उहाँका अनुसार खोला नियन्त्रणका साथै तनहँु र कास्कीको सीमामा पर्ने राँकीमा पक्की पुल निर्माण गरे यस क्षेत्रमा उत्पादित कृषिजन्य वस्तुको बजारीकरण निकै सहज हुने देखिन्छ । सुरौदी क्षेत्रको विकासलाई लक्षित गरी सुरौदी खोलाको सिरान प्युरी दोभानमा मोटरेबल पुल निर्माणका साथै घुमाउनेमा पुल निर्माण भइरहेको छ । सुरौदीकै कुर्लिङ र वर्षा जोड्ने पुल निर्माणको स्थलगत अध्ययन भई प्रक्रिया अघि बढाइएको छ ।

जलाधारको संरक्षण एवं उपयोगलाई लक्षित गरी व्यवस्थित कुलो निर्माणसहित खोलाका विभिन्न स्थानमा पुलका साथै बाटोघाटो व्यवस्थित गर्न वडाका तर्फबाट देखाइएको सक्रियतालाई अत्यन्त महत्वका साथ हेरिएको छ । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !