१५ असार २०८१, शनिबार

साइकल सिटी चितवनमा साइकल देख्नै मुस्किल


Chitwan

२४ फागुन, रत्ननगर । कुनैबेला साइकलको जिल्ला भनेर परिचित चितवनमा अहिले साइकल देख्नै मुश्किल हुन थालेको छ ।

साइकल लेनको अभाव, मोटरसाइकलको बढ्दो प्रयोग र आधुनिक जीवनशौलीले गर्दा साइकल देख्न मुस्किल हुन थालेको हो ।

चितवनको मुख्य राजमार्ग क्षेत्रमा छिटफुटरुपमा साइकल चलाएको देख्न पाइन्छ । दश वर्षअघिसम्म चितवनवासीले साइकलको प्रयोग गरी विभिन्न कृषिका कामदेखि बाहिरी जिल्लामा जानसमेत साइकलको प्रयोग गर्ने गर्दथे । अहिले साइकललाई विभिन्न उत्सवको ¥याली, बिहानमा शारीरिक व्यायाम गर्न र तराईबाट आएका मजदुरले मात्रै प्रयोग गरेको पाइएको छ ।

जिल्लाका भित्री बस्तीमा अझै पनि साइकलको प्रयोग गर्ने भेटिए पनि बजार क्षेत्रमा साइकलको ठाउँमा मोटरसाइकल प्रयोग गर्नेको सङ्ख्या वृद्धि भएको छ । साइकल सिटी भनेर देश परिचित भए पनि साइकल अनुकूल पूर्वाधार निर्माण नहुँदा साइकल प्रयोग गर्नेको सङ्ख्या पातलिएको विज्ञहरुको भनाइ छ । चितवनका महानगरपालिका तथा नगरपालिकाले साइकल लेनका लागि डेढदेखि साढे दुई मिटरसम्म सडक क्षेत्र छुट्याउनुपर्ने इञ्जिनीयर डा सूर्यराज आर्चायले बताउनुभयो ।

“अहिले निर्माण भइरहेका पिचमा साइकल लेन अनिवार्य छ”, उहाँले भन्नुभयो, “जिल्लामा लेन निर्माण गरी साइकल सिटीको रुपमा ब्राण्डिङ गर्न सकिन्छ । नेपालको साइकल सिटी बनाउन उपयुक्त ठाउँ चितवन हो ।” चितवनको भौगोलिक अवस्था साइकल चलाउनका लागि उपयुक्त भएकाले साइकलको प्रवद्र्धन गर्न पूर्वाधार निर्माणमा स्थानीय तहले चासो दिनुपर्ने उहाँको भनाइ छ । चितवनलाई साइकल सिटी भनेर प्रवद्र्धन गर्न सक्यो भने पर्यटकीय, शारीरिक, स्वास्थ्य, प्रदुषणमुक्त र वातावरणमैत्री स्थानको रुपमा विकास गर्न सकिने डा आर्चायले बताउनुभयो ।

साइकल प्रयोग गर्नाले आफ्नो प्रतिष्ठामा आँच आउने खालका सोचले साइकल प्रयोगकर्ता कमी आएको चितवनका साइकल व्यवसायी बताउँछन् । पछिल्लो समय बच्चा तथा गेयरवाला साइकल बिक्री हुने गरे पनि जेन्स तथा लेडिज साइकल बिक्री न्यून हुँदै गएकोसाइकल व्यवसायी सङ्घ नवलपुरका अध्यक्ष धर्मराज सापकोटाले बताउनुभयो ।

“अहिले साइकल चढ्न हुन्न भन्ने संस्कृति मौलाएको छ” उहाँले भन्नुभयो, “पहिला पहिला अभिभावकले आफ्नो बच्चाले एसएलसी दिएपछि साइकल किनिदिने गर्नुहुन्थ्यो । तर अहिले साइकल छाडेर मोटरसाइकल किनिदिने गरेको पाएका छौँ ।”

व्यवसायी सापकोटाले साइकल बिक्री कम हुँदै गएपछि साइकल व्यवसायीले अन्य व्यवसायमा हात हालेको बताउनुभयो । गत वर्षभन्दा यस वर्ष साइकल व्यवसायीको सङ्ख्यामा पनि कमी आएको छ । यही अवस्था कायम रहे साइकल व्यवसाय केही वर्षपछि नै विस्थापित हुने उहाँको भनाइ छ ।

भरतपुर महानगर प्रमुख रेनु दाहालले साइकल वातावरणमैत्री सवारीसाधन भएको बताउँदै महानगरभित्र निर्माण हुने ठूला सडकमा साइकल लेन राखिने बताउनुभयो । अहिले डिपिआरसँगै निर्माण शुरु भइसकेको चक्रपथ र लिङ्करोडमा साइकल लेन पनि बनाउने उहाँले जानकारी दिनुभयो ।

विसं २०६१ मा स्थापना भएको चितवन साइकल व्यवसायी सङ्घमा गत वर्षदेखि नवलपुरका व्यवसायी पनि थपिएका छन् । चितवन र नवलपुरमा ६५० साइकल व्यवसायी रहेका छन् । चितवनमा मात्रै ४१० साइकल व्यवसायमा आबद्ध छन् ।

घाँसे मैदान व्यवस्थापन गरिँदै

दुर्लभ वन्यजन्तुको आहारमा समस्या आउन नदिनका लागि चितवन राष्ट्रिय निकुञ्जले घाँसे मैदान व्यवस्थापन गर्ने भएको छ । निकुञ्जले यस वर्ष करीब २०० हेक्टर क्षेत्रफलमा घाँसे मैदान व्यवस्थापन गर्न लागेको निकुञ्जका सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत गोपालबहादुर घिमिरेले जानकारी दिनुभयो । दुर्लभ वन्यजन्तु पाटेबाघ, एकसिङ्गे गैँडा, हरिण, जरायोलगायतका संरक्षित जनावरका लागि घाँसे मैदान व्यवस्थापन गर्न लागिएको उहाँले बताउनुभयो ।

निकुञ्जभित्र घाँसको पर्याप्त व्यवस्थापन हुनसकेको अवस्थामा एकसिङ्गे गैँडा, हरिण, जरायोलगायतका जनावर बस्ती प्रवेश गर्ने भएकाले निकुञ्जले वर्षेनी घाँसे मैदान व्यवस्थापन गर्दै आएको छ ।

विभिन्न साझेदार संस्थासँगको सहकार्यमा निकुञ्जले घाँसे मैदान व्यवस्थापन गर्न लागेको घिमिरेले जानकारी दिनुभयो । ९५२ वर्गकिमी क्षेत्रफलमा फैलिएको चितवन राष्ट्रिय निकुञ्जभित्र करीब १० हजार हेक्टर क्षेत्रफलमा घाँसे मैदान रहेको छ । केही वर्ष पहिलेसम्म निकुञ्जले खरखडाइ खोल्ने गर्दा घाँसे मैदान व्यवस्थापन गर्नु पर्दैनथ्यो ।

मध्यवर्ती क्षेत्र व्यवस्थापन समूहका अध्यक्ष मधुकर मल्लका अनुसार खरखडाइ खोल्न बन्द गरेपछि घाँसे मैदान व्यवस्थापन गर्नुपर्ने अवस्था सिर्जना भएको हो । “पहिले खरखडाई खोल्दा मध्यवर्तीका बासिन्दाले खरखडाइ काटेर लैजाने भएकाले आफैँ कमलो घाँस पलाउँथ्यो”, मल्ले भन्नुभयो, “खरखडाइ नै बन्द भएपछि सर्वसाधारण निकुञ्ज प्रवेश गर्न पाउँदैनन् । त्यसैले निकुञ्जले स्रोत खर्च गरेर घाँसे मैदान व्यवस्थापन गर्नुपर्ने अवस्था आएको छ ।” वर्षेनी खोलिदै आएको खरखडाइ संरक्षणमा असर परेको जनाउँदै निकुञ्जले केही वर्ष अगाडिदेखि खरखडाइ बन्द गरेको हो । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !