६ पुस, काठमाडौँ । टोखा नगरपालिकाले महिला तथा बालबालिकामाथि हुने हिंसा न्यूनीकरण गर्न हरेक वडामा बाल क्लब स्थापना गरेको छ ।
चेतना अभिवृद्धि केन्द्र (क्याप) नेपालले आज यहाँ आयोजना गरेको ‘सत्कार तथा मनोरञ्जन क्षेत्रमा बालबालिकाको अवस्था’ विषयक अन्तक्र्रियामा टोखा नगरपालिकाका उपप्रमुख ज्ञानमाया डङ्गोलले नगरपालिकाले बालबालिकामाथि हुने हिंसा न्यूनीकरण गर्न बाल क्लब स्थापना गरेको जानकारी दिनुभयो । उहाँले महिला तथा बालबालिकामाथि हुने हिंसा स्वीकार्य नभएको बताउँदै महिला आयोगसँगको सहकार्यमा हिंसा रोकथाममा लागेको स्पष्ट पार्नुभयो । प्रहरी उपरीक्षक किरण राणाले प्रहरीले विगत २३ वर्षदेखि महिला तथा बालबालिकामाथि हुने हिंसा न्यूनीकरणको क्षेत्रमा काम गरिरहेको बताउनुभयो ।
महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रमुख फणीन्द्र प्रसाईंले मनोरञ्जन क्षेत्रमा बालबालिकाको प्रयोग बढी हुने गरेको भन्दै यसको रोकथामका लागि प्रहरीले काम गरिरहेको बताउनुभयो । “पीडित व्यक्ति अदालतमा गएर आफ्नो कुरा प्रष्ट राख्न नसक्दा यस्ता अपराध बढ्दै गएको छ”, उहाँले भन्नुभयो ।
महिला आयोगका प्रतिनिधि विमला खड्काले हिंसा घरबाटै शुरुआत हुने भन्दै यसको नियन्त्रणका लागि पनि घरबाटै अभियान चलाउनुपर्ने बताउनुभयो । क्याप नेपालले मनोरञ्जन क्षेत्रमा काम गर्ने १५ बालिकाको उद्धार गरी संरक्षण दिँदै आएको संस्थाका कार्यकारी निर्देशक भूपाल ढकालले जानकारी दिनुभयो । (रासस)