२ कार्तिक २०८१, शुक्रबार

राष्ट्रिय वनलाई संरक्षित क्षेत्र बनाइँदै


Nepalpatra

४ चैत, पशुपतिनगर । तीव्र वन फँडानीका कारण लोपोन्मुख वन्यजन्तुको वासस्थान मासिएपछि इलामको उत्तरी क्षेत्रको वनलाई संरक्षित क्षेत्र बनाइने भएको छ ।

प्रशासनको उपस्थिति नहुँदा वन फँडानीसँगै चोरी शिकारीबाट लोपोन्मुख वन्यजन्तु हाब्रोको तस्करी बढेपछि गाउँपालिकाकै अगुवाइमा हाब्रो, थार, चरिबाघ लगायत सयौँ प्रजातिका चराको वासस्थान रहेको उत्तरी इलामको उक्त वनलाई संरक्षित क्षेत्र बनाउन थालिएको हो । सन्दकपुर गाउँपालिका–५ को पिप्लेदेखि २ को बिखेभञ्ज्याङसम्मको क्षेत्रलाई संरक्षित क्षेत्र बनाउन समुदाय, जनप्रतिनिधि, संरक्षणकर्मी र वन कार्यालयय लागेका गाविस अध्यक्ष उदयबहादुर राईले बताउनुभयो ।

छत्तिस प्रजातिका गुराँसका बोट रहेको जङ्गल तीव्र फँडानी भएपछि संरक्षणको अवधारणा बनाउन गाउँपालिकाले डिभिजन वन कार्यालयलाई एक वर्ष अघि जिम्मा दिएको थियो । वन संरक्षण योजना लागि स्थलगत सर्भेक्षण र तथ्याङ्क सङ्कलन गर्ने काम सकिएकाले सामुदायिक वन गठनपछि संरक्षणको जिम्मा समुदायलाई दिने इलाम डिभिजन वन कार्यालयका प्रमुख श्रीप्रसाद बरालले बताउनुभयो ।

भारतसँगको खुला सीमानाका कारण काठ तस्करी गर्न सजिलो हुँदा जङ्गल फँडानीले सो क्षेत्रमा वन्यजन्तुको वासस्थान मासिँदै आएको थियो । वासस्थान मासिँदा यस वर्ष मात्रै दुई वटा हाब्रो मृत भेटिएका थिए । भारतसँग सीमा जोडिएको वन क्षेत्रमा पसेर काठ कटान गरी भारतका व्यापारिक क्षेत्रमा निकासी गर्दै गर्ने क्रम बढेपछि सामुदायिक वन निर्माण गरी संरक्षित क्षेत्र बनाउने अवधारणा अघि सारिएको उक्त गाउँपालिका अध्यक्ष राईले जानकारी दिनुभयो । लालपुर्जा नभएको जङ्गलमा परेर पुर्खाको किपट भन्दै वन मास्ने काममा संलग्नलाई सामुदायिक वन बनाउने सर्तमा एक पटक कानूनी कारवाही नगरिएको उहाँको भनाइ थियो ।

जङ्गलमा पसेर रुख काट्ने क्रम नरोकिए कानूनी कारवाही गर्ने र सामुदायिक वन गठनपछि कार्ययोजनाअनुसार काम गर्ने सहमतिमा दुई वटा सामुदायिक वन गठनको काम अन्तिम चरणमा पनि पुगेको छ । स्थानीय समुदायकै संलग्नतामा जग्गा धनीपुर्जा बाहिरको घना जङ्गल संरक्षणसँगै खुला क्षेत्रमा वृक्षारोपणको काम अघि बढ्ने सन्दकपुर सव डिभिजन कार्यालयका प्रमुख सुशील मण्डलले बताउनुभयो ।

उक्तगाउँपालिकाको अगुवाइमा पद्भसम्भव र लालीगुराँस सामुदायिक वन समूह गठन गरी संरक्षित क्षेत्र बनाउने काम भइरहेको छ । जिल्लाको सबैभन्दा अग्लोे तीन हजार ६३६ मिटर उचाइमा रहेको पर्यटकीय क्षेत्र सन्दकपुरको सो क्षेत्रमा लालीगुराँसको वनसँगै तीन दर्जन बढी सिमसार क्षेत्र छन् । माई नदीको मुहानसमेत रहेको सो क्षेत्रमा लोपोन्मुख वन्यजन्तु र चराचुरुङ्गीको बसोबास रहेकाले प्राथमिकताका साथ संरक्षणको योजना आगामी आवदेखि शुरु गरिने गाउँपालिकाका अध्यक्ष राईले बताउनुभयो । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !