७ आश्विन २०८१, सोमबार

विपन्नका घरको छानो छाइने


Nepalpatra

२४ माघ, कास्की । माछापुच्छ«े गाउँपालिका–८ भित्र जीर्ण भएका गरीब तथा विपन्न परिवारको घर जस्तापाताले छाउन अभियान शुरु गरिएको छ ।वडा कार्यालयले विपन्न वर्ग आवास कार्यक्रम सञ्चालन गरी बस्न नमिल्ने गरी जीर्ण भएकाको घर नयाँ बनाइदिने र छानो फेरेर बस्न मिल्नेको हकमा जस्तापाताको छानो हाल्ने कार्यक्रम शुरु गरेको हो ।

चालु आर्थिक वर्षमा घर मर्मत गर्न नसकेर अर्काको घर तथा कोठामा आश्रय लिएका, जोखिमयुक्त घरमा बसेका र चुहिने छानोमुनि बस्नुपर्ने बाध्यतामा रहेका परिवारलाई आवासको प्रबन्ध गर्ने उद्देश्यले यस्तो कार्यक्रम ल्याइएकोे वडाध्यक्ष कृष्णप्रसाद दवाडीले बताउनुभयो ।उहाँले भन्नुभयो, “अर्थाभावमा आफ्नो घर मर्मत गर्न सक्ने अवस्थामा नभएका विपन्न, गरीब तथा एकल महिलालगायतको घरमा छानो हालेर बस्नयोग्य बनाउँछौँ ।”

गत महीना वडा कार्यालयले टोल विकास संस्थामार्फत लामो समयदेखि घर मर्मत गर्न नसकेर कष्टकर जीवन व्यतित गरेका परिवारको तथ्याङ्क सङ्कलन गर्दा छ परिवारको घर पुनःनिर्माण गर्नुपर्ने र १२ घरमा छाना फेर्दा बस्नयोग्य हुने देखिएको थियो ।

आवास निर्माणकार्य अघि बढाउन वडाले आम भेला गरी स्थानीय नेत्रप्रसाद अधिकारीको अध्यक्षतामा निर्माण उपभोक्ता समिति गठन गरेको थियो । समितिले वडाभित्र तथा बाहिरसमेत कार्यक्रमका लागि सहयोग सङ्कलन शुरु गरेको जनाएको छ । कार्यक्रमका लागि प्रतिघर रु ५० हजारदेखि चार लाखसम्म खर्च लाग्ने र करीब रु ४० लाखको लागतमा आवास निर्माण गर्ने प्रारम्भिक तयारी रहेको अध्यक्ष अधिकारीले बताउनुभयो ।

छाना छाउनका लागि एउटा घरको कम्तिमा रु ५० हजार र नयाँ घरका लागि रु चार लाख ५० हजार खर्च लाग्ने उहाँको भनाइ थियो । सो कार्यका लागि सरकारी, निजी तथा विभिन्न सङ्घसंस्थासँगको सहकार्यबाट अर्थ सङ्लकन गर्ने योजना रहेको उहाँले जानकारी दिनुभयो ।

उक्त कार्यका लागि वडाले चालू आवमा रु दुई लाख बजेट विनियोजन गरेको छ । त्यस्तै अन्नपूर्ण संरक्षण क्षेत्र व्यवस्थापन समितिबाट पनि रु दुई लाख सहयोग प्राप्त भएको बताइन्छ । सङ्कलित रकम बराबरको रकम नै गाउँपालिकाबाट थप गरी कार्यक्रम सम्पन्न गर्ने वडा कार्यालयको तयारीे छ ।

“विपन्नको घरमा छानो हाल्ने अभियानमा आर्थिक स्रोत जुटाउन शुरु गरेका छौँ । आमा समूह, क्लब, होटल व्यवसायीलगायतबाट सहयोगको प्रतिबद्धता आएको छ”, अध्यक्ष अधिकारीले भन्नुभयो । मर्दी हिमाल पदयात्रा मार्गमा पर्ने वडामा करीब १५ होटल तथा रेष्टुराँ छन् । गाउँपालिकाका उपप्रमुख कृष्णकुमारी दवाडीले संविधानमा मौलिक हकको रुपमा आवासको हक रहेको र विपन्न तथा गरीब परिवारको घर बलियो र भरपर्दो बनाउन स्थानीय सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

“संविधानमै आवासलाई नागरिकको मौलिक हकको रुपमा व्यवस्था गरिएको छ । आवश्यक कार्यविधि निर्माण गरेर वडाको कार्यक्रमलाई गाउँपालिकाबाट सहयोग उपलब्ध गराउँछौँ”, उहाँले भन्नुभयो । वडा कार्यालयले प्राथमिकताको आधारमा घरको छाना हाल्ने र पुनःनिर्माण गर्ने जनाएको छ । प्राथमिकताको आधारमा १८ मध्ये आधा जति परिवारलाई चालू वर्षमा बर्खा लाग्नुअघि नै व्यवस्थापन गरिने र बाँकीलाई अर्को वर्ष व्यस्थापन गर्ने गरी काम शुरु गरिने वडा कार्यालयले जनाएको छ । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !