८ मंसिर २०८१, शनिबार

चार दिनदेखि अवरुद्ध सडक सञ्चालन


Nepalpatra

२२ माघ, कञ्चनपुर । स्तरोन्नतिको माग राख्दै कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१ बन्साहाका बासिन्दाले चार दिनदेखि अवरुद्ध गरेको कलुवापुर–बेलौरी सडक सोमबारदेखि सञ्चालनमा आएको छ ।

सुदूरपश्चिम प्रदेशसभा सदस्य लालबहादुर खड्का, वडाध्यक्ष, सडक निर्माण ठेकेदार कम्पनीका प्रतिनिधिलगायतको रोहवरमा सडक कालोपत्र तत्काल शुरु गर्ने सहमतिपछि आन्दोलित बासिन्दाले सडक सञ्चालन गर्न सहमत भएका हुन् ।

सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका इञ्जिनीयर धीरेन्द्र भट्टले भर्खरै मात्र सडक डिभिजन कार्यालयबाट सडक हेर्ने जिम्मा प्रदेश सरकारमा आएको र सो सम्बन्धी फाइल आउन ढिला हँुदा कालोपत्रको कार्य ढिलो भएको बताउनुभयो । सन्तोषी–थेगिम जेभी ठेकेदार कम्पनीका प्रतिनिधि दीपक जोशीले सोमबारदेखि सडक निर्माणको काम अगाडि बढाउने बताउनुभयो ।

प्रदेशसभा सदस्य खड्काले गत असोजदेखि सडक स्तरोन्नतिका काम अगाडि बढाउन ठेकेदार कम्पनीसँग सहमति भए पनि सडक डिभिजन कार्यालय केन्द्र सरकारले प्रदेश सरकार जिम्मा दिएपछि फाइल मिलान, हिसाब हेर्न र ‘स्टिमेट’ हेर्न समय लागेका कारण ढिलाइ हुन गएको बताउनुभयो ।

ठेकेदार कम्पनीले सडक निर्माणमा ढिलाइ गरेकै कारण ठेकेदार कम्पनीले पाउनुपर्ने रु एक करोड रोकेका छौँ, उहाँले भन्नुभयो, “सडक निर्माणका लागि गिट्टी तयार गर्न लगाइसकेका छौँ । कागजी प्रक्रिया मिलाउँदै गरौँला, काम शुरु गर्न भनेका छौँ ।”पहिलो चरणमा कलुवापुरदेखि स्याली नदीसम्म र दोस्रो चरणमा स्याली नदीदेखि बेलौरीसम्म सडक निर्माण गरिने उहाँले जानकारी दिनुभयो ।

वर्षौँदेखि सडक स्तरोन्नतिको माग गर्दै आएका बासिन्दाले सडक निर्माणकार्य एक वर्षदेखि अलपत्र परेपछि आन्दोलन थालेका हुन् । प्रदेशसभा सदस्य खड्काको पहलमा सडक निर्माणका लागि आन्दोलनमा उत्रिएका बासिन्दाका प्रतिनिधिसहित मुख्यमन्त्रीलाई भेटेपछि सडक स्तरोन्नतिको कार्य अगाडि बढ्ने भएको हो । ठेकेदार कम्पनी सन्तोषी–थेगिम जेभीले विसं २०७३ भदौमा २३ किलोमिटर कलुवापुर–बेलौरी सडक कालोपत्र गर्ने जिम्मा लिएको थियो । सम्झौताअनुसार सन्तोषी–थेगिम जेभीले २०७५ भदौ १५ गतेभित्र निर्माणकार्य सक्नुपर्ने थियो । रु १८ करोड २० लाखमा निर्माण सम्झौता भएकामा अहिलेसम्म निर्माण कम्पनीले रु चार करोड ४४ लाख भुक्तानी लिइसकेको छ । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !