७ मंसिर २०८१, शुक्रबार

शल्यक्रियासम्बन्धी सम्झौता


Nepalpatra

२२ माघ, तुलसीपुर । मोतियाविन्दुरहित उपमहानगरपालिका बनाउने अभियान यहाँ पहिलोपटक शुरु भएको छ । यसका लागि आँखा जाँच र आँखा शिविर सञ्चालन गर्न यहाँको आँखा अस्पताल र तुलसीपुर उपमहानगरपालिकाबीच सोमबार सम्झौता भएको छ ।

जिल्लामा रहेका १० स्थानीय तहमा देखिएको दृष्टिविहीनताको समस्यालाई हटाउन स्थानीय सरकारलाई सहयोग पु¥याउने उद्देश्यले नेपाल नेत्रज्योति सङ्घ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्जअन्तर्गत सञ्चालित राप्ती आँखा अस्पतालले ‘मोतियाविन्दुको निःशुल्क शल्यक्रिया तथा उपचार सेवा कार्यक्रम’ सञ्चालन गर्ने सम्बन्धी सम्झौता गरेको हो । सङ्घका अध्यक्ष कृष्णकुमार गिरी र नगरप्रमुख घनश्याम पाण्डेबीच सो सम्बन्धी सम्झौता भएको स्वास्थ्य महाशाखाका प्रमुख डा गोकर्ण दहालले जानकारी दिनुभयो ।

आर्थिक वर्ष २०७५/७६ बाट सञ्चालन हुने कार्यक्रमअन्तर्गत आगामी पाँच वर्षभित्र १९ वटै वडामा आँखा जाँच गरी उक्त रोगका बिरामीको शल्यक्रिया गर्ने सहमति भएको नगरप्रमुख पाण्डेले जानकारी दिनुभयो । सो कार्यक्रम सञ्चालन गर्न उपमहानगरपालिकाले यस आर्थिक वर्षमा रु १५ लाख बजेट छुट्याएको छ । मोतियाविन्दुलाई स्थानीय सरकारको सहयोगविना हटाउन र दृष्टिविहीनताको व्यापकतालाई न्यूनीकरण गर्न सम्भव नभएकाले साझेदारी कार्यक्रम सञ्चालन गरेको सङ्घका सभापति गिरीले बताउनुभयो । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !