९ असार २०८१, आइतबार

सहयोग जुटाउन महायज्ञ


Nepalpatra

१४ माघ, काठमाडौँ । शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जसँग जोडिएको धार्मिक, सांस्कृतिक र पर्यटकीय दृष्टिले महत्वपूर्ण प्राचीनकालका मन्दिरमा नित्य पूजा आरतीको व्यवस्थाका लागि अक्षय कोष स्थापना गर्न श्रीमद्भागवतको आयोजना गरिने भएको छ ।

गोकर्णेश्वर नगरपालिका– १ बाटुलेचौरस्थित रक्तकाली, सरस्वती र सीताराम मन्दिर एवं श्री रामजानकी आधारभूत विद्यालयको सहयोगार्थ माघ २३ गतेदेखि फागुन २ गतेसम्म महायज्ञ आयोजना गर्न लागिएको हो । प्राचीनकालकै मन्दिर भए पनि कहिले स्थापना भएको भन्ने विषयमा खोज अनुसन्धान भइरहेको प्रा डा ऋषिराम पोखरेलले बताउनुभयो ।

विसं २०४९ मा स्थापना भएको विद्यालय सञ्चालनका लागि यसअघि २०५१ सालमा समेत महायज्ञ आयोजना गरी सहयोग जुटाइएको थियो । कक्षा ८ सम्म अध्ययन अध्यापन हुने सामुदायिक रामजानकी विद्यालयमा हाल विपन्न वर्गका १५० विद्यार्थी अध्ययनरत छन् । विपन्नवर्गका विद्यार्थीलाई पठनपाठनमा सहयोग गर्न भौतिक पूर्वाधार र शिक्षण सामग्री जुटाउन महायज्ञबाट जम्मा भएको स्रोत परिचालन गरिनेछ ।

देश धर्मनिरपेक्ष घोषणा भएपछि प्राचीन मठमन्दिरमा नित्य पूजा आरती सञ्चालनका लागि सरकारबाट सहयोग नआउने भएपछि स्रोतको व्यवस्थाका लागि महायज्ञ आयोजना गरिएको श्रीमद्भागवत महायज्ञ आयोजक मूल समारोह समितिका अध्यक्ष दामोदर खनालले राससलाई जानकारी दिनुभयो । महायज्ञ गर्न आज गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसेले मञ्च बनाउने कामको शुभारम्भ गर्नुभयो । उहाँले स्कन्दपुराण, हिमवत्खण्डको नेपाल माहात्म्यमा महत्वका साथ चर्चा गरिएको श्वेतबराह, सुन्दरीमाई, शैलमतेश्वर, कागेश्वरी, रक्तकाली, गोकर्णेश्वर महादेव, साँखुस्थित माधवनारायण, बज्रयोगिनी, शालीनदीलगायत धार्मिकस्थललाई जोडेर धार्मिक परिपथ निर्माण गर्न लागिएको बताउनुभयो ।

राजधानीमै भएर पनि वर्षौंदेखि छाँयामा रहेका यहाँका सम्पदालाई प्रचारप्रसार गरी धार्मिक पर्यटन प्रवद्र्धनका लागि पूर्वाधार निर्माण गर्न लागिएको उहाँले सुनाउनुभयो । धार्मिक परिपथ निर्माणका लागि कागेश्वरी मनोहरा र शङ्खरापुर नगरपालिकासँग समेत सहकार्य गर्न लागिएको नगरपालिकाले जनाएको छ । कार्यक्रममा नगरपालिकाका प्रमुख सल्लाहकार एवं महायज्ञको आर्थिक समिति संयोजक दीपक रिसाललगायत जनप्रतिनिधिले सरकारले मात्रै सबै काम गर्न नसक्ने भएकाले नागरिकको सहयोगमा सहयोग जुटाइनुपर्नेमा जोड दिनुभयो ।

महायज्ञ सफल पार्न मूल समारोह समितिअन्तर्गत आर्थिक, लेखा, प्रचारप्रसार, मञ्च व्यवस्थापन, सामान खरीद व्यवस्थापन, पानी बिजुली व्यवस्थापन, भान्सा व्यवस्थापन, प्रसाद वितरण, भण्डार व्यवस्थापन, स्वागत सत्कार, पूजा सामान व्यवस्थापन, सरसफाइ, अनुगमन र स्वयंसेवक व्यवस्थापन समिति गठन गरी तयारी अन्तिम चरणमा पुगेको प्रचारप्रसार समितिका सचिव सुशील सिम्खडाले बताउनुभयो । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !