६ जेष्ठ २०८१, आइतबार

नापी भएको जग्गाको लालपुर्जा नपाउँदा सुकुम्वासी चिन्तित


udayapur

१६ माघ, गाईघाट । उदयपुरको त्रियुगा नगरपालिका–१२ स्थित जनप्रमेमी टोलका ३२ घर सुकुम्वासीको जग्गा विसं २०२९ मा नापी भए पनि अहिलेसम्म सम्बन्धित व्यक्तिले लालपुर्जा पाउन नसक्दा चिन्तित बन्न थालेका छन् ।

सुकुम्वासी अरिमान मगर भन्नुहुन्छ, “विसं २०२९ मै पहिलो पटक पञ्चायत व्यवस्थामा आफूहरु बसेको जग्गा नापी भएको हो,त्यसबेलाको सरकारले लालपुर्जा दिने भन्दै टारेर आश देखाउँदै लामो समय कटायो ।”

विसं २०४६ पछि बहुदलीय व्यवस्था आएपछि पनि पुनः आफूहरु बसेको जग्गा पटक–पटक नापी भएको र आफूहरुले करसमेत तिर्दै आएको तर अहिलेसम्म लालपुर्जा पाउन नसकेको गुनासो अर्का भुटाई चौधरीको छ । विसं २०२९ देखि भोग गर्दै आएको जग्गा र करसमेत तिर्दै आएको जग्गाबाट बरु अहिले स्थानीय प्रशासनले पटक–पटक सूचना टास गर्दै हट्न निर्देशन दिने गरेको नहटे बल प्रयोग गर्ने चेतावनीसमेत दिने गरेका कारण आफूहरु चिन्तित हुनुपरेको अर्का दिलबहादुर बोट बताउँछन् ।

आफूहरुसँग पुरानो कर तिरेको रसिद सुरक्षित रहेका कारण पनि आफूहरुले भोग्दै आएको जग्गाको लालपुर्जा ३२ घर सुकुम्वासीले पाउनुपर्ने दाबी यहाँ बसोबास गर्दै आएकाहरुको छ । तर स्थानीय प्रशासन तथा मालपोतका पदाधिकारी यसमा आफूहरुभन्दा माथिल्लो निकायको निर्णय हुनुपर्ने त्यसपछि मात्र उक्त जग्गाको लालपुर्जा पाइने बताउँछन् ।

कित्ता नं ५२ मा बसोबास गरेकालाई विसं २०२९ मा सुकुम्वासीको कागजपत्र प्रदान गर्दै उक्त जग्गा तत्काल हकभोग गर्न पाउने तत्कालीन सरकारले अधिकार प्रदान गरेको दिलबहादुर बोट बताउँछन् । अहिले जनप्रेमी टोलमा ४६ वर्षदेखि बसोबास गर्दै आएका ३२ घर सुकुम्वासीले जग्गाको लालपुर्जा पाउन नसकेपछि अबको भविष्य के हुने हो भन्ने चिन्ताले रातदिन चिन्तित बन्दै जान थालेका छन् भने चाँडो राज्यले आफूहरुलाई लालपुर्जा प्रदान गरेर न्याय दिनुपर्ने मागसमेत गर्न थालेका छन् ।

त्रिवेणी धामको १५ दिने मेला सम्पन्न

उदयपुर जिल्लाको कटारी नगरपालिकास्थित कमला नदीको त्रिवेणी धाममा माघ १ गतेदेखि शुरु भएको १५ दिने त्रिवेणी मेला मङ्गलबार सम्पन्न भएको छ । १५ दिनभित्र त्रिवेणी धाममा झण्डै छ लाखभन्दा बढी भक्तजनले कमला नदीको त्रिवेणी धाममा मकर नुहाउने, पूजा तथा आरधाना गर्ने कार्य गरेको मेला व्यवस्थापन आयोजक मूल समितिका संयोजक तथा उदयपुर उद्योग वाणिज्य सङ्घ कटारीका अध्यक्ष पुष्कर खड्काले बताउनुभयो ।

उक्त मेलामा प्रदेश नं १, प्रदेश नं २ तथा ३ का भक्तजनको ठूलो सङ्ख्यामा उपस्थिति थियो । यस्तै भारतको बिहार, पश्चिम बङ्गालको दार्जिलिङ, कालिम्पोङ र सिक्किम राज्यबाट समेत ठूलो सङ्ख्यामा भक्तजन त्रिवेणीधाममा आएको संयोजक खड्काले बताउनुभयो । मेलामा रु ७० लाखभन्दा बढीको आर्थिक कारोवारसमेत भएको आयोजकको भनाइ छ । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !