२१ असार २०८१, शुक्रबार

दिउँसै बत्ती बालेर पढाउनुपर्ने बाध्यताबाट छुटकारा पाउँदै


Nepalpatra

५ पुस, काभ्रेपलाञ्चोक । पनौती नगरपालिका–७ स्थित पनौती आधारभूत विद्यालयमा नयाँ भवन बन्ने भएपछि शिक्षक र विद्यार्थी दिउँसै बत्ती बालेर पठनपाठन गर्नुुपर्ने बाध्यताबाट छुटकारा पाउने भएका छन् ।

पाठशालाको नामबाट चर्चित उक्त विद्यालयको स्थापना १९७२ सालमा भएको थियो । शताब्दी पुरानो सो विद्यालयले आन्तरिक पर्यटकको समेत ध्यान आकर्षित गरेको छ । विद्यालय पनौती क्षेत्रको पुरानो गल्लीभित्र रहेको छ । यो ठाउँबाट प्रसिद्ध मकर मेला हेर्न जाने स्थल ब्रह्मायणी क्षेत्र नजिकै पवर्छ । यहाँ पुग्ने जोकोहीले पनि विद्यालयको अवलोकन गर्ने गरेका छन् । सो विद्यालयमा शिशु कक्षादेखि कक्षा ८ सम्म पठनपाठन गरिँदै आएको छ ।

नयाँ भवन निर्माणपछि पठनपाठनमा निकै सहजता आउने विद्यालयका प्रधानाध्यापक लक्ष्मीकृष्ण ताम्राकारले बताउनुभयो । उहाँले भन्नुभयो, “कक्षाकोठा निकै साँघुरा छन्, कष्टकररुपमा विद्यार्थीलाई पढाइरहेका छौँ ।” विद्यार्थी सङ्ख्या अत्यधिक भए पनि भौतिक पूर्वाधारको अभावमा २०४५ सालमा निर्मित पुरानै भवनमा पढाउन बाध्य भएको उहाँको भनाइ छ ।

नगरपालिकासँग समन्वय गरी भवन निर्माणका लागि बजेटको माग गरेको ताम्राकारले बताउनुभयो । पनौतीको इतिहास बोकेको सो विद्यालयलाई नमूना बनाउन पनौती नगरपालिकाले समेत सहयोग गर्ने नगर प्रमुख भीम न्यौपाने बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “विद्यालयलाई सहयोग गर्न नगरपालिका सधैँ तयार छ ।”

पिस इन्टरनेशल ट्राभल एण्ड टुर्सको रु तीन करोड तीस लाखको सहयोगमा उक्त विद्यालयको भवन निर्माण भइरहेको छ । मङ्सिर २८ गते सो भवनको शिलान्यास गरिएको हो । विद्यालयको जीर्ण पूर्वाधार देखेर सहयोग गरेको पिस इन्टरनेशनलका सर्वोत्तम श्रेष्ठले बताउनुभयो । “नगरपालिकालगायतको सहयोगले काम गर्न हौसला मिलेको छ” उहाँले भन्नुभयो । भवन निर्माण दुई वर्षभित्र सम्पन्न गरिने श्रेष्ठले बताउनुभयो ।

विद्यालयमा भौतिक पूर्वाधारको मात्र अभाव छैन, विद्यार्थीका लागि खेल्ने ठाउँको समेत अभाव छ । विद्यार्थी सडकमा खेल्न बाध्य छन् । हाल विद्यालयमा २४१ विद्यार्थी अध्ययनरत छन् । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !