१३ असार २०८१, बिहिबार

ओजुवा तालमा डुङ्गा सञ्चालन


Nepalpatra

१ चैत, घोडाघोडी । विश्व रामसार तथा सिमसार क्षेत्रमा सूचीकृत कैलालीको घोडाघोडी ताल क्षेत्रमा डुङ्गा सञ्चालन गरिएको छ । पर्यटन प्रवद्र्धनमा थप टेवा पु¥याउने उद्देश्यका साथ घोडाघोडी ताल नजिकै रहेको ओजुवा तालमा निजी क्षेत्रको लगानीमा डुङ्गा सञ्चालनमा ल्याइएको हो ।

बृहत् घोडाघोडी ताल तथा पर्यटन विकास बोर्डको प्रवद्र्धन र घोडाघोडी सामुदायिक वन उपभोक्ता समितिको समन्वयमा लेकसाइटको टेल रिसोर्टको लगानीमा ताल क्षेत्रमा डुङ्गा सञ्चालन गरेको हो । घोडाघोडी नगरपालिकाका प्रमुख ममताप्रसाद चौधरीले घोडाघोडीमा डुङ्गा सञ्चालनका लागि धेरै पहिलेदेखि नै योजना बनाए पनि अहिले निजी क्षेत्रको लगानी र नगर पर्यटन बोर्डको समन्वयमा त्यसले मूर्त रुप लिएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “पहिले दिनमा झार कुहिएर गहनाएको भन्दै आधा घण्टा पनि ताल क्षेत्रको अवलोकन नगर्ने पर्यटक डुङ्गा सञ्चालनपछि कम्तीमा दुई घण्टा अवलोकन गर्छन् ।” नगर प्रमुख चौधरीले डुङ्गा सञ्चालनसँगै सो क्षेत्रमा पर्यटकको आकर्षणका लागि फूलबारी बनाउने योजना रहेको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “हामी सिमसार क्षेत्रभित्र छौँ, सिमसारको मान्यताको पालना गर्दै घोडाघोडी क्षेत्रको संरक्षण गरेर नै पर्यटन विकास गर्नेछौँ”, साथै नगर प्रमुख चौधरीले पर्यटकलाई आकर्षण गर्नका लागि विभिन्न सेवा सुविधाको होटल, रेस्टुराँ तथा रिसोर्ट सञ्चालन गर्ने बताउँदै स्थानीय बासिन्दा पनि लाभान्वित हुनेछन् भन्नुभयो ।

घोडाघोडी क्षेत्र संरक्षण तथा जनजागरण मञ्चका अध्यक्ष दीपेन्द्र शाहीले लामो समयको प्रयासपछि ओजुवा तालमा डुङ्गा सञ्चालन हुनु खुशीको कुरा रहेको बताउनुभयो । शाहीले घोडाघोडी ताल क्षेत्रको विकास गर्दा वातावरण प्रतिकूललाई हानी नोक्सानी नहुने गरी जैविक विमानस्थलका रुपमा विकास गर्नुपर्ने बताउनुभयो ।

लेकसाइडको टेल रिसोर्टका सञ्चालक डबल शाहले घोडाघोडीमा पर्यटक भित्र्याउने मुख्य उद्देश्यका साथ डुङ्गा सञ्चालन गरिएको बताउनुभयो । घोडाघोडीमा आउने पर्यटकको बसाईं लम्ब्याउन र मनोरञ्जन प्रदान गर्ने उद्देश्यले आफूहरुले तालको व्यवस्थापन गरी डुङ्गा सञ्चालनमा ल्याएको बताउनुभयो । पर्यटनका क्षेत्रमा राज्यले भौतिक पूर्वाधारको विकास गर्ने बताउँदै शाहले पर्यटन विकासका लागि निजी क्षेत्रको आवश्यकता हुने बताउनुभयो ।

अहिले तालमा दुई वटा खुट्टाले र एक वटा हातले चलाउने डुङ्गा राखिएको छ । पर्यटकको आवश्यकताअनुसार डुङ्गा बढाइने बताइको छ । करीब छ हेक्टर क्षेत्रफलमा फैलिएको उक्त तालमा अहिले डुङ्गा शयर गर्न विद्यार्थीलाई रु ४० र अन्यलाई रु ५० टिकटको व्यवस्था गरिएको छ । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !