१२ पुस २०८१, शुक्रबार

राससलाई बलियो बनाउने प्रदेश सरकारको प्रतिबद्धता


Trilochan Bhatta

२८ फागुन, धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले सञ्चारमाध्यमलाई सकारात्मक सन्देश दिने समाचारलाई बढी स्थान दिन आग्रह गर्नुभएको छ । राष्ट्रिय समाचार समिति (रासस)को आयोजनामा आजदेखि यहाँ शुरु भएको सुदूरपश्चिम प्रदेशस्तरीय पत्रकारिता प्रशिक्षणको उद्घाटन गर्दै मुख्यमन्त्री भट्टले धेरै सञ्चारमाध्यमले नकारात्मक समाचारलाई मात्र प्राथमिकता दिएका कारण जनतामा सही सूचना प्रवाह हुन नसकेको बताउँदै सकारात्मक समाचारलाई बढी प्राथमिकता दिन पत्रकारलाई आग्रह गर्नुभयो ।

उहाँले स्रोतसाधनको उपलब्धताका साथै क्षमता अभिवृद्धि गरेर राससलाई प्रतिस्पर्धी बनाउन सुझाव दिनुभयो । देश सङ्घीय संरचनामा गइसकेका अवस्थामा राससलगायत सरकारी सञ्चारमाध्यमका प्रदेशस्तरका संरचना बन्न आवश्यक रहेकामा जोड दिँदै उहाँले भन्नुभयो, “राससलाई स्रोतसाधन जुटाउने सवालमा प्रदेश सरकारले के गर्न सक्छ, हामी छलफल गरेर अगाडि बढ्न तयार छौंँ ।” मुख्यमन्त्रीले प्रदेशमा सञ्चारमाध्यमको विकासका लागि प्रदेश सरकारले सञ्चारमैत्री कानून बनाउन लागेको जानकारी पनि दिनुभयो ।

सो अवसरमा आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाशबहादुर शाहले सबै सञ्चारमाध्यमको नेतृत्व गर्न सक्ने गरी रासस बलियो हुनुपर्नेमा जोड दिँदै यसलाई बलियो बनाउन मन्त्रालयको सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

राससका कार्यकारी अध्यक्ष श्यामल अधिकारीले राज्यको एक अङ्गका रुपमा रहेको राससलाई बलियो र प्रतिस्पर्धी सञ्चारमाध्यम बनाउन प्रदेश सरकारको सहयोग जरुरी रहेको बताउनुभयो । राज्यप्रति राससको निश्चित दायित्व रहेको उल्लेख गर्दै अध्यक्ष अधिकारीले मुलुक सङ्घीय संरचनामा गइसकेपछिको अवस्थामा पनि राससको भूमिका र उपस्थिति जरुरी रहेको बताउनुभयो । उहाँले प्रदेश सरकारले छुट्टै मिडियाको जग बसाल्नु आवश्यक नरहेको उल्लेख गर्दै राससलाई नै स्रोत साधनले बलियो बनाउने काममा सहयोग पु¥याउन आग्रह गर्नुभयो ।

समारोहमा रासस प्रदेश समन्वय संयोजक एवं सञ्चालक बोर्डका सदस्य एकराज पाठकले प्रशिक्षण कार्यक्रमको औचित्यमाथि प्रकाश पार्नुभएको थियो । नेपाल पत्रकार महासङ्घ सुदूरपश्चिम प्रदेश समितिका अध्यक्ष अर्जुन शाह, महासङ्घ कैलालीका सभापति जगत साउद, रासस प्रशासन शाखा प्रमुख उत्तम सिल्वाल, रासस धनगढी कार्यालयका प्रमुख सिद्धराज भट्टलगायतले पनि बोल्नुभएको थियो ।

दुईदिने सो प्रक्षिणमा समाचार सङ्कलन, आलेख समाचार, खोजी समाचार, संसदीय समाचार सङ्कलन, प्रदेशस्तरमा समाचार बुलेटिन प्रकाशनलगायत विषयमा प्रशिक्षक रासस अध्यक्ष अधिकारी, आलेख सम्पादक राजु शाक्य, प्रदेश समन्वय संयोजक पाठक, प्रशासन शाखा प्रमुख सिल्वाल र पत्रकार चित्राङ्ग थापाले प्रशिक्षण दिनुहुनेछ ।

प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालयको सहयोग र पत्रकार महासङ्घको समन्वयमा आयोजित प्रशिक्षणमा सुदूरपश्चिम प्रदेशका बाजुरा, बझाङ, डोटी ,अछाम, कैलाली, दार्चुला, बैतडी, डडेलधुरा, र कञ्चनपुरका राससका स्थानीय समाचारदाता र अन्य सञ्चारमाध्यमका सञ्चारकर्मी र मन्त्रालयका कर्मचारीसमेत करीब ४० जनाको सहभागिता छ । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !