१५ आश्विन २०८१, मंगलबार

उद्यममा युवाको सामूहिक लगानी


Nepalpatra

२० चैत, बलेवा । कालीगण्डकी कोरिडोरको टाकुरी–पालुङ्खोला खण्डको मध्यभाग जैमिनी नगरपालिका–७ जैदीको बेलबगरमा तीन युवाले उद्यम सञ्चालन गरेका छन् । सडक छेउमा बटुवाका लागि खाना–बस्नको व्यवस्थासहितको होटल छ भने सडकको माथिपट्टिको बारीमा तरकारी फलाएका छन् ।

जैदीका तमसम राना, खुमबहादुर राना र शेरबहादुर रानाले संयुक्त उद्यम थाल्नुभएको हो । ‘थ्री ब्रदर्श होटल’ नामैले चिनारी हुन्छ होटल सञ्चालनमा तीन युवाको लगानी छ भन्ने । होटलमा मात्रै होइन सडक छेउकै तरकारी फार्ममा पनि उनीहरुले संयुक्त लगानी गरेका छन् । उनीहरुले तरकारी फार्म र होटल सञ्चालनका लागि झण्डै रु १४ लाख लगानी गरेका छन् ।

दुई वर्षअघि राष्ट्रिय युवा परिषद्बाट कृषि कार्यका लागि पाएको रु पाँच लाख अनुदानबाट शुरु गरेको कृषि फार्म र होटलमा अहिले रु १४ लाख लगानी पुगेको हो । उनीहरुले सञ्चालनमा ल्याएको उद्यमले तीन जनाको परिवार पालेर केही रकम बच्नेगरी कमाइ हुने गरेको छ । होटलमा दैनिक भीडभाड नै हुन्छ भने तरकारी पनि राम्रै फलेको छ ।

बजारको समस्या नभएकाले उनीहरुको फार्ममा फलेको तरकारी कहिल्यै खेर जाँदैन । होटलबाट मात्रै खर्च कटाएर उनीहरुले मासिक रु डेढ लाख आम्दानी गर्छन् । तरकारीले पनि खर्च उठाएर राम्रो आम्दानी दिइरहेको थमसमले बताउनुभयो । होटलमा स्थानीय खाना पाइन्छ । लोकल जातका कुखुराको मासु र कोदोको ढिँडो होटलको विषेशता हो । कुखुराको मासुको रस र कोदोको ढिँडो खोज्दै टाढाका ग्राहक आउने गरेका उहाँले बताउनुभयो । कोरिडोर छेउमा रहेको होटलमा उत्तरदक्षिण सबैतिरका पाहुनालाई सहजै आउजाउ गर्न मिल्ने भएकाले पनि आफ्नो व्यवसाय चलिरहेको अर्का व्यवसायी शेरबहादुरले बताउनुभयो ।

कालीगण्डकी कोरिडोर हुँदै सुनौली–बुटवल–गुल्मी–बागलुङ चल्ने यातायातका साधनको बिसौनी पनि पर्ने भएकाले होटलमा राम्रो कारोवार हुने गरेको उहाँको बुझाइ छ । “ग्राहकहरु पहिल्यै फोनमार्फत अर्डर गरेर आउनुहुन्छ”, उहाँले भन्नुभयो, “स्थानीय जातको कुखुरा र कोदोको ढिँडो ग्राहकको विषेश रोजाइ हुन्छ ।”

केही वर्ष पहिले जापान जान रु दुई लाख ५० हजार खर्चेर असफल भएपछि व्यवसाय थालेका तमसम अहिलेको आफ्नो व्यवसायबाट सन्तुष्ट हुनुहुन्छ । तमसनले नै शेरबहादुर र खुमबहादुरलाई आफ्नै माटोमा मेहेनत गर्न प्रेरित गर्नुभएको हो । होटलदेखि तरकारी फार्मसम्म तीनै जना मिलेर काम गर्ने गरेका छन् ।

“खाना मिठो, बोलीबचन पनि निकै मिजासिलो” कामको सिलसिलामा बेलबगर पुग्नुभएका उद्योग वाणिज्य सङ्घ बागलुङका उपमहासचिव थानेश्वर सुवेदीले भन्नुभयो, “युवाहरुको व्यवसायमोह देखेर खुशी लाग्यो ।” चार रोपनी जग्गा भाडामा लिएर उनीहरुले तराकारी लगाएका छन् । अहिले उनीहरुको फार्ममा गोलभेँडा, बन्दा, काउली, केराउ, मुला धनियाँ, काँक्रालगायतका तरकारी फलेका छन् ।

तरकारीका लागि अहिले बजार खोज्नु नपर्ने र आफ्नै होटलमा खपत हुन्छ । बचेको तरकारी पनि गाउँघरमा बिक्री हुने गरेको शेरबहादुरले बताउनुभयो । “विदेश जाने सोच बनाएको छैन”, उहाँले भन्नुभयो, “सम्भावना नेपालमै छन्, नदेख्दासम्म विदेश जान मन लाग्थ्यो अब राम्रो कमाइ नेपालमै देखेका छौँ, त्यसकारण परिश्रम यहीँ गर्ने हो ।” कालीगण्डकी कोरिडोरको ट्र्याक खुलेपछि मुहार फेरिएको बेलबगरमा उनीहरुको व्यवसाय नमूना बन्दै गएको छ । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !