६ मंसिर २०८१, बिहीबार

रेसुङ्गामा पूर्वाधारको खाँचो


Nepalpatra

५ चैत, बेझाड, पाल्पा । प्रकृतिको अनुपम सुन्दरताले भरिपूर्ण छ रेसुङ्गा । यहाँ पुग्ने जो कोही पर्यटक पनि यहाँको प्राकृतिक छटासँग रमाउन पुग्छन् । उत्तरतर्फ चाँदी झैं टल्केका हिमाल छन्, तलतिर तम्घास बजार । हिमाल, पहाड, तराईलाई रेसुङ्गाको शिरबाट एकसाथ देख्न सकिन्छ र यो नै यस ठाउँको विशेषता हो ।

गुल्मी जिल्लाको सदरमुकाम तम्घास बजारदेखि ठिक माथि शिरोभागमा धार्मिक एवम् पर्यटकीय रेसुङ्गा क्षेत्र अवस्थित छ । तम्घास बजारदेखि रेसुङ्गाको सिद्धपोखरी भन्ने स्थानसम्म पुग्न गाडीबाट करीव आधा घण्टा र पैदल दुई घण्टा लाग्छ । सिद्धपोखरीबाट आधा घण्टा पैदल हिँडेपछि रेसुङ्गाको शिरमा पुगिन्छ ।

यहाँ पर्यटकहरु वनविहार गर्दै विभिन्न हिमशृंखलाको दृश्यावलोकनमा रमाउने गर्छन् । रेसुङ्गाको शिर चुली आकारको छ । यहाँबाट गुल्मी जिल्लाका दुई तिहाइ स्थानहरु, अर्घाखाँची, बाग्लुङ्ग, स्याङ्गजा, पाल्पा लगायतका ठाउँको अवलोकन गर्न सकिन्छ । रेसुङ्गा वनको टापूमा राखिएको भ्यु टावरबाट युवायुवतीहरु रमणीय तम्घास बजार नियाल्दै रमाइरहेका भेटिन्छन् ।

शीतल हावा र सुन्दर प्राकृतिक छटाले भरिपूर्ण रेसुङ्गा क्षेत्र अत्यन्तै लोभलाग्दो रहेको पाल्पाली सञ्चारकर्मी डोलराज विक बताउनुहुन्छ । भौतिक पूर्वाधार विकास गरी यस ठाउँको प्रवद्र्धन गर्न सकिए आन्तरिक सँगै वाह्य पर्यटक भित्र्याउन सकिन्छ,” उहाँले भन्नुभयो ।

पहिलो पटक यहाँ भित्रने आन्तरिक पर्यटकलाई अर्को पटक पनि जाऊँ जाऊँ जस्तो बनाउने खालको प्राकृतिक सुन्दरता यहाँ विद्यमान छ । विकासले ढिलो गरी गति लिएको रेसुङ्गामा आउने धेरैजसो पर्यटक छिटोभन्दा छिटो यहाँ पूर्वाधार निर्माणको काम होस् भन्ने कामना गरी फर्कने गरेका छन् ।

समुद्री सतहदेखि दुई हजार ३४७ मिटरको उचाइमा रहेको यस वन क्षेत्र तीन हजार ४०० हेक्टर क्षेत्रफलमा फैलिएको छ । लालीगुराँस फूलसँगै पाँचऔंले, पाषाणवेद, चुत्रो, चिराइतो, टिमुर, कुरिलो, सुगन्ध कोकिला, अमला जस्ता बहुमूल्य जडीबुटीहरु यहाँ पाइन्छ । दुर्लभ प्रजातिका गिद्ध पनि यहाँ पाइन्छ । यहाँको गौशालामा नश्ल सुधार नगरी पालिएका दुई सय गाई छन् ।

रेसुङ्गा वनले साविक ११ वटा गाउँ पालिकालाई जोडेको छ । हालको रेसुङ्गा र मुसिकोट नगरपालिका, छत्रकोट, गुल्मी दरबार गाउँपालिकाको पानीको मूल स्रोत पनि यही रेसुङ्गा वन हो ।

रेसुङ्गा क्षेत्रको भौतिक पूर्वाधार विकासमा ढिलाइ हँुदा बाह्य पर्यटक भित्रिन सकेको छैन । आन्तरिक पर्यटकको चहलपहल रहे पनि विदेशी पर्यटकको आवागमन शून्य जस्तै छ ।

सदरमुकाम तानसेन बजारदेखि गुल्मी तम्घास बजारसम्म पुग्ने साँघुरो सडक, तम्घास बजारदेखि रेसुङ्गा वनसम्म पुग्ने सडकको स्तरोन्नतिमा ढिलाइ, तम्घास बजारमा स्तरीय होटलको अभाव हुँदा बाह्य पर्यटकको रोजाइमा यो ठाउँ पर्न नसकेकोे रुरु रेसुङ्गा क्षेत्र संरक्षण तथा पर्यटन विकास समिति गुल्मीका पूर्व कार्यकारी निर्देशक नरेश भण्डारी बताउनुहुन्छ ।

भण्डारीले भनुभयो – “पन्ध्र वर्षीय गुरुयोजना बनाएर अगाडि बढेका छौं । लुम्बिनी र पोखरा आएका बाह्य पर्यटकलाई गुल्मीको रेसुङ्गासम्म ल्याउने गरी पर्यटन प्रवद्र्धनमा लागेका छौं ।”

पछिल्लो पाँच वर्ष यता भने यहाँ आन्तरिक पर्यटकको सङ्ख्या विस्तारै बढ्दै गएको छ । वर्षमा करीव पचास हजारको हाराहारीमा आन्तरिक पर्यटकहरु भित्रिएको पाइएको छ । विसं २०६३ मा तम्घास बजारदेखि रेसुङ्गामा पुग्ने सडकको बनाउन शुरु गरिएपछि यहाँ पर्यटकको सङ्ख्या वर्षेनी बढ्दै गएको रेसुङ्गा वन संरक्षण समितिका सचिव मोतीप्रसाद खनाल बताउनुहुन्छ ।

उहाँका अनुसार २०७३ देखि सडक स्तरोन्नति, पैदलमार्ग निर्माण, सिद्धेश्वर महादेवको मूर्ति स्थापना, तालीम केन्द्रसहितको गेष्ट हाउस, योगशाला, वेद पाठशालाको निर्माण लगायतका कामहरु भइरहेको छ ।

रेसुङ्गाको पौराणिक इतिहास
त्रेता युगमा भगवान् रामचन्द्रको पालामा राजा दशरथलाई सन्तान प्राप्त नभएपछि दरबारमा कसरी सन्तान प्राप्त हुन्छ भन्ने विषयमा छलफल भयो । रेसुङ्गामा रहेका ऋष्यश्रृङ्गेले मात्र यज्ञमार्फत पुत्रेष्टी गराउन सक्ने क्षमता भएकाले उनलाई यज्ञ गराउन लगाइयो । यज्ञ पछि राजा दशरथलाई पुत्रेष्टी प्राप्त भएको वैदिक मान्यता छ ।

ऋष्यश्रृङ्गेले यसै पुण्यभूमिमा ध्यान गरेको हुनाले ऋष्यश्रृङ्गेकै नामबाट श्रृङ्गे राखियो । पछि श्रृङ्गेबाट अप्रभ्रंश भई रेसुङ्गा नामकरण भएको कथन छ । ऋष्यश्रृङ्गे जहाँ जान्थ्यो त्यहाँ वर्षा हुन्थ्यो भन्ने पौराणिक भनाइ छ । ऋष्यश्रृङ्गे बसेका बखत पानी परेको हुँदा यस ठाउँलाई पानीले नुहाएको डाँडो पनि भन्ने गरिन्छ ।

रेसुङ्गाको शिरमा पवित्र यज्ञशाला रहेको छ । सुनको गजूर र तामाको छाना रहेको प्यागोडा शैलीको यज्ञशाला प्रभु यदुकानन्दले बनाउनुभएको हो । यस यज्ञशालाभित्र हवनकुण्ड रहेको छ । यस हवनकुण्डमा विसं १९८३ मा मुक्तिनाथबाट अग्नि ल्याई अखण्ड घृतधारा चलाउने गरिआएको अभिलेखबाट देखिन्छ । हवनकुण्डमा अखण्ड धुनी बलिरहेको छ ।

पण्डित हरिराज भट्टराईले तीन वर्ष अघिदेखि श्रृङ्गेश्वर धाममा नियमित पूजाआजा गर्दै आउनुभएको छ । यहाँ विशेष गरी श्रावण ठूली एकादशीदेखि भक्तजनको घुइँचो बढ्ने उहाँ बताउनुहुन्छ । सिद्धपोखरीमा नुहाएर माथि रहेको श्रृङ्गेश्वर मन्दिरमा गएर पूजा गर्ने चलन छ ।

यज्ञशालाको चारै वेदीमा शालिकराम र बीचमा शिवलिङ्ग राखिएका छन् । यहाँ श्रृङ्गेश्वर मन्दिर, धर्मशाला, विष्णु पादुका, रामकुवा, सिद्धबाबा मन्दिर छन् । रेसुङ्गाको दोस्रो स्थान सिद्धपोखरी क्षेत्रमा रेसुङ्गा पशुपति शिवालय रहेको छ । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !