१३ आश्विन २०८१, आइतबार

गोदावरी सडकको प्रगति न्यून


Nepalpatra

८ माघ, काठमाडौँ । कर्मनासा खोलाबाट हरिसिद्धी हुँदै गोदावरी कुण्डसम्मको सडक निर्माण कार्य १० प्रतिशत मात्रै सकिएको छ । उक्त सडकको निर्माण सम्झौता अवधि नौ महीनामात्रै बाँकी छ ।

स्थानीयवासीले घरसँगै जग्गाको समेत मुआब्जा माग गरेर निर्माण कार्य अघि बढाउन नदिँदा भौतिक प्रगति कम भएको काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ ।

सडक मापदण्डभित्र पर्ने १२० घर सर्वाेच्च अदालतको निर्णयका कारण भत्काउन नसकिएको इञ्जिनीयर विश्वविजयलाल श्रेष्ठले जानकारी दिनुभयो । केही समय पहिले सर्वाेच्च अदालतले काठमाडौँ जिल्लामा निर्माणाधीन सडकमा जति स्थान खाली छ, त्यसमा मात्रै सडक विस्तार गर्न निर्णय गरेको थियो । उहाँले भन्नुभयो, “पहिले घरको मात्रै मुआब्जा माग गरेको स्थानीयवासी अहिले जग्गाको समेत मुआब्जा मागेकाले काम अवरुद्ध भएको छ ।”

सात दशमलव छ किलोमिटर लम्बाइको यो सडक निर्माणको ठेक्का सम्झौता विसं २०७३ असारमा भएको थियो । आशिष सिएम जेभी र लामा समानान्तर जेभी गरेर दुई ठेकेदार कम्पनीलाई दिएको ठेक्का अवधि आगामी वर्ष कात्तिकमा सकिँदैछ ।

यो सडकजस्तै उपत्यकाका १२ सडक निर्माणाधीन छन् । ती सबैमा जग्गा र घरको मुआब्जा विवादका कारण सम्झौता अवधि सकिँदा वा थोरै समय बाँकी हुँदा पनि भौतिक प्रगति कम छ । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !