१५ आश्विन २०८१, मंगलबार

किबी खेतीतर्फ कृषक आकर्षित


Nepalpatra

२२ चैत, फिदिम । पाँचथरको याङवरक गाउँपालिका–५ नागीका कृषक खड्गबहादुर लक्सम वर्षेनी रु ८० हजारदेखि एक लाख मूल्यको किबी बिक्री गर्नुहुन्छ ।

उहाँको घर छेउमै सडक पुगेको छ । झापाको विर्तामोडका व्यापारी गाडी लिएर किबी खरीद गर्न उनको घरमै आइपुग्छन् । जम्मा एक पाटो बारीमा किबीको खेती गर्नुभएको लक्समले भन्नुभयो, “वर्षेनी रु ८० हजारदेखि एक लाख मूल्यको किबी बेच्दै आएको छु ।”

राम्रो मूल्य प्राप्त हुने किबीको खेती गर्न साह्रै सहज छ । “एक पाटो बारीमा खेती लगाएको छु । शुरुमा चाँङ बनाउन अलि गाह्रो हुने हो । त्यसपछि कुनै समस्या छैन” लक्समले भन्नुभयो ।

वरीपरी अलैँचीको खेती गर्नुभएका लक्समले एक पाटो बारीबाटै झन्डै एक लाख रुपैयाँ आम्दानी गर्नु ठूलो कुरा भएको बताउनुभयो । “मूल्य राम्रो नहुँदा अलैँचीमा धेरै फाइदा छैन” लक्समले भन्नुभयो, “किबीमा राम्रो फाइदा छ । यसको खेती अझै बढाउने सोचेको छु ।”

मौसमी फलफूल भए पनि किबी लटरम्मै फल्ने गर्दछ । त्यसैले यहाँका कृषकहरुको आकर्षण यसप्रति दिनानुदिन बढ्दो छ । अलैँची र किबीको एकै ठाँउ खेती लगाउनुभएका पाँचथरको फिदिम नगरपालिका–१२ जरिङ्गेका सन्तोष गुरुङ किबी खेती गर्न सहज रहेको र प्रशस्तै आम्दानी मिल्ने गरेको बताउनुहुन्छ ।

“सिमित खेती गरेपनि राम्रो आम्दानी लिइरहेको छु । विस्तारै किबीको खेती विस्तार गर्नुपर्ला” गुरुङले भन्नुभयो, “धेरै मेहिनत गर्नु नपर्ने, राम्रो आम्दानी मिल्ने भएकाले हाम्रो क्षेत्रका धेरै कृषक किबीतर्फ आकर्षित छन् ।”

कृषकहरुका अनुसार व्यापारीले किबीको दानाको आकारका आधारमा मूल्य दिने गरेका छन् । याङवरकका कृषक लक्समका अनुसार प्रतिकिलो रु १०० देखि ३०० सम्ममा किबी घरैबाट बिक्री हुने गरेको छ । “मैले यस वर्ष सरदरमा प्रतिकिलो रु १७५ ले किबी बिक्री गरेँ” उहाँले भन्नुभया,े “मूल्यसँग सन्तुष्ट नै हुनु परेको छ ।”

मूल्य कम भए पनि खेती सहज हुँदा कृषकहरु किबी खेतीतर्फ निरन्तर आकर्षित छन् । पाँचथरमा किबीको व्यावसायिक खेती शुरुआत भएको लामो समय भएको छैन ।

कृषकहरुले परीक्षणका रुपमा किबी खेती थालेका थिए । तर सन्तोषजनक मूल्य पाएपछि उनीहरु हर्षित छन् । किबीको मूल्य विगतमा प्रतिकिलो रु ४०० सम्म समेत पुगेको थियो । तर उत्पादन बढेसँगै मूल्य घट्दै गयो । यद्यपि हालको मूल्यमा समेत कृषकहरु सन्तुष्ट देखिएका छन् ।

राँके बजारका व्यापारी चन्द्रवीर तामाङ प्रतिकिलो रु २०० हाराहारीमा आफूले किबीको बिक्री गर्ने गरेको बताउनुहुन्छ । कृषि प्राविधिकका अनुसार समुद्र सतहदेखि एक हजार ५०० मिटरदेखि दुई हजार ५०० मिटरसम्मको उचाइमा किबी खेती गर्न उपयुक्त मानिन्छ ।

पाँचथरको किबी खेती इलामबाट बढी प्रभावित छ । इलामका कृषकले किबी खेतीलाई व्यावसायिक बनाएसँगै सीमावर्ती पाँचथरमा समेत यसको खेती ह्वात्तै बढेको हो । पाँचथरको फिदिम नगरपालिकासहित याङवरक, फालेलुङ, फाल्गुनन्द, मिक्लाजुङ गाँउपालिकाका अधिकांश वडामा किबी खेती हुने गरेको छ ।

किबी खेती हुने क्षेत्रफलबारे यकिन सरकारी तथ्याङ्क भने छैन । (रासस)
–––


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !