२ कार्तिक २०८१, शुक्रबार

विषादीका कारण सात घार मौरी मर्यो


mauripalan

७ पुस, रत्ननगर, चितवन । विषादीका कारण राप्ती नगरपालिका–११ बरिनटारका मौरीपालक कृषक धर्मराज श्रेष्ठको सात घार मौरी मरेका छन् । अज्ञात समूहले घार नजिकै रासायनिक विषादी फालेकाले मौरी मरेको हो ।

मौरी नष्ट हुँदा रु एक लाख ४० हजार बराबरको क्षति भएको कृषक श्रेष्ठले जानकारी दिनुभयो । अज्ञात समूहले विषादी हालेका कारण काँड्ने बेला भएको मौरी नष्ट भएको राप्तीबाट वडा नं ४ का वडाध्यक्ष शमशेर लामाले बताउनुभयो । घटनामा संलग्न व्यक्तिको खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यालय भण्डाराका प्रमुख वसन्त आर्चायले जानकारी दिनुभयो ।

पुस २ गते राति घटना भएपछि घटनाको विषयमा बुझ्न सरोकारवाला पक्षले घटनास्थलको अनुगमन गरेका छन् । अनुगमनमा इलाका प्रहरी कार्यालय भण्डाराका प्रमुख वसन्त आचार्य, नेपाल मौरीपालक महासङ्घ प्रदेश समितिका अध्यक्ष धर्मराज लामालगायतको टोलीले अनुगमन गरेको वडाध्यक्ष लामाले जानकारी दिनुभयो ।

चितवनमा हाल ५० घारभन्दा बढी मौरी पाल्ने ३५० कृषक छन् । १० वटा मौरीपालक कृषक समूहसमेत रहेका छन् । यो घटना बाहिर आएसँगै मौरीपालक कृषक थप चिन्तित बनेको मौरीपालक कृषक शिवप्रसाद शर्माले जानकारी दिनुभयो । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !