२४ माघ, भद्रपुर । बेलायतस्थित गोर्खा मेमोरियल फण्डले झापाको मेचीनगर नगरपालिकालाई रु १५ लाख बराबरको अग्नि नियन्त्रणका सामग्री प्रदान गरेको छ ।
फण्डका संस्थापक अध्यक्ष धनकिरण गुरुङले बुधबार नगरपालिकाका प्रमुख विमल आचार्यलाई जेनेरेटर, ह्युमपाइप, हेल्मेटलगायत सामग्री प्रदान गर्नुभएको हो ।
गुरुङसहित बेलायतका अग्निनियन्त्रक विशेषज्ञ जोन मोनाहाङ, रेभ पासमोर र ट्रेभ स्ट्रिटसमेत नेपाल आउनुभएको थियो । उहाँहरुले तीनसम्म मेचीनगर, विर्तामोड, दमक, भद्रपुर नगरपालिका र गौरीगञ्ज गाउँपालिकामा कार्यरत अग्निनियन्त्रयक तथा नगर प्रहरीलाई विपत् व्यवस्थापनसम्बन्धी तालीम प्रदान गर्नुहुने नगरपालिकाका प्रेस संयोजक लक्ष्मी उप्रेतीले बताउनुभयो ।
मेचीनगर–६ काँकडभिट्टा निवासी गुरुङ बेलायत फोक्सटन क्षेत्रका नेपालीमूलको पहिलो पूर्वकाउन्सिरसमेत हुनुहुन्छ । यसअघि गुरुङको सक्रियतामै भारतीय राजदूतावासमार्फत एउटा एम्बुलेन्स मेचीनगर नगरपालिकालाई उपलब्ध गराइएको थियो ।
उद्योग बन्द गर्न माग
झापाको दुहागढीमा सञ्चालित बिबिसी इँटा उद्योगको प्रदुषणका कारण जनजीवन कष्टकर बनेपछि उद्योग बन्द गर्न माग गर्दै स्थानीयवासीले वडा कार्यालयमा ज्ञापनपत्र बुझाएका छन् ।
बुधबार मेचीनगर–१४ को वडा कार्यालयमा उद्योगबाट निस्कने धुलो र धुँवाले स्वास्थ्यमा असर पार्नाका साथै उद्योग वरपरका जग्गामा कृषकले लगाएका बालीनालीमा समेत क्षति पुगेकाले स्थानीयवासीले उद्योग बन्द गर्न माग गर्दै ज्ञापनपत्र बुझाएका हुन् ।
विगत १२ वर्षदेखि सञ्चालित सो उद्योगले स्थापना हुँदा स्थानीयवासी र तत्कालीन गाउँ विकास समितिसँग गरेका कुनै पनि सम्झौता पालना नगरेको स्थानीयवासी विश्व थापाले बताउनुभयो । सम्झौताको पहिलो बुँदामा स्थानीयवासीले प्रदुषण बढेको ठहर गरेमा जुनसुकै बेला उद्योग बन्द गर्नुपर्ने लेखिएको हुँदा सो उद्योग बन्द गर्नुको विकल्प नरहेको सङ्घर्ष समितिका गोपीराज मैनालीले बताउनुभयो ।
वडा कार्यालयमा सङ्घर्ष समितिको अगुवाईमा १५० भन्दा बढी पीडितले हस्ताक्षर गरी उद्योग बन्द गराउन ज्ञापनपत्र बुझाएका छन् । ज्ञापनपत्र बुझ्दै वडाध्यक्ष शङ्करप्रसाद पोखरेलले वडावासीको समस्या समाधान गर्नेतर्फ तत्काल पहल गर्ने बताउनुभयो । (रासस)