१२ असार २०८१, बुधबार

सामूहिक नमूना बस्ती निर्माण


Nepalpatra

२० माघ, धम्बोझी ।खोला र नदी किनारमा छाप्रो बनाएर बसेर माछा मार्दै गुजारा गर्ने बर्दियाको गुलरिया नगरपालिका– १० मा मल्लाहा जातिका लागि सामूहिक नमूना बस्ती निर्माण गरिएको छ ।
कारितास नेपालले नगरपालिकासँगको सहकार्यमा बाढी र भूकम्पप्रतिरोधी १०३ नयाँ घर निर्माण गरेको हो । चार वटा कोठासहित बनाइएका घरमा दुईसुत्ने कोठा, भान्सा र शौचालय छन् । बाढीबाट हुने जोखिम कम गर्न न्यून लागतमा घरको निर्माण गरिएको कारितासका क्षेत्रीय प्रमुख जनक शर्माले बताउनुभयो ।

सो नमूना बस्तीमा पानी, बिजुली बत्ती र सडकसहित सुविधाका लागि गुलरिया नगरपालिकाले प्रबन्ध मिलाउँदैछ । एकै नाशका उक्त घरहरु प्रति घर रु तीन लाखको लागतमा निर्माण गरिएका छन् । बर्सेनी बबई नदीमा आउने बाढीले समस्यामा पर्ने मल्लाहा जातिका अधिकाङ्श परिवार नयाँ घरमा सरिसकेका छन् । कारितासले चाँडै उक्त घरहरु हस्तान्तरणको तयारी गरेको छ ।

घरविहीन मल्लाहा जातिका परिवार बलियो छतमुनि बस्न पाउने भएकामा खुसी बनेका वडा नं १० का अध्यक्ष वीरेन्द्र चौधरीले बताउनुुभयो । सो जातिलाई आत्मनिर्भर बनाउन नगरपालिकाले पहल गर्ने उहाँले जानकारी दिनुभयो । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !