४ पुस, मेलम्ची । मेलम्ची खानेपानी आयोजनाको ठेकेदार कम्पनी सिएमसीको साइट कार्यालयमा आज आयोजनाका कर्मचारीले धर्ना दिएका छन् ।
तलब भत्ता लगायतका पारिश्रमिक नदिई ठेकेदार कम्पनी सिएमसी भाग्न खोजेको भन्दै कर्मचारीले धर्ना शुरु गरेका हुन् । मेलम्ची खानेपानी विकास समितिका उपकार्यकारी निर्देशक भोजविक्रम थापाले कर्मचारीका मागका विषयमा छलफल गरी टुङ्गो लगाउने आश्वासन दिए पनि अहिलेसम्म कुनै प्रतिक्रिया नआएको कर्मचारीले गुनासो गरेका छन् । कर्मचारीका मागका विषयमा थप छलफल तथा सहमति नभएसम्म आन्दोलन जारी राख्ने कर्मचारीले बताएका छन् । (रासस)