१४ आश्विन २०८१, सोमबार

अझै सुध्रेन सीमान्तकृत चिडिमारको अवस्था


Nepalpatra

१० वैशाख, नेपालगञ्ज । मुलुकमा अनेक राजनीतिक प्रणाली फेरिए पनि नेपालगञ्जमा बसोवास गर्दै आएका सीमान्तकृत चिडिमार (चरा मार्ने) समुदायको जीवनमा खासै सुधार आउन सकेको छैन । नेपालगञ्ज उपमहानगरपालिका–१२ मा वसोवास गर्ने यस समुदाय अहिले पनि परम्परागत ढङ्गबाटै जीवनयापन गर्दछन् ।

चरा मार्ने जाति भनेर चिनिने यो जाति सीमान्तकृत समुदायमा पर्छ । नेपालगञ्जको वडा नं १२ चिडिमार समुदायको पुरानो थातथलो हो । करीब १५ सयको सङ्ख्यामा यो समुदाय देशका अन्य भोगमा पाइँदैन ।

पछिल्लो समय चिडिमार समुदायका मानिस पनि चरा मार्न छाडेर अरु पेशा व्यवसाय गरेर जीविकोपार्जन गर्न थालेका छन् । चरा मारेर गुजारा चल्न छाडेपछि यस समुदायका मानिसले अन्य व्यवसायतर्फ आकर्षित भएका हुन् । पछिल्लो समय कतिपय सामुदायिक वन क्षेत्रमा चरा मार्न बन्देज गरिनु र चराको सङ्ख्या पनि पाउन छाडेपछि आफूहरु परम्परागत पेशाबाट अन्यत्र लाग्न बाध्य भएको स्थानीयवासी झङ्गी चडिमार बताउनुहुन्छ ।

अर्काको मजदूरी गरेर होस् वा स–सानो व्यापार गरेर आफ्नो घरखर्च चलाइरहेका छन् । उनीहरुलाई आफ्नो बारीको अन्नले मात्र खान नपुग्ने हुँदा उनीहरुले मजदूरी गरेर खान लाउन र बालबालिकाको अध्ययन खर्च पु¥याउने गर्दछन् ।

चिडिमार समुदायको मुख्य समस्याका रुपमा बालविवाह पनि रहेको छ । अहिले बालविवाह रोक्न नेपालगञ्ज उपमहानगरपालिकाको वडा कार्यालयबाट प्रयास पनि थालिएको छ । ‘‘बालविवाह रोक्न हामीले जनचेतना, बालबालिकालाई विद्यालय भर्ना गराउने, अभिभावकसँग अन्तक्र्रियालगायतका कार्यक्रम गर्दै आएका छौं’’, वडाध्यक्ष विद्यासागर सुवेदीले बताउनुभयो ।

केही समयअघि वडा कार्यालयले चिडिमार समुदायका दुईजना बालबालिकालाई विद्यालय र कलेजस्तरीय शिक्षा अध्ययनका लागि शतप्रतिशत छात्रवृत्ति उपलब्ध गराएको अध्यक्ष सुवेदीले बताउनुभयो । सो समुदायको घरघरमा खानेपानीको धारा जडान, बालबालिकालाई श्रमबाट विस्थापित गरी विद्यालय भर्ना गराउन अभिभावकलाई खुद्रा पसल सञ्चालनका लागि पनि वडा कार्यालयको समन्वयमा विभिन्न संस्थाले आर्थिक सहयोग उपलब्ध गराउँदै आएका पनि छन् ।

यो समुदायका महिला घरको काम गर्छन् भने पुरुषहरुले दिनभर अरुको मजदूरी र व्यापार व्यवसाय गर्दछन् । चिडिमार समुदाय शिक्षाको पहुँचबाट धेरै पछाडि छन् । विभिन्न सरकारी तथा गैरसरकारी निकायको प्रयास र प्रयत्नबाट अहिले यो समुदायका बालबालिकालाई विद्यालय पठाउन थालिएको छ ।

यस समुदायका अधिकांश बालबालिका पढन चाहेर पनि विद्यालय जान पाएका छैनन् । उनीहरुको शिक्षालाई स्थानीय सरकारले पनि सहयोग गरिरहेको छ । वडा कार्यालयले चिडिमार समुदायका बालबालिकाका लागि शिक्षा विकास कार्यक्रम नै योजनामा पारेको वडाध्यक्ष सुवेदीले बताउनुभयो । ‘‘हामी विद्यालय जान चाहन्छौ, तर आमाबुबाले पैसा कमाउनुपर्छ भनेर काममा पठाउने गर्छन्’’, चिडिमार समुदायकी किशोरी खुशी चिडिमारको गुनासो छ ।

चिडिमार समुदायमा अझै पनि परिवार नियोजनको महत्व पुग्न सकेको छैन । अधिकांशले बच्चा धेरै जन्माउने गरेकाले महिलाको स्वास्थ्य अवस्था सधैँ कमजोर र दयनीय रहेको पाइन्छ । आर्थिक अवस्था कमजोर रहेकाले बस्ने घर पनि राम्रो छैन ।

सरकारी तथा गैरसरकारी निकायबाट चिडिमार समुदायका लागि भनेर विभिन्न कार्यक्रमहरु सञ्चालन भएपनि सार्थक उपलब्धि हासिल गर्न सकेको देखिँदैन । यस समुदायको जीवनस्तरमा सुधार ल्याउन प्रत्यक्ष आर्थिक लाभ पुग्ने कार्यक्रम सञ्चालन गर्नुपर्ने देखिन्छ । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !