१२ बैशाख २०८१, बुधबार

असोज १ देखि सुपथ मूल्य पसल, कहाँ-कहाँ रहनेछन् ? (सूचीसहित)


supath-mulya

काठमाडौँ, २३ भदौ – ठूला चाडपर्व दसैँ, तिहार र छठ नजिकिँदै गर्दा उपभोक्तालाई लक्षित गरेर सरकारले आगामी असोज १ गतेदेखि सुपथ मूल्य पसल सञ्चालन गर्ने तयारी थालेको छ ।

मुख्य चाडपर्वका समयमा बजारमा हुने उपभोग्य वस्तुको मूल्यवृद्व र कालोबजारीलाई दृष्टिगत गर्दै सरकारले प्रत्येक वर्ष यस्तो सुपथ मूल्य पसल सञ्चालन गर्दै आएको छ । नेपाल खाद्य संस्थानका प्रवक्ता पवन कुमार कार्कीका अनुसार यसपटक उपत्यकाका विभिन्न ११ स्थानमा सुपथ मूल्य पसल राख्ने तयारी भएको छ ।

काठमाडौँका ८, ललितपुरका २ र भक्तपुरको एक स्थानमा सुपथ मूल्य पसल रहनेछन् । गत साल ८ ठाउँमा मात्र यस्तो पसल राखेकामा यसपटक ३ स्थान थपिएको छ । त्यस्ता पसल छठसम्म सञ्चालन हुनेछन् ।पसलमा चामल, दाल, तेल, नुनलगायतका विभिन्न दैनिक उपभोग्य खाद्य वस्तु रहनेछन् ।

खाद्य संस्थानले मात्र विभिन्न १५ किसिमका खाद्य वस्तु पसलमा राख्नेछ । पसलमा संस्थानले १५ हजार ३ सय क्विन्टल खाद्य वस्तु बिक्रीमा राख्ने तयारी गरेको कार्कीले बताए ।

त्यस्तै, साल्ट ट्रेडिङ लिमिटेड, नेसनल ट्रेडिङ र दूग्ध विकास संस्थानले पनि आ –आफ्ना उत्पादन बिक्रीमा राख्नेछन् ।
‘कुनै ठाउँमा संयुक्त र कुनै ठाउँमा छुट्टाछुट्टै रूपमा विभिन्न संस्थानले आफ्ना उत्पादन बिक्रीमा राख्नेछन,’ प्रवक्ता कार्कीले भने ।

सुपथ मू्ल्य पसलमा उपभोग्य वस्तु १५ प्रतिशत छुट तथा प्रतिकेजीमा ५ रुपैयाँ सहुलियत दिइने उनले बताए । ‘उपभोक्ताले बजार मूल्य भन्दा निकै कममा खाद्य वस्तु पाउनेछन्,’ कार्कीले भने ।

त्यस्तै, संस्थानले घटस्थापना देखि खसीबोका बिक्रीमा राखिने बताएको छ । यसपटक १ हजार ५ सय खसीबोका र १ हजार ५ सय च्याङ्ग्रा भारतबाट ल्याउने तयारी गरेको छ ।

यसपटक सुपथ मूल्य पसल र उपभोग्य वस्तुमा उपभोक्तालाई सहुलियत प्रदान गर्नका लागि संस्थानले ६८ करोड रुपैयाँको प्रस्ताव मन्त्रालयमा लैजाने तयारी गरेको छ ।

आपूर्ति मन्त्रालयले १० दिनअघि दसैँ –तिहारमा उपभोक्तालाई राहत दिनका लागि सुपथ मूल्य पसललगायतको प्रवन्ध गर्न संस्थानहरूलाई निर्देशन दिएको थियो । सोही अनुरूप नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिण्डर मूल्य ५० रुपैयाँ घटाएको छ भने अन्य इन्धनको मूल्य पनि तिहारसम्म नबढाउने निर्णय गरिसकेको छ।

सरकारले निजी क्षेत्र तथा व्यवसायीसँग पनि चाडवाडको समयमा उपभोक्तालाई राहत पुग्ने गरी उपभोग्य वस्तुको मूल्य घटाउने आग्रह गरेको छ ।

कहाँ –कहाँ रहनेछन् सरकारका सुपथ मूल्य पसल

काठमाडौँ
थापाथली
कोटेश्वर
बल्खु
नेसनल ट्रेडिङको गोदाम, टेकु
नेसनल ट्रेडिङको गोदाम, रामशाहपथ
सिंहदरवार परिसर
बौद्व, जोरपाटी
नारायण स्क्वाएर, नक्साल

ललितपुर
नख्खु
पाटन

भक्तपुर
सूर्यविनायक


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !