८ असार २०८१, शनिबार

भालुले अन्नबाली खाइदिएपछि स्थानीय चिन्तित


Nepalpatra

१२ पुस, दमौली । तनहुँको भानु नगरपालिका–१३ स्थित सम्जुरमा भालुले विगत दुई सातादेखि खेतबारीमा लगाइएको अन्नबाली खाइदिएपछि स्थानीयवासी चिन्तित भएका छन् ।

रातको समयमा भालुले खेतबारीमा कोदो खाइदिने गरेको स्थानीय अगुवा रफिक मियाँले जानकारी दिनुभयो । आफूले लगाएको तीन मुरी कोदो भालुले खाइदिएको उहाँको गुनासो छ । उहाँले माउ र दुई वटा बच्चासहितको भालुले स्थानीयवासी हमेजदिन मियाँ, उजेली मियाँ, जमिर मियाँ, हाकिमदिन मियाँ, सौकत अली मियाँले लगाएको कोदो खाइदिएको बताउनुभयो । उहाँले भन्नुभयो, “पन्ध्र दिनदेखि माउसहितको भालुले यस ठाउँका कृषकलाई दुःख दिइरहेको छ ।”

भालु रातभर गाउँमा डुल्ने र घरको आँगनमा राखिएको फर्सी, भैंसी–बाख्रालाई खुवाउनका लागि राखिएको कुँडोसहितको पानीसमेत खाइदिने गरेको स्थानीयवासी जमिर मियाँले जानकारी दिनुभयो । “अलि पहिला त खेतबारीको अन्न मात्रै खाने गरेको थियो, अहिले त घरमै आएर समेत खानेकुराहरू खाइदिने गरेको छ,” उहाँले भन्नुभयो ।

उहाँका अनुसार भालुको आतङ्क बढेपछि सर्वसाधारण रात पर्ने बित्तिकै घरमै बस्ने गरेका छन् । उहाँले रातिको समयदेखि बिहान उज्यालो हुने बेलासम्म भालु गाउँघरमै डुल्ने गरेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “नगरपालिका–२, ३ र ४ मा चितुवाले दुःख दिइरहेको छ भने यस ठाउँमा भालुको आतङ्क बढेको छ ।”

यहाँका बाटोका केही ठाउँमा भालुबाट बच्नका लागि सडक बत्तीसमेत जडान गरिएको छ । उज्यालो भएको ठाउँमा भालु नआउने र अँध्यारो भएको ठाउँमा मात्रै भालु हिँड्डुल गर्ने गरेकाले घरछेउमा रहेका झाडी फँडानी गर्न लागिएको रफिक मियाँले जानकारी दिनुभयो । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !