१२ असार २०८१, बुधबार

प्राङ्गारिक कृषि उपज प्रदर्शनी शुरु


Nepalpatra

२० चैत्र, सुर्खेत । कर्णाली प्रदेशस्तरीय प्राङ्गारिक कृषि उपज प्रदर्शनी मेला पहिलोपटक शुरु भएको छ । ‘दिगो विकास लक्ष्य प्राप्तिका लागि सहकारी’ भन्ने मूल नारासहित ६२औँ राष्ट्रिय सहकारी दिवस एवं प्रथम कर्णाली प्रदेशस्तरीय प्राङ्गारिक कृषि उपज प्रदर्शनी मेला कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा बुधबारदेखि शुरु भएको हो ।

प्रर्दशनी मेलाको उद्घाटन कार्यक्रममा कर्णाली प्रदेशसभाका सभामुख राजबहादुर शाहीले ‘सुखी नेपाली, समृद्ध नेपाल’को सार्थकतालाई व्यापक बनाउन सहकारीको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । समाज परिवर्तनको आन्दोलनमा सहकारीको योगदान महत्वपूर्ण भएकाले सहकारीमार्फत मात्रै राष्ट्रको समृद्धि हासिल हुने उहाँले बताउनुभयो ।

महिलाले सञ्चालन गरेका सहकारी ९१ प्रतिशत सफल भएको उल्लेख गर्दै सभामुख शाहीले महिला सहकारी समूहले राष्ट्र निर्माणमा महत्वपूर्ण योगदान पु¥याएको धारणा व्यक्त गर्नुभयो । सभामुख शाहीले कर्णाली प्रदेशलाई प्राङ्गारिक प्रदेश बनाउने साहसिक अभियान चलाएकामा प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयलाई धन्यवादसमेत दिनुभयो ।

प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले कर्णालीका नागरिकको भान्सामा विष पाक्ने गरेको भन्दै यसलाई नित्साहित गर्न प्रदेश सरकारले प्राङ्गारिक प्रदेशको आधार निर्माणको अभियान सञ्चालन गरेको बताउनुभयो । “कर्णालीका नागरिकको भान्सामा विष पाक्दा हामी स्वस्थ बन्न सक्दैनौँ, विष रोक्नतर्फ हामी सबै लागौँ, प्राङ्गारिक उत्पादन बढाई स्वस्थ बनौँ”, उहाँले भन्नुभयो । जबसम्म नागरिक स्वस्थ हुँदैनन्, तबसम्म सरकार पनि स्वस्थ नहुने भन्दै मन्त्री भण्डारीले प्राङ्गारिक उत्पादन बढाएर स्वस्थ्य समाज निर्माण गर्नुपर्ने बताउनुभयो ।

कर्णाली प्रदेशलाई बढी बाँच्न आश जगाउने प्रदेश, लामो आयू बनाउने प्रदेश, प्राङ्गारिक उत्पादन खान पाइने प्रदेशको रूपमा विकास गर्न सबै सहकारी तथा आम जनता लाग्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

कार्यक्रममा प्रदेश सरकारका प्रवक्ता एवं भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री विमला केसीले कर्णालीको प्राङ्गारिक उत्पादनलाई प्रोत्साहन, व्यवसायीकरण र बजारीकरण गर्न पहिलोपटक प्रदेशस्तरीय प्रर्दशनी गरिएको बताउनुभयो । छरिएर रहेको पूँजीलाई एकीकृत गरेर मात्र समाजको गरीबी अन्त्य हुने भन्दै मन्त्री केसीले सहकारीमार्फत ग्रामीण इलाकामा लगानी गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

प्रदेशका सामाजिक विकासमन्त्री दल रावल, उद्योग, वन पर्यटन तथा वातावरणमन्त्री नन्दसिंह बुढालगायतका वक्ताले पनि कर्णाली प्रदेशलाई प्राङ्गारिक प्रदेश बनाउन खास चुनौती नभएको भन्दै यो अभियानमा सबैको साथ सहयोगको खाँचो रहेको औँल्याउनुभयो ।

जिल्ला सहकारी सङ्घ सुर्खेतको आयोजना, कर्णाली प्रदेश भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको सहयोग तथा समन्वयमा सञ्चालित प्रदर्शनी यही चैत २२ गतेसम्म सञ्चालन हुने भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका अर्थविज्ञ अनुप तिवारीले जानकारी दिनुभयो । तिवारीका अनुसार, प्रदर्शनीमा कर्णालीका प्राङ्गारिक उत्पादनको ५० बिक्रीकक्ष राखिएको छ । कार्यक्रमको बीचमा सन्देशमूलक लोकदोहारी गीत प्रतियोगिता, प्राङ्गारिक कृषिसम्बन्धी नाटक प्रदर्शन गरिने तिवारीले जानकारी दिनुभयो । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !