३० कार्तिक २०८१, शुक्रबार

पहिरोमा पुरिएर स्याङ्जामा चार जनाको मृत्यु


syanga landslide

काठमाडौँ : गएराति मुसलधारे पानीसँगै खसेको पहिरोले एक घर पुरिएर स्याङ्जाको केवरेभञ्ज्याङ–७ ताप्केमा एकै परिवारका चारजनाको ज्यान गएको छ।

वडा प्रहरी कार्यालय वालिङका प्रहरी निरीक्षक उत्तमप्रकाश बरालका अनुसार राति साढे १ बजेतिर घरमाथिबाट खसेको पहिरोले पुरिएर ७८ वर्षीया चन्द्रकुमारी सारु, निजकी नातिनी ३० वर्षीया हुमकला मश्राङ्गी, हुमकलाकी छोरी सात वर्षीया पुनम मश्राङ्गी र १ वर्षीय छोरा मिलन मश्राङ्गीको ज्यान गएको हो।

राति नै वडा प्रहरी कार्यालयबाट गएको प्रहरी टोलीले पहिरोमा पुरिएका शव निकालेर अहिले शवपरीक्षणका लागि वालिङ प्राथमिक स्वास्थ्य केन्द्रतर्फ ल्याइँदै गरेको राससले जनाएको छ।

राजमार्गहरु बन्द
उता, नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत चण्डिभन्ज्याङ गाविस–६ स्थित चार किलो र पाँच किलोको बीचमा पहिरो खस्दा बिहानैदेखि सडक अवरुद्ध भएको छ।

बिहान ६ः३० बजे ठूलो पहिरो खस्दा सडक छेउमा रहेका २ घरमा समेत क्षति पुगेको प्रहरीले जनाएको छ। स्थानीय गोरे गुरुङ र कमल गुरुङको घरमा समेत पहिरोले सामान्य क्षति पुगेको छ।

पहिरो पन्छाउने काम सुरु भइसकेको छ। सडक बन्द भएपछि दुवैतर्फ सवारीसाधनको लाम लागेकोे छ।

त्यस्तै पासाङ ल्हामु राजमार्गको सिस्नेरी भन्ने स्थानमा पहिरो झरेकोले बालाजुबाट नुवाकोटको त्रिशुली चल्ने सवारी साधनको आवागमन ठप्प भएको छ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !