८ मंसिर २०८१, शनिबार

अपहेलित छ लमजुङ दरबार


Nepalpatra

१० वैशाख, लमजुङ । सोह्रौं शताब्दीमा निर्माण भएको भनेर दाबी गरिँदै आइएको लमजुङ दरबार नेपालकै पुरानो दरबार हो । बाइसे चौबीसे राज्य अस्तित्वमा रहेका बेला गोरखा दरबार, पाल्पा दरबार, नुवाकोट दरबार, भक्तपुर दरबार जस्तै यो दरबार बनेको थियो । शासक र राज्य व्यवस्था फेरिएसँगै पुराना दरबारहरुको महत्व घट्दै गयो । मुलुककै पुरानो मानिएको बेंसीशहर नगरपालिका–३ गाउँशहरमा रहेको लमजुङ दरबार पनि उपेक्षित रह्यो र अहिले यो जीर्ण अवस्थामा छ ।

यो दरबार समुद्री सतहदेखि १ हजार ४४५ मिटर उचाइमा रहेको छ । शाहवंशीय शासनको उद्गमथलो हो लमजुङ । त्यसैको विरासत हो लमजुङ दरबार । कास्कीकोटका राजा कुलमण्डलका माइला छोरा कालु शाहलाई विसं १५४० मा लमजुङका खजेदुरा, सुकराम क्याउसा, माघे दुरा, कुश्माखर घिमिरे, लक्ष्मण दुराले लमजुङको पहिलो चौबीसे राज्यका राजा स्थापना गरिएको थियो । त्यसको केही समयमै लमजुङमा शासनको बागडोर सम्हालेका तत्कालीन घलेराजाका सेनाले कालु शाहको हत्या गरिदिएको ऐतिहासिक कथन छ । यो घटनापछि उनीहरुले नै कुलमण्डलका कान्छा छोरा यशोबह्मा शाहलाई पुनः कास्कीकोटबाट ल्याएर राजकाज अघि बढाए । उनलाई १५ असार रविबारका दिन १५ घडीको सिंह लग्नमा विसंं १५५० मा राजगद्दीमा आसीन गराएको ऐतिहासिक शिलालेखमा उल्लेख छ ।

उनको मृत्युपछि उनका जेठा छोरा नरहरि शाह विसं १५९८ मा राजा भए । उनी पछि क्रमशः चुडा शाह (१६४५), अचित शाह (१६६२), नरेन्द्र शाह (१६९३), केहरिनारायण शाह (१७३३), भीम शाह (१७९४), रिपुमर्दन शाह (१७९८) र वीरमर्दन शाह (१८०२–१८३९) गरी नौ पुस्ताले सो दरबारबाट शासन चलाएका थिए । लमजुङका अन्तिम राजा वीर शाह थिए । विसं १८३९ कात्तिक १९ गतेसम्म शाहवंशले लमजुङ दरबारमा राजा भएर राजगद्दी सम्हालेको स्थानीयवासीहरु बताउँछन् । शाहवंशीय राजा आएपछि समेत धेरै समयसम्म घलेराजा अस्तित्वमा रहेको जानकारहरु बताउँछन् । त्यतिबेलाको पश्चिम नेपालको लमजुङ–कास्की क्षेत्रमा फैलिँदै गएका खस आर्य समुदाय र लमजुङका खजेदुरालगायतका दुराहरुको पहलमै लमजुङमा घलेराजाको सट्टामा शाहका सन्ततिलाई ल्याएर राजा बनाएको गाउँशहरका एक जानकार स्थानीयवासी देवबहादुर गुरुङ बताउनुहुन्छ । शाहवंश आउनुअघि यहाँ घलेराजाले राजकाज चलाएका थिए ।

नरहरि राजा भएका बेला यशोबह्माका छोराहरु झगडामा उत्रिएपछि कान्छो छोरा द्रब्य शाह राईनासकोटको गोठमा बसे । उनी लमजुङ दरबारमै हुर्किएपछि सो गोठमा बसेका हुन् । पछि उनले १६१६ सालतिर गोरखाको लिगलिगकोटको दौड जितेपछि लिगलिगकोट र माझकोट कब्जा गरी गोरखा राज्य खडा गरे र त्यही राजा भएर बसे । द्रब्य शाहको ११ औं पुस्ता पृथ्वीनारायण शाह हुन् । पृथ्वी नारायण शाहले बाइसे चौबीसे राज्यलाई एक पछि अर्को गरी गाभेर राज्य विस्तार गरे थाले । विभिन्न राज्यहरु कब्जा गरेपनि लमजुङ भने स्वतन्त्र रहेको थियो । विसं १८३९ मा पृथ्वी नारायण शाहकी बुहारी राजेन्द्र लक्ष्मी शाहको पालामा लमजुङ नेपाल राज्यमा गाभिएको जानकारहरुको भनाइ छ । त्यसबेला गोरखा र लमजुङको तार्कुघाटमा लडाइँ हुँदा लमजुङ हारेपछि नेपाल राज्यमा गाभिएको थियो ।

तत्कालीन शासनकालका थुप्रै ऐतिहासिक उतारचढावको साक्षीका रुपमा रहेको लमजुङ दरबार दिनानुदिन जीर्ण बन्दै गइरहेको छ । पानी पर्दा दरबारको छानाबाट पानीभित्रै चुहिने गरेको स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयका प्रमुख लोकराज अधिकारीले बताउनुभयो । विसं २०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्पले पनि दरबारको पुतली गारो लगायत अन्य भागमा क्षति पु¥याए पनि कुनै मर्मत नभएको उनको भनाइ छ । सरकार र राज्यका सम्बन्धित निकायले यस दरबारको मर्मत सम्भार, संरक्षण र सम्बद्र्धन र प्रबद्र्वन गर्न नसकेको स्थानीयवासी एवं बेसीशहर नगरपालिका–३ का वडाध्यक्ष सूर्यकुमार श्रेष्ठ बताउनुहुन्छ । राज्यबाट चासो नदिँदा र आवश्यक प्रचारप्रसार पनि नहुँदा यस दरबारको ऐतिहासिक, पुरातात्विक र पर्यटकीय महत्व समेत नामेट हुने अवस्थामा पुगेको छ । उहाँले भन्नुभयो – राज्य र सम्बन्धित निकायले नेपालको ऐतिहासिक धरहोर हो भनेर बुझ्न जरुरी रहेको छ । दरबारका सबैजसो भाग जीर्ण भइसकेकाले दरबार विलुप्त भए भावी पुस्ताले समेत थाहा नपाउने र इतिहास नै गुम्ने खतरा बढेको छ ।

केही महिना अघि गाउँशहर क्षेत्रको ऐतिहासिक, पुरातात्विक, धार्मिक र पर्यटकीय महत्व उजागर गर्न स्थानीय सरोकारवालाहरुको चाहना अनुरुप लमजुङ दरबार परिसरमा यशोबह्मा शाहको शालिक निर्माण गरिएको छ । लमजुङ उदिपुरमा रहेको श्रीजंग गणले शालिक निर्माण गरेको हो । बेंसीशहरदेखि उक्त दरबार जाने सिंढीको बाटो बेंसीशहर नगरपालिकाले बनाउँदै गरेको र केही महिनापछि निर्माण कार्य सम्पन्न हुने बेंसीशहर नगरपालिका प्रमुख गुमानसिंह अर्यालले बताउनुभयो । राज्य र सम्बन्धित निकायबाट जति हुनु पर्ने हो त्यो भने हुन नसकेको जिल्लावासीको गुनासो छ । लमजुङ दरबारको शिरमा पुरानोकोट गढी रहेको छ । सो गढी क्षेत्रमा घरबस्तीका भग्नावशेष, मठमन्दिर, त्यतिबेला प्रयोग गरेका ढिंकीको ओखल, जातो, सिलौटो जस्ता सामग्रीहरु अहिले पनि देख्न पाइन्छ । ती ऐतिहासिक वस्तुहरुको संरक्षण हुन सके पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने थियो । मन्दिरहरु, ढिंकी, जातो र राजाका सेनाहरुले सुरक्षा दिने भवनहरु यतिबेला भग्न अवस्थामा रहेका छन् । सो दरबारमा राजाहरुले प्रयोग गर्ने गरेका सामग्रीहरु समेत कोठामा थन्किएर बसेको स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयले जनाएको छ । यस दरबारमा राजा भएका शाहवंशीय राजाहरुको तस्वीरहरु र केही सामग्री सशस्त्र द्वन्द्वका बेला तत्कालीन माओवादीहरुले जलाएर नष्ट पारिदिएको कार्यालय प्रमुख अधिकारीले बताउनुभयो ।

उहाँले भन्नुभयो – राज्यको बेलैमा चासो जान सकेको भए ती तस्वीर र सामग्रीहरु सुरक्षित रहन्थ्यो । नेपालको इतिहास बोकेको यस्ता ऐतिहासिक वस्तुहरुको संरक्षण गर्न राज्य र सम्बन्धित निकायको ध्यान जान जरुरी रहेको छ । शाहवंशीय राजाहरुको कुलदेवता मानिने लमजुङ कालिका मन्दिर पनि सोही परिसरमा रहेको छ । लमजुङ दरबारमा रहेको कालिका मन्दिरमा वर्षभरि पूजा हुने भए पनि मुख्यतया वर्षको दुई पटक पूजापाठ हुँदै आएको छ । चैतेदशैंको घटस्थापनादेखि अष्टमीसम्म र वडादशैं घटस्थापनादेखि दशमीसम्म पूजापाठसँगै यहाँ ठूलो मेला समेत लाग्ने गर्दछ । यहाँ सरकारी बलि पनि दिने गरिन्छ । विशेष पूजा हेर्न र पूजापाठ गर्न लमजुङ कालिका मन्दिरमा भक्तजनको निकै भीड लाग्ने गर्दछ । बाइस सुसारे पुजारीहरु अर्थात बाइस जातिका पुजारीहरु लमजुङ दरबार परिसरमा रहेको लमजुङ कालिका मन्दिरमा रहेका छन् । अहिले पनि उनीहरुले पूजाआजा गर्दैआएका छन् । करीव १६ रोपनी क्षेत्रफलमा लमजुङ दरबार रहेको छ । जिल्लाको बेंसीशहरबाट आठ किलोमिटरको दूरीमा अवस्थित छ लमजुङ दरबार । या दरबार पुग्न गाडीबाट करीव ४५ मिनेट लाग्छ भन, पैदल हिँडेमा सवा एक घण्टादेखि दुई घण्टामा पुग्न सकिन्छ ।

ऐतिहासिक, पुरातात्विक र पर्यटकीय महत्व बोकेको यस दरबारको सम्बद्र्धन, प्रवद्र्धन र जीर्णोद्धारमा राज्यको ध्यान पुग्न सकेको छैन । भावी सन्ततिहरुका लागि पनि यो दरबार सुरक्षित राख्न आवश्यक छ । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !