१५ आश्विन २०८१, मंगलबार

ताचै घरबास नेपालकै नमूना बन्ने सम्भावना


Nepalpatra

३ वैशाख, मनाङ । गाउँमा स्वदेशी वा विदेशी पाहुना आउनुअघि नै यस गाउँका आमा समूहका महिलाहरू परम्परागत गुरुङ वेशभूषामा सजिएर स्वागतार्थ लस्करै उभिएका भेटिन्छन् । उनीहरुका हातहातमा माला र सगुन कलश सजिएको हुन्छ । यी महिलाको मुस्कान र आतिथ्यको विधिले एक घण्टाको उकालोको थकाइ तत्काल मेटिन्छ । सगुन चाखेका हात पुछ्दै पाहुनाहरू महिलाका पछिपछि लाग्छन् । परम्परागत ढङ्गले सजाइएका भान्सा कोठाका गलैंँचे चकटीहरुमा बसेर परिचयको आदानप्रदान हुन्छ ।
अनि सेच्या (नूनचिया) र सेलरोटी, उत्तम जातको जङ्गली च्याउको तरकारी र अरू थुप्रै स्थानीय परिकारको स्वाद लिन शुरु हुन्छ । मनाङे चिसोलाई आफ्नो बनाउन सगुनकै रुपमा झ्वाइँखट्टे पनि पाउन सकिन्छ । बसुञ्जेल र सुतुञ्जेलको हार्दिकतायुक्त न्यानोपनले तपाईंलाई नासों गाउँपालिकाको वडा नम्बर ८ मा पर्ने ताचै गाउँलाई छाडेर गइहाल्न मन लाग्दैन । बिहान उठेर हेर्दा हिमालको ठाडो काखमा बसेको यस गाउँलाई तपाईंले मनाङकै सुरक्षित गन्तव्यका रूपमा हेर्न थाल्नुहुन्छ । यस्तो लाग्छ, न यहाँ कहिल्यै हिउँपहिरो आउँछ, न सुख्खा वा हिले पहिरो जान्छ । त्यसैले होला, विदेश गइरहेका उमेरका स्थानीय समाजसेवी युवक याद घले करीब ४०० भेडाबाख्राको गोठ हेर्दै पदमार्गलाई सजिलो बनाउन लागिपरेका भेटिनुहुन्छ ।

घरबासका अध्यक्ष याद घलेका अनुसार ताचै गाउँका ७० घरमध्ये २६ घरमा घरबासको सुविधा छ । यिनका घरधनी आमाछोरी बुहारी आमा समूहमा आबद्ध त छन् नै, घरबासका माध्यमबाट यिनीहरू बाँकी दुनियाँसँंग पनि जोडिन थालेका छन् । ‘मनाङे’ भन्नेबित्तिकै झिटीगुण्टा व्यापारी भनेर चिन्ने बाँकी नेपालीका लागि यस्ता घरबासले मनाङको नयाँ पहिचान र परिचय बनाइदिएका छन् । यसमा नासो गाउँपालिकाका अध्यक्ष चन्द्र घलेले आफूलाई पूरै होमिदिनुभएको छ । उहाँ पनि ताचै निवासी हुनुहुन्छ ।

ग्रामीण पर्यटन प्रवद्र्धनका लागि नेपाल सरकारले घरबास वा होमस्टे सञ्चालनमा जोड दिएको छ । अहिले नेपालका प्रत्येक जिल्लाका गाउँगाउँमा घरबास सञ्चालनमा आएका छन् । संसारकै सबभन्दा बढी उचाइमा अवस्थित तिलिचो तालसमेत रहेको मनाङ जिल्ला पर्यटकको रोजाइका जिल्लामध्येको एक प्रमुख जिल्लाका रुपमा चिनिन्छ ।

उपयुक्त याममा मनाङका सबै ठाउँमा पर्यटकका आन्तरिक तथा बाह्य पर्यटककोे भिडभाड देखिन्छ । लमजुङको सदरमुकाम बेंसीशहर नगरपालिकादेखि खुदी र ङादी हुँदै हिँडेका पर्यटकले यहाँका गाउँबस्ती, बाटोघाटो सबै भरिएका हुन्छन् । अन्नपूर्ण संंरक्षण क्षेत्र मनाङको पर्यटन शाखाको तथ्याङ्कानुसार प्रत्येक वर्ष २५ हजारदेखि २८ हजार विदेशी पर्यटकले यस जिल्लाको भ्रमण गर्ने गरेका छन् ।

पर्यटन क्षेत्रमा बढ्दो चापलाई व्यवस्थित गर्ने र ग्रामीण पर्यटनलाई जोड दिने उद्देश्यले यहाँ गत वर्षदेखि घरबास सञ्चालन गरिएको हो । मनाङ जिल्लाको तल्लो भेगमा रहेको नासों गाउँपालिकाका दुई वटा वडामा घरबास सञ्चालनमा आएका छन् । जिल्लाकै पहिलो होमस्टे नासों गाउँपालिका वडा नं ४ ओडारगाउँ हो भने गत वर्ष मात्रै स्थापना भएको वडा नं ८ मा ताचै होमस्टे छ ।

नासों गाउँपालिकाका अध्यक्ष चन्द्र घले पर्यटनको क्षेत्रमा फेसन जस्तो लागे पनि घरबास स्थापनाले पर्यटकीय क्षेत्रमा छुट्टै महत्व राख्ने अनुभव गर्नुहुन्छ । उहाँका अनुसार मनाङ आउने पर्यटक केवल हिमाल हेर्न र घुम्न मात्र आउँदैनन्, उनीहरु यहाँ अध्ययन गर्न पनि आउने गर्छन्, मनाङका गाउँगाउँमा बसेर यहाँका चाडपर्व, वेशभूषा, रीतिरिवाज, चालचलनको अध्ययन गर्न आउँछन् । त्यस्तै आधुनिकताले छोएको अहिलेको परिवेशमा पुरातात्विक र ऐतिहासिक वस्तुको संरक्षण गर्न र ग्रामीण क्षेत्रका बासिन्दाको आयस्तर उकास्न पनि घरबासको स्थापनामा जोड दिइएको घलेको भनाइ छ ।

नासों गाउँपालिकाको ताचै गाउँ ऐतिहासिक र पुरातात्विक महत्वको ठाउँ हो । यो घले राज्यको उद्गमस्थलका रुपमा चिनिन्छ । ‘ता’ को अर्थ आफ्नै भूमि र ‘चै’ को अर्थ फर्कनु हो । पहिले यहाँका मानिसहरू गाउँ छाडेर अन्त बसाइँ सरेका थिए । सरी गएको वातावरणमा रमाउन नसकेपछि पुनः गाउँ फर्किएर आफ्नै जन्मस्थानमा बसोबास गर्दै आएको हुनाले ताचै नाम रहन गएको बारे स्थानीयवासी कमल गुरुङले बताउनुभयो । उहाँका अनुसार अहिले गाउँ छाडेर कोही पनि अन्यत्र बसाइँ सर्ने चलन छैन ।

भौगोलिक हिसाबले गुरुङ र घलेको बसोबास रहेको यस गाउँलाई सुगम नै मानिन्छ । बेंसीसहर –चामे सडकखण्डबाट करीब ४५ मिनेटको पैदल यात्रामा यहाँ पुग्न सकिन्छ । त्यस्तै धारापानी थोचे हुँदै मोटरबाटोले पनि यस गाउँलाई सडक सञ्जालमा जोडिदिएको छ । गाउँमुनिको सुन्दर फाँट, गुराँसका घना जङ्गल, गाउँबाट देखिने मनास्लु, अन्नपूर्णा, लमजुङजस्ता हिमशृङ्खलाका मनमोहक दृश्यले जो कसैलाई पनि मन्त्रमुग्ध बनाउँछ । सानो तर चिटिक्क मिलेको बस्ती, वरिपरि छङछङ सुसेल्दै झरेका छहरा, गाउँ पछाडिको सल्लोघारी, सातकन्यादेवीको थानबाट झरेको तातोपानी, नीलो पटुकी र घलेक लगाएका किसान आमा दिदीबहिनीको काममा व्यस्तता, यिनैले ताचैको पहिचान बोकेका छन् ।

यहाँको जनजीवनको मुख्य आधार खेतीपाती र पशुपालन नै हो । भेडाबाख्रा, च्याङ्ग्रा र चाँैरीजस्ता पशु यहाँ पालिन्छ भने आलु, फापर गहुँ ,उवा र मकै प्रमुख खेती हुन् । यार्सागुम्बा, वनलसुन, गुच्चीच्याउ, सतुवा, कुट्की, जटामसी, निरामसी आदि बहुमूल्य जडिबुटी यहाँका प्रमुख वनजन्य उत्पादन हुन् । यहाँका निवासीहरु यिनै जडिबुटिको व्यापार व्यवसायबाट आयआर्जन गर्छन् । सामान्य शिक्षित जनताको यो सानो गाउँ लोककला र परम्परागत संस्कृतिले समृद्ध देखिन्छ ।

ताचैको घरबासमा अहिले एकै पटक करीब १५० जना पाहुना राख्न सक्ने क्षमता छ । गाउँमा पाहुना आएदेखि नै गाउँका आमा समूह, युवकयुवती सबै भेला भएर गाउँको समूह घरमा बसाल्ने काम हुन्छ । सांस्कृतिक कार्यक्रमका माध्यमबाट पाहुनालाई मनोरञ्जन दिइन्छ भने जैविक खानाका साथै पारिवारिक वातावरण प्रदान गर्नु सो घरबासको उल्लेख्य पक्ष हो ।

चांैरी र भेडाच्याङ्ग्राका ऊन कातेर हातबाट निर्माण गरिएका सामग्री फेर्पा, दोचा, राडीपाखी, बख्खु, डोरीलगायत सामग्री यहाँको पहिचान हो भने छहराको पानीबाट चलाइने पानीघट्टको प्रयोग मानिसको स्वास्थ्यसँग जोडिएको छ । आमा समूहका अध्यक्ष चन्द्रकाशी घलेका अनुसार पानी घट्टमा कुटानीपिसानी गरिएका खाद्यवस्तुमा पौष्टिक तत्व कायमै रहने र जैविक स्वाद हुने हुनाले यसलाई प्राथमिकतामा राखिएको छ । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !