२२ रासस, धनुषा । मिथिला परिक्रमा आजदेखि विधिवत रुपमा शुरु भएको छ । मिथिलाको ऐतिहासिक, पौराणिक र धार्मिक आस्थाको धरोहरको रुपमा रहेको उक्त परिक्रमा १५ दिनसम्म चल्नेछ ।
एक सय ३३ किलोमिटर लामो सो पदयात्रामा नेपाल र भारतका विभिन्न स्थानका ठूलो सङ्ख्यामा साधुसन्त र गृहस्थ आश्रमका श्रद्धालुको सहभागिता रहनेछ । प्राचिन मिथिलाको राजधानी जनकपुरधामको अग्नीकुण्डबाट किशोरीजी अर्थात् माता जानकी र कचुरी मठबाट मिथिला बिहारी भगवान रामको दुई प्रमुख डोलाको नेतृत्वमा मध्यमिथिला परिक्रमा विधिवत रुपमा शुरु भएको हो । फागुन कृष्णपक्षको औसीमा धनुषाको ठेरा कचुरी मठबाट भगवान राम र जानकीको डोलासहित परिक्रमा शुरु भएको हो ।
आज राति धनुषाको हनुमाननगरमा विश्राम गरेर परिक्रमामा सहभागी साधुसन्त तथा श्रद्धालु बिहीबार बिहान पुजापाठ गरी भारतको विहार राज्यको कल्याणेश्वरका लागि प्रस्थान गर्छन् । धार्मिक झाँकी तथा भजन किर्तनसहित परिक्रमाको डोला आज सिमावर्ती भारतीय गाउँ कलानेश्वर महादेव पुग्नेछ । परिक्रमामा सहभागि क्रमशः फुलहरको गीर्जास्थान हुँदै महोत्तरीको मटिहानी, जलेश्वर मडै, धु्रवकुण्ड, कञ्चनवन, पर्वता, धनुषाधाम, औरही, विशौल हुँदै पुनः कलानेश्वर तथा फागुन पुर्णिमामा जनकपुर फर्कने छ ।
मिथिला विहारीको नेतृत्वमा पारम्पारिक रुपले आयोजना हुँदै आएको सो परिक्रमामा हजारौँ भक्तजनको सहभागिता रहने यस धार्मिक यात्रालाई व्यावसायिक रुप दिन नसक्नु सरकारको कमजोरी रहेको लक्ष्मीनारायण मठ मटिहानीका महन्त जग्गनाथ दास वैष्णवले बताउनुभयो ।
परिक्रमामा सहभागीका लागि वृहत्तर जनकपुर क्षेत्र विकास परिषद्ले पन्ध्रवटै विश्रामस्थलमा बिजुली, खानेपानीलगायत व्यवस्था मिलाएको छ । परिक्रमा गर्नेहरु राति गाउँभन्दा टाढा खुला चौर, बगैचा वा पोखरीको डिलमा विश्राम गर्छन् । स्थानीयवासीले सहभागीका लागि अन्न, दाउरा तथा गोरुका लागि पराल उपलब्ध गराउँछन् । सहभागी दिनभर यात्रा गर्छन् र भजनकिर्तन तथा सत्संग गरेर रात बिताउँछन् ।
नेपाल–भारतको धार्मिक, सांस्कृतिक एवं पारम्परिक सद्भावको प्रतिक बनेको सो परिक्रमा यात्राको नेपालतर्फ धनुषा र महोत्तरीको १३ तथा भारतको दुई ठाउँमा विश्रामस्थल छ । मिथिला महात्मयमा यी विश्रामस्थलका पौराणिक एवं धार्मिक महत्वबारे प्रकाश पारिएकाले यी स्थलप्रति भक्तजनको अटुट आस्था रहेको पाइन्छ । मिथिला महात्म्य अनुसार १८आँै शताब्दीदेखि यो धार्मिक यात्रालाई माध्यमिकी परिक्रमाका रुपमा मनाइँदै आइएको छ । यात्राका सहयात्रीले नेपालतर्फ १०७ तथा भारततर्फ २६ किलोमिटर भूमिमा पैदलयात्रा तय गर्ने परम्परा छ । परिक्रमामा भारतको आयोध्या, मथुरा, हरिद्वार, दरभङ्गा, सीतामढी, बैजनाथधामका साधुको सहभागिता रहन्छ । परिक्रमामा सहभागी हुँदा मनोकामना पुरा हुने तथा मोक्ष प्राप्ति हुने धार्मिक मान्यता रहेको पण्डित लालबाबु झा बताउनुहुन्छ । प्राचीन मिथिलाको राजधानी जनकपुरको चारै कुनामा स्थापना भएका चार शिवालय कलानेश्वर, जलेश्वर, क्षीरेश्वर र सप्तेश्वरनाथलाई आधार मानी परिक्रमा गर्ने परम्परा छ ।
मिथिला महात्म्यमा माध्यमिकी परिक्रमा गर्न नसक्नेले छोटो दूरीको अन्तःगृह परिक्रमा गर्नुपर्ने उल्लेख छ । अन्तःगृह परिक्रमाको सीमा क्षेत्र जनकपुर नगरपालिका भित्र पर्छ । मिथिला महात्म्यमा हरिहर क्षेत्रबाट प्रारम्भ भई गण्डकी नदीको किनार हुँदै हिमालय क्षेत्र, कोशी नदी भएर पुनः हरिहर क्षेत्रमा समापन हुने बृहत् परिक्रमाको चर्चा छ भारतको पटनास्थित गङ्गा नदीको तटमा हरिहर क्षेत्र अवस्थित छ । वैष्णव सम्प्रदायको प्रवद्र्धनमा महन्त परमहंसको उल्लेखनीय योगदान रहेको लक्ष्मीनारायण मठ मटिहानीका महन्त जग्गनाथ दास वैष्णवले बताउनुभयो ।
माध्यमिकी परिक्रमामा करीब साठी वर्षदेखि मिथिला महात्म्यको कथा वाचन गर्नुभएका मुख्य पण्डित रामदुलारी शरणजी महाराजले सत्तरी वर्षसम्म उक्त भूमिका निर्वाह गर्नुभएको थियो । उहाँको निधनपछि मिथिला महात्म्यको कथा वाचन उहाँका शिष्य सियाराघव शरणले गर्दै आउनुभएको छ । मिथिलाञ्चलको सांस्कृतिक धरोहरको रुपमा रहेको सो परिक्रमा यात्रीले प्रयोग गर्ने सडकमार्गको वृहत्तर जनकपुर क्षेत्र विकास परिषद् जनकपुर तथा सडक डिभिजन कार्यालय मुजेलियाले परिक्रमा सडक भनेर निर्माण थालेका छन् । पहिलो चरणमा धनुषाको क्षीरेश्वरनाथ नगरपालिकाको पकडियादेखि महोत्तरीको हरिहरपुर हरिणमरीसम्म कालोपत्र गरिँदैछ । (रासस